स्कटल्याण्डले नेपाललाई दियो १५५ रनको लक्ष्य
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत डालासस्थित ग्राण्ड प्रेरी मैदानमा जारी खेलमा स्कटल्याण्डले नेपाललाई १५५ रनको लक्ष्य दिएको छ।
टस जितेर बलिङ रोजेको नेपालले उत्कृष्ट बलिङ गर्दै स्कटल्याण्डलाई १५४ रनमा रोकेको हो । स्कटल्याण्डले ४१.४ ओभरमा सबै विकेट गुमाएर १५४ रन बनायो । नेपालले जितका लागि अब ५० ओभरमा १५५ रन बनाउनुपर्नेछ ।
आजको खेलमा नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । नेपालबाट १० ओभर फुल कोटा बलिङ गर्ने एक्ला बलर सन्दीपले १ मेडन राख्दै ४५ रन खर्चे ।
यस्तै, करण केसी, सोमपाल कामी र गुल्सन झाले २-२ विकेट लिए । करणले ९ ओभरमा १ मेडन राख्दै २६ तथा गुल्सनले ९ ओभरमा ३३ रन खर्चिए । ८.४ ओभर बलिङ गरेका सोमपालले १ मेडन राख्दै ३२ रन खर्चिए । आरिफ शेखले ३ ओभरमा ९ रन खर्चेर १ विकेट लिए ।
स्कटल्याण्डका लागि आठौं नम्बरमा ब्याटिङ गरेका मार्क वाटले सर्वाधिक ३४ रन बनाए । ४० बल खेलेका उनले ३ छक्का प्रहार गरे । स्कटिङ इनिङ्समा छक्का प्रहार गर्ने उनी एक्ला खेलाडी थिए ।
कप्तान रिची बेरिङ्गटन र माइकल जोन्सले समान १९ रन जोडे । ब्राण्ड म्याकुमलेनले १६, म्याथ्यु क्रसले १५, आन्द्रे उमिद र माइकल लिस्क समान १४ रन बनाएर आउट भए ।
ब्राड ह्विल ९ रनमा आउट भए भने ओपनर चार्ली टियर र ज्याक जर्भिसले खाता खोल्न सकेनन् ।