आइतबार, २३ मङ्सिर २०८१
ताजा लोकप्रिय
प्रदेश

बहुदरमाई नगरपालिकामा बेथिति : नगरसभा भएको १२ दिनसम्म पनि मेयरले दिएनन् बजेट चलाउने अख्तियारी

सोमबार, १९ कात्तिक २०८१, १९ : ३५
सोमबार, १९ कात्तिक २०८१

वीरगन्ज । नयाँ आर्थिक वर्ष सुरु भएको साढे चार महिना बितिसक्दा पनि पर्साको बहुदरमाई नगरपालिकाले बजेट परिचालन गर्न सकेको छैन ।

नगरसभा भएको १२ दिन बितिसक्दा पनि मेयर सिंगासन साह तेलीले ‘रातोकिताब’मा हस्ताक्षर गरेका छैनन् । नगरसभाबाट पारित निर्णयमा मेयरले हस्ताक्षर नगर्दा पालिकाको सबै कामकाज ठप्प भएको वडाअध्यक्षहरू बताउँछन् । कर्मचारीहरूको तलब भत्तादेखि लिएर अन्य सेवा प्रवाहमा असर पुगेको वडाअध्यक्षहरूको गुनासो छ ।

चाडपर्वको बेलामा मेयर तेलीले बजेट पारित नगर्दा खासगरी शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मीहरूको तलबसहित छात्रवृत्ति तथा सुत्केरी भत्ता वितरण हुन नसकेको नगरपालिका प्रशासन शाखाले जनाएको छ ।

बहुदरमाई नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष रविन्द्र कुमार गुप्ताले बजेटको अख्तियारी प्रदान नहुँदा कार्यालय चलाउन कठिनाइ भइरहेको बताए ।

‘बल्लबल्ल नगर परिषद् भएको थियो, त्यसमा पनि अब अर्काे झमेला खडा भएको छ । रेडबुकमा मेयरसाहेबले हस्ताक्षर नै गरिरहनु भएको छैन । हस्ताक्षर नगर्दासम्म बजेट नै चलाउन पाइँदैन । खै किन हो ? यो बुझ्न सकिएको छैन ।’

जेसुकै लफडा भए पनि कम्तीमा कर्मचारीहरूलाई चाडपर्वको बेलामा तलब रोक्न नहुने उनको भनाइ छ । ‘यो गलत हो, पालिकालाई व्यक्तिगत लडाइँको थलो बनाउनु हुँदैन,’ उनले भने ।

सरकारी नीति अनुसार नगरसभा भइसकेपछि सरकारको सफ्टवेयरमा बजेट ‘इन्ट्री’ हुन्छ । त्यसबाट आउने  ‘रेडबुक’, अख्तियारी र कार्यक्रममा पालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर गर्नुपर्ने प्रावधान छ ।

यसरी दुवैको जनाको हस्ताक्षर भइसकेपछि कोष तथा लेखा नियन्त्रण कार्यालयले खाता सञ्चालनको लागि सिफारिस गर्छ । त्यसपछि आर्थिक कारोबारको थप प्रक्रिया अगाडि बढाइने प्रावधान छ ।

तर मेयर तेलीले यही प्रक्रियामा हस्ताक्षर नगर्दा आर्थिक कारोबार ठप्प भएको असन्तुष्ट वडा अध्यक्षहरू बताउँछन् ।

मेयर तेलीले यसबिचमा चाडपर्व बिदा लामो भएकाले हस्ताक्षर गर्न नसकिएको बताए । ‘परिषद् बैठक सम्पन्न भइसकेपछि बिदा सुरु भयो, अनि हस्ताक्षर गर्न सकिएन,’ उनले भने ।

बिदा सकिएर कार्यालय सञ्चालन भएपछि सबै निर्णय पढेर बाँकी प्रक्रिया अगाडि बढाउने मेयर तेलीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?