पेट्रोलियम डिपोको त्रासले घरमा आगो बाल्नै डराउँछन् चटकपुरका बासिन्दा
धनगढी । नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक डिपोले चटकपुर बजार क्षेत्रमा जोखिम बढेको छ । यस डिपो नजिकका घरहरूमा आगो बाल्न पनि डराउनु परेको स्थानीयहरूले गुनासो गरेका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरमा नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक कार्यालय छ । यसको भौतिक संरचनाले १ बिघा ८ कट्ठा क्षेत्रफल ओगटेको छ । कार्यालयको दायाँ पट्टी पेट्रोलियम पदार्थ भण्डारण गर्ने तीन वटा भर्टिकल र तीन वटा भूमिगत ट्याङ्की रहेका छन् ।
यो डिपो बाक्लो बस्तीको बीचमा छ । डिपोको अगाडिबाटै दैनिक सयौँ सवारी गुड्छन् । डिपो वरपर अस्पताल, विद्यालय, व्यापारिक कम्प्लेक्स र थुप्रै व्यावसायिक सटर छन् । डिपोभन्दा १० मिटर जतिको दूरीमा नै घरहरू छन् । ती घरमा बस्ने मानिस दिनरात त्रसित भएर बस्नु परेको स्थानीय माधवी ऐर र धर्मसिंह ऐर दम्पतीको गुनासो छ ।
पेट्रोलियम पदार्थ भण्डारण गरेको ठाउँमा जुनसुकै बेला पनि दुर्घटना हुने खतरा रहेकाले वर्षौँदेखि रातभरी सुत्न नपाएको माधवी गुनासो पोख्छिन् । ‘खतरा त निकै रहेको छ । हामीले वरपर घाँसघस्यौटा जलाउन पाएका छैनौँ । चाडपर्वमा बाहिर आगो, दियो, मैन बत्ती राम्ररी बाल्न पाएका छैनौँ,’ माधवी भन्छिन्, ‘कतै हावा लागेर सल्किहाल्छ कि भन्ने डर छ । हावाहुरी लाग्ने समयमा बढी डर लाग्छ ।’
निगमले बस्तीबाट डिपो अन्यत्र सार्नुपर्ने उनी बताउँछिन् । तर पटकपटक सार्न अनुरोध गर्दा पनि सुनुवाइ नभएको उनको गुनासो छ । ‘आयल निगमको हाकिमलाई सार्नुस् भन्दा तपाईंहरूले घडेरी किन किन्नु भयो ? नकिनेको भए हुन्थ्यो नि भने । सार्न मानेका छैनन्,’ उनी भन्छिन्, ‘यहाँ साह्रै डर छ, पोहोर नजिकै फर्निचरमा आगो लाग्दा धेरै डर लागेको थियो । धन्न केही भएन ।’
धर्मसिंह ऐर पनि पटक–पटक आवाज उठाउँदा समेत डिपो सार्न बेवास्ता गरिरहेको गुनासो पोख्छन् । ‘धेरैचोटी हटाउनुस् भनेर सरकारसँग कुरा राखी रहेका छौँ । दुई वर्षअघि सिडिओलाई भेटेर यो हटाउनुस् भनेर कुरा राखेका थियौँ । यसको लागि पहल गर्छौँ भनेका थिए । तर सुनुवाइ भएको छैन ।’
स्थानीय देवी न्यौपाने डिपो नजिकैका केही घरका मानिस त्रासले अन्यत्र डेरा लिएर बस्न थालेको बताउँछिन् । ‘यही डिपोका डरले केही घरका मानिसहरू अरू ठाउँमा गएर डेरा गरेर बसेका छन्,’ मायादेवी भन्छिन्, ‘छेउछाउका मानिसहरू पनि रातभरि राम्ररी निदाउन पाउँदैनन् । किनभने कतिबेला के हुन्छ डर छ ।’
ठुलो क्षति हुने त्रास
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपी हमाल मुख्य बजारमा रहेको डिपोले सुरक्षामा चुनौती थपेको बताउँछन् । ‘डिपो नजिकै अस्पताल र विद्यालय सञ्चालनमा छन्, कसैगरी ‘डिजास्टर’ भयो भने आसपास मात्रै नभई सिङ्गो नगर नै प्रभावित हुनसक्छ,’ प्रमुख हमाल भन्छन्, ‘लाखौँ लिटर इन्धन भण्डारण गरिएको छ । दुर्घटना भएमा ठुलो मानवीय र भौतिक क्षति हुने जोखिम छ । त्यसैले यसलाई एकान्त क्षेत्रमा सार्नुपर्छ ।’
हमालले डिपो सुरक्षित स्थानमा स्थानान्तरण गर्न निगमसँग आग्रह गरिएको बताए । ‘भोलि अप्ठ्यारो अवस्था नआओस् भनेरै हामीले बारम्बार डिपो सार्न ध्यानाकर्षण गराउँदै आएका हौँ,’ उनले भने ।
निगमका उपनिर्देशक प्रदीप यादव डिपो स्थानान्तरणको प्रयास भइरहेको बताउँछन् । ‘घना बस्तीको बीचमा डिपो परिसक्यो, त्यहाँबाट सार्नुको विकल्प छैन । हामी स्थानान्तरणमा विलम्ब गर्न नहुने पक्षमा छौँ,’ यादव भन्छन् ।
पुनर्वासमा सार्न स्थानीय सरकारको तगारो
चटकपुरका जनताले गुनासो गर्न थालेपछि धनगढी उपमहानगरका प्रमुखले मौखिक रूपमा डिपो सार्न आग्रह गरेका थिए । यसपछि निगमले डिपो अन्यत्र सार्ने प्रक्रिया थालेको छ । तर जग्गा प्राप्तिमा समस्या भएकाले डिपो सार्न ढिलाइ भएको निगम सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्राविधिक जगदिशप्रसाद जोशी बताउँछन् ।
‘बजार क्षेत्रमा जोखिम भएकाले अन्यत्र स्थानमा सार्नेबारे छलफल भइरहेको छ तर अहिले जग्गा प्राप्तिमा समस्या भएको छ,’ उनले भने ।
जोशीकाअनुसार निगमलाई पनि लोड अनलोड गर्न ठाउँको अभाव छ । अहिलेको संरचना भएको क्षेत्रमा ट्याङ्कर पार्किङको समस्या छ । साघुँरो ठाउँ भएका कारण पनि निगमले डिपो सार्न चासो देखाएको छ ।
नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय आवास कम्पनीले कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं ३ र ५ मा रहेको २२ बिघा जग्गा निगमलाई बिक्री गर्ने प्रस्ताव अघि बढाएको थियो । तर २०८१ वैशाख १० गते निगमलाई एक पत्रमार्फत पुुनर्वास नगरपालिकाले सो जग्गामा डिपो बनाउन नमिल्ने बताएपछि जग्गा खरिदबिक्री हुन सकेन ।
हाल धनगढीस्थित डिपो थोरै जग्गामा बनेको हुँदा अन्य संरचना निर्माण गर्न सम्भव नरहेको तथा दैनिक कार्य सञ्चालनसमेत विभिन्न कठिनाइ भोग्नु परेको प्राविधिक जोशीले बताए । अहिले डिपो रहेको जग्गा साँघुरो भएकाले भण्डारण क्षमता वृद्धि गर्न तथा ट्याङ्करमा लोड, अनलोड गर्न पनि समस्या भइरहेको उनी बताउँछन् ।
निगमले यसअघि समिति नै गठन गरी डिपो स्थानान्तरणका लागि जग्गा खोज्ने काम गरेको थियो । समितिले कैलालीकै टीकापुर र अत्तरिया तथा कञ्चनपुरको पुनर्वास क्षेत्रमा जग्गाको खोजी गरेको थियो ।
त्यसैगरी नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय आवास कम्पनीले कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं ३ र ५ मा रहेको २२ बिघा जग्गा निगमलाई बिक्री गर्ने प्रस्ताव अघि बढाएको थियो । तर २०८१ वैशाख १० गते निगमलाई एक पत्रमार्फत पुुनर्वास नगरपालिकाले सो जग्गामा डिपो बनाउन नमिल्ने बताएपछि जग्गा खरिदबिक्री हुन सकेन ।
पुनर्वास नगरपालिकाका प्रमुख तोयप्रसाद शर्माले उक्त जग्गा व्यापारिक प्रयोजनभन्दा सार्वजनिक हितका लागि दिन सकिने उल्लेख गरे । यस्तै सो जग्गा वरपर पनि बस्ती रहेको र कालान्तरसम्म समस्या पर्ने हुँदा त्यहाँ डिपो सार्न नहुनेबारे उल्लेख गरेका छन् ।
९० दिनको माग धान्ने भण्डारण गृह निर्माण गर्ने योजना
सरकारले हरेक प्रदेशमा कम्तीमा ९० दिनको माग धान्न सक्ने पेट्रोलियम भण्डारण गृह निर्माण गर्ने योजना बनाएको छ । भण्डारण क्षमता विस्तार गर्न पनि निगमले चटकपुरस्थित डिपो स्थानान्तरण गर्नुपर्ने बाध्यता छ ।
उक्त डिपोमा अहिले डिजेल भण्डारणका लागि ७६० किलोलिटरका दुई वटा भर्टिकल ट्याङकी, ७० किलोलिटरको भूमिगत ट्याङकी र पेट्रोल भण्डारणका लागि ७६० किलोलिटरको एक भर्टिकल ट्याङकी तथा ७० किलोलिटरको भूमिगत ट्याङ्कीसहितको संरचना छन् । जुन क्षमताले सुदूरपश्चिम प्रदेशको एक साताको मात्रै माग धान्छ ।
डिपोले सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरा जिल्लामा पेट्रोलियम पदार्थको आपूर्ति गरिरहेको छ ।
चटकपुर डिपोबाट अहिले दैनिक १०० किलोलिटर पेट्रोल, ३०० किलोलिटर डिजेल तथा न्यून मात्रामा मट्टितेल बिक्री हुँदै आएको छ । भारतको बन्थरास्थित इण्डियन आयल कर्पोरेसन (आईओसी) को डिपोबाट कैलालीको गौरीफन्टा नाका हुँदै उक्त डिपोमा पेट्रोलियम पदार्थ आयात गरिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘मूलधारका राजनीतिक दल र नेतृत्वप्रति जनताको भरोसा देखियो’
-
उपचुनावको लज्जास्पद नतिजापछि राप्रपामा हलचल, निशानामा लिङ्देन
-
ओलीको चीन भ्रमण उपलब्धिविहीन : प्रभु साह
-
राष्ट्रपतिसमक्ष राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेस
-
कहिले कांग्रेस, कहिले एमालेको साथले माओवादी टिकेको भन्ने प्रचार खारेज भएको छः वर्षमान
-
बङ्गलादेशमा हिन्दुहरूमाथि गरिएको अमानवीय व्यवहारबारे संयुक्त राष्ट्र सङ्घको ध्यानाकर्षण