हवाई भाडामा ब्रह्मलुटले वैदेशिक रोजगारीमा जाने श्रमिक मर्कामा
काठमाडौँ । मेनपावर व्यवसायी हरि थापाले केही समय अगाडि काठमाडौँबाट साउदी अरेबियाका लागि प्रतिव्यक्ति ४० हजार रुपैयाँका दरले टिकट काटे । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि उनले ३० हजारदेखि बढीमा ४० हजार रूपैयाँमा हवाई टिकट पाउँदै आएको तर अहिले साउदीका लागि न्यूनतम एक लाख ६ हजार ३४८ रूपैयाँको टिकट उपलब्ध रहेको बताए ।
त्यस्तै अधिकतम ४० हजार रूपैयाँमा पाइने मलेसियाको हवाई टिकट अहिले न्यूनतम ७४ हजार रुपैयाँ छ । काठमाडौँबाट मलेसियाको राजधानी क्वालालम्पुरका लागि ७४ हजार ५४१ देखि एक लाख ८२ हजार २९५ रूपैयाँसम्मको टिकट उपलब्ध छ ।
काठमाडौँदेखि दुबईसम्मको हवाई भाडामा समेत तीन गुणा वृद्धि भएको छ । ३० देखि ४० हजार रुपैयाँ हाराहारीमा रहेको हवाई टिकटको हाल न्यूनतम भाडा एक लाख तीन हजार ८१८ देखि एक लाख २४ हजार रुपैयाँसम्म छ ।
त्यस्तै काठमाडौँबाट कतारको दोहासम्मको न्यूनतम हवाई भाडा एक लाख पाँच हजार रुपैयाँ छ । जापानका लागि एक लाख ५५ हजारदेखि २ लाख ५३ हजार रूपैयाँसम्म हवाई भाडा छ ।
ऋण निकालेर वैदेशिक रोजगारीमा जान खोजिरहेका श्रमिक हवाई भाडामा अस्वाभाविक वृद्धि हुँदा मर्कामा परेका हुन् । श्रमिक मर्कामा परेपछि मेनपावर व्यवसायीहरूले सरकारलाई गुहारेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई भेटेर यसबारे ध्यानाकर्षण गराएको थियो ।
हवाई कम्पनीहरूले चर्को भाडा वृद्धि गरेको भन्दै संघले मन्त्री भण्डारीलाई नियमनका लागि पहल गर्न अनुरोध गरेको हो । जवाफमा मन्त्री भण्डारीले नियामक निकाय आफू नभएकाले सम्बन्धित निकायसँग यसबारे पहल गर्ने बताए ।
संघका अध्यक्ष राजेन्द्र भण्डारीले अहिले हवाई भाडा अस्वाभाविक बढेको बताए । ‘३५ हजारदेखि ४० हजार रुपैयाँसम्म भाडा पर्ने गन्तव्यका लागि अहिले ७० हजारभन्दा कमको टिकट नै छैन । त्यहाँ जान सिटचाहिँ छ । तर, टिकट महँगो छ । हामीले यस विषयमा या त भाडा घटाउनुपर्यो या पोखरा वा भैरहवाबाट उडान हुने व्यवस्था मिलाइदिनु भनेका हौँ,’ उनले भने ।
श्रमिकहरूलाई सहज रूपमा वैदेशिक रोजगारीमा पठाउने भन्ने तर, हवाई टिकट नै चार गुणासम्म बढाएर श्रमिकका उल्टै मर्का पार्ने काम भइरहेको भण्डारीको भनाइ छ ।
नेपालबाट दैनिक एक हजार ५०० को हाराहारीमा नेपालीहरू वैदेशिक रोजगारीका लागि मलेसिया र खाडी लगायत विभिन्न मुलुक जाने गरेका छन् । अहिले एयरलायन्स कम्पनीहरूले चर्को भाडा असुल्दा उनीहरू समस्यामा परेका हुन् ।
न्यू ईरा मेनपावरका सञ्चालक मदन भण्डारीले एकातिर हवाई भाडा निकै महँगो बनाइएको र अर्कोतर्फ टिकटसमेत नपाउने समस्या देखिएको बताए । हवाई टिकटको कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गर्न खोजिएको उनको आरोप छ ।
व्यवसायीहरूले नेपालबाट हवाई भाडा बढेपछि दिल्लीमार्फत जाने प्रस्तावसमेत गरेका छन् । तर, यसमा सरकारले कुनै प्रतिक्रिया दिएको छैन ।
केही महँगो हुनु स्वाभाविक नै मानिए पनि यो कृत्रिम अभाव सिर्जना गरेर श्रमिकको ढाड सेक्ने काम भएको संघका अध्यक्ष भण्डारीको भनाइ छ । विदेश यात्रा गर्नेमध्ये ६० प्रतिशतभन्दा बढी श्रमिक नै रहेको बताउँदै उनले सरकारले हवाई भाडाबारे तत्काल नियमन गर्नुपर्ने बताए ।
न्यू ईरा मेनपावरका सञ्चालक मदन भण्डारीले एकातिर हवाई भाडा निकै महँगो बनाइएको र अर्कोतर्फ टिकटसमेत नपाउने समस्या देखिएको बताए । हवाई टिकटको कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गर्न खोजिएको उनको आरोप छ ।
भारतबाट टिकट काटेर पठाउन सकियो भने पनि धेरै हदसम्म श्रमिकलाई राहत मिल्ने सञ्चालक भण्डारीको भनाइ छ । त्यसका लागि दिल्लीस्थित नेपाली दूतावासले आवश्यक व्यवस्था मिलाइदिनुपर्ने उनले बताए ।
‘श्रम स्वीकृति लिएपछि जान त जताबाट गए पनि समस्या नहुनुपर्ने हो । श्रम स्वीकृति लिएपछि दिल्लीबाट जाने व्यवस्था मिलाइदियो भने श्रमिकले दुःख पाउने थिएनन् कि,’ सञ्चालक भण्डारीले भने ।
नेपाल एयरलायन्सलाई विभिन्न बहानामा बन्द गराएर कमिसनकै आधारमा हवाई भाडा बढाउने खेल भइरहेको उनको आरोप छ । ‘देशको ध्वजावाहक एयरलायन्स बन्द गराउने । अनि कमिसको खेलमा लागेर विदेशी एयरलायन्सलाई मनलाग्दी भाडा असुल्न दिने । कमिसनको खेलमा लागेर नेपाल एयरलायन्सलाई कहिल्यै राम्रोसँग चलाउँदैनन्,’ उनले भने ।
शुक्रबार (कात्तिक २३ गते)देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका लागि भनेर दैनिक १० घण्टा बन्द हुँदैछ । त्यसैको फाइदा उठाउँदै एयरलाइन्सहरूले भाडा बढाएको मेनपावर व्यवसायीको भनाइ छ ।
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष जनक रावलले हवाई भाडालाई ट्राभल एजेन्सी र एयरलाइन्सहरूको मिलोमतोमा कृत्रिम अभाव सिर्जना गरिएको बताए । हवाई टिकट शुल्कलाई चर्को रुपमा वृद्धि गराइ ८० हजार देखि १ लाखको हाराहारीमा पुर्याउँदा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरूलाई अधिक आर्थिक भार परेको उनको भनाइ छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले सस्तो टिकट सकिएपछि महँगो टिकटमात्रै देखिएको बताए । विमानस्थल बन्द भएपछि धेरै टिकट काटिएको र सस्तो टिकट सकिएपछि महँगोमात्रै बाँकी रहेको उनको भनाइ छ ।
वैदेशिक रोजगार ऐन–२०६४ को दफा २२ (१) अनुसार इजाजतपत्रवालाले वैदेशिक रोजगारको लागि कामदार पठाउँदा स्वदेशी विमानस्थल प्रयोग गरी पठाउनु पर्नेछ । स्वदेशी विमानस्थलबाट कामदार पठाउन हवाई जहाजको टिकट नभएको जस्ता कारण देखाइ विदेशी विमानस्थल प्रयोग गरी कामदार पठाउन परेमा विभागको स्वीकृति लिनुपर्ने व्यवस्था छ ।
हालसम्म व्यवसायीहरूले वैदेशिक रोजगारीमा कामदार पठाउँदा स्वदेशी विमानस्थल नै प्रयोग गर्दै आएका छन् । तर अस्वाभाविक रूपमा भएको भाडा वृद्धिका कारण विभागको स्वीकृति लिइ छिमेकी मुलुक भारतबाट पठाउनुपर्ने बाध्यता रहने मञ्चका अध्यक्ष रावलको भनाइ छ । जसले गर्दा राज्यले प्राप्त गर्ने राजस्वसमेत गुम्न सक्ने उनले बताए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले सस्तो टिकट सकिएपछि महँगो टिकटमात्रै देखिएको बताए । विमानस्थल बन्द भएपछि धेरै टिकट काटिएको र सस्तो टिकट सकिएपछि महँगोमात्रै बाँकी रहेको उनको भनाइ छ ।
‘३० हजारको भाडा ७० हजार पुग्नुको पछाडिको कारण लोवर फेयरको क्लास सकिएपछि अर्को क्लासको टिकट आउँदा बढेको हो,’ उनले भने । अन्तर्राष्ट्रिय एयरलायन्सहरूलाई हवाई भाडा घटाउनका लागि नियमन गर्न नसकिने उनको भनाइ छ ।
आन्तरिक वायु सेवा कम्पनीहरू कम हुँदासमेत अन्तर्राष्ट्रिय कम्पनीहरूलाई हस्तक्षेप गर्न नसकिने भुल बताउँछन् । ‘नेपाली वायुसेवा कम्पनीहरू धेरै भए सस्तो भाडामा उडाएर विदेशी एयरलाइन्सहरूलाई पनि सस्तोमा उडान बाध्य पार्न हुन्थ्यो । हाम्रोमा त्यस्तो छैन,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौसम हालचाल : कुनै विशेष प्रणाली सक्रीय नरहेपनि वर्षाको सम्भावना
-
आज विवाह पञ्चमी पर्व : श्रीरामचन्द्र र सीताको विवाह उत्सव मनाइँदै
-
विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर, युरो, दिराम र रियाल कसको मूल्य कति ?
-
बलियो बन्दै बर्नमथ, टोटह्यामलाई छैठौं ठक्कर
-
तपाईंको दिन शुभ अशुभ कस्तो छ ? हेरौं आजको राशिफल
-
वर्षा र हावाहुरीबिच भएको खेलमा फुलहमले ब्राइटनलाई हरायो