टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आयरल्यान्डको ऐतिहासिक जित
काठमाडौँ । आयरल्यान्डले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक सफलता हात पारेको छ । आयरल्यान्डले आइतबार राति आबुधाबीमा खेलिएको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बलियो टेस्ट राष्ट्र दक्षिण अफ्रिकामाथि १० रनको रोमाञ्चक जित हासिल गर्यो ।
आयरल्यान्डले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकालाई हराएको यो पहिलो पटक हो । यसअघि दक्षिण अफ्रिकी टोलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आयरल्यान्डलाई लगातार ६ पटक हराएको थियो । आयरल्यान्डको जितसँगै दुई खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखला पनि १–१ को बराबरीमा सकिएको छ । पहिलो खेलमा दक्षिण अफ्रिका आठ विकेटले विजयी भएको थियो । अब यी दुई राष्ट्रबिच तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलिने छ ।
दोस्रो टी–२० अन्तर्राष्ट्रियमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्डले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ९५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको दक्षिण अफ्रिकाले भने निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ८५ रनमात्र बनाउन सक्यो ।
आयरल्यान्डको ऐतिहासिक जितमा ओपनर ब्याट्सम्यान रोस अडायरले सतकीय पाली खेले । उनले केवल ५८ बलको सामना गरी नौ छक्का र पाँच चौकाको मद्दतले एक सय रन बनाए । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो पहिलो सतक पनि हो ।
यसैगरी, अर्का ओपनर पल स्टर्लिङले पनि अर्धसतकीय योगदान गरे । टोलीका कप्तानसमेत रहेका स्टर्लिङले ३१ बलको सामना गरी एक छक्का र सात चौकाको मद्दतले ५२ रन बनाए । चौथो नम्बरका ब्याट्सम्यान जर्ज डकरेल पनि अविजित २० रन बनाएका थिए ।
जवाफी ब्याटिङमा ओर्लिएको दक्षिण अफ्रिकाका लागि ओपनर रिजा हेन्ड्रिक्स र तेस्रो नम्बरका ब्याट्सम्यान म्याथ्यू ब्रिजकेले अर्धसतीय पाली खेले पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । रिजाले ३२ बलमा एक छक्का र ६ चौकाको मद्दतले ५१ रन बनाएका थिए ।
म्याथ्यूले पनि ४१ बलको सामना गरी दुई छक्का र तीन चौकाको मद्दतले ५१ रन नै बनाए । अर्का ओपनर ब्याट्सम्यान रायन रिकेल्टनले पनि ३६ रन बनाएका थिए । दक्षिण अफ्रिकाका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
आयरल्यान्डका बलरहरुले पनि उत्कृष्ट प्रदर्शन गरे । मार्क अडायर एक्लैले चार विकेट लिए । उनले चार ओभरमा ३१ रन खर्चिएका थिए । अलराउन्ड प्रदर्शन गरेका उनी प्लेयर अफ दि म्याच पनि घोषित भएका थिए । प्लेयर अफ दि सिरिजको पुरस्कार पनि उनले नै पाए । ग्रह्याम ह्युमले पनि तीन विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण