मङ्गलबार, १८ मङ्सिर २०८१
ताजा लोकप्रिय
इङ्लिस प्रिमियर लिग फुटबल

सांगीतिक हस्ती एड शिरनको एकाग्रता र इप्सविच टाउनको ऐतिहासिक जित

सोमबार, २६ कात्तिक २०८१, १३ : २३
सोमबार, २६ कात्तिक २०८१

काठमाडौँ । सन् २००२ को अप्रिलमा इङ्लिस प्रिमियर लिगमा इप्सविच टाउनले मिडल्सब्रोलाई हराउँदा एड शीरन गितारका सिकारुमात्र थिए । उनी गितार कसरी बजाउने भनेर तारहरूमा यत्रतत्र आफ्नो औँला चलाइरहन्थे ।

यसबिचमा समयले कोल्टे फेरिसकेको छ । पक्कै पनि दुई दशक भनेको समयको निकै लामो कालखण्ड हो । अहिले एड शिरनले गितार बजाउँदा निस्कने धुनको सारा विश्व कायल छ । विश्व साङ्गीतिक क्षेत्रमा उनी धेरैको आँखाको तारा बनिसकेका छन् । उनी चर्चित गायक र रचनाकार पनि हुन् ।

यसको विपरीत, यो दुई दशकको अवधिमा एड शिरनको सहरको प्यारो फुटबल क्लब इप्सविच टाउन भने निरन्तर ओरालो यात्रा रह्यो । एक सय ४६ वर्ष लामो इतिहास बोकेको यो क्लबले कुनै समय इङ्ल्यान्डको घरेलु फुटबल मात्र नभई, युरोपियन फुटबलमा समेत सफलताको शिखर चुमेको थियो ।

_101635440_gettyimages-73310303

सन् १९६१–६२ सिजनमा प्रिमियर लिगको उपाधि चुमेको इप्सविच टाउनले सन् १९७८ मा एफए कप र सन् १९८१ मा यूईएफए कपको उपाधि समेत कुम्ल्याएको थियो । तर, विभिन्न कारणले बिस्तारै यो क्लबले आफ्नो साख गुमाउने क्रम सुरु भयो ।

कुनै समयको यूईएफए कप विजेता इप्सविच टाउन निरन्तर ओरालो लाग्दै घरेलु फुटबलको तेस्रो श्रेणीमा खुम्चन पुग्यो । तर, पछिल्लो समय इप्सविच टाउनले घरेलु फुटबलमा फेरि जुरमुराउन थालेको सङ्केत दिएको छ ।

पुरानो इतिहास ब्युँताउने योजनासहित इप्सविच टाउन अहिले प्रिमियर लिग पनि खेलिरहेको छ । आइतबार राति सम्पन्न प्रिमियर लिगअन्तर्गतको खेलमा इप्सविच टाउनले अप्रत्याशित नतिजा पनि निकाल्यो ।

2024-ipswich-towns-leif-davis-948080609

इप्सविच टाउनले आइतबार रातिको खेलमा निकै बलियो प्रतिद्वन्द्वी टोट्टनहामलाई २–१ गोलले पराजयको स्वाद चखायो । रमाइलो संयोग, २२ वर्षअघि इप्सविच टाउने मिडल्सब्रोलाई हराउँदा रङ्गशालामा उपस्थित रहेका एड शिरन आइतबार राति पनि आफ्नो प्यारो क्लबको जितको साक्षी बन्न रंगशाला पुगेका थिए ।

उमेरले ३३ वर्ष पुगिसकेका विश्व संगितका यी महारथीले आइतबार राति खेल अवधिभर इप्सविच टाउनका खेलाडीहरूको मनोबल बढाइ रहे । टोट्टनहामविरुद्ध इप्सविच टाउनलाई महत्त्वपूर्ण जित दिलाउन साम स्जमोडिक्स र लियाम डेलेपले एक–एक गोलको योगदान गरेका थिए ।

इप्सविच टाउनका लागि यो जित अर्को अर्थमा पनि महत्त्वपूर्ण थियो । खासमा इप्सविच टाउनले विगत २२ वर्षको अवधिमा इङ्लिस प्रिमियर लिगमा हात पारेको यो पहिलो जित थियो । हालसम्म ११ खेल खेलेको इप्सविच टाउन एक जित, पाँच बराबरी र पाँच हारबाट आठ अङ्क बटुल्दै तालिकाको १७औँ स्थानमा आसीन छ ।

टोट्टनहामविरुद्धको उक्त खेलमा इप्सविच र एड शिरनसँग अर्को रमाइलो संयोग पनि जोडिएको थियो । त्यो जितलाई अझ मिठासपूर्ण बनाउने अर्को रमाइलो कारण के थियो भने, इप्सविचका खेलाडीहरू पहिलो पटक एड शिरनको सहकार्यमा डिजाइन गरिएको  गुलाबी रङको जर्सी लगाएर मैदानमा ओर्लिएका थिए ।  

2024-ipswich-towns-sam-szmodics-948077995

त्यसैले इप्सविच टाउनले बलियो प्रतिद्वन्द्वी टोट्टनहामलाई हराएपछि एड शिरनको खुसी पनि छताछुल्ल भएर पोखियो । उनी लामो समयसम्म इप्सविच टाउनका खेलाडी र प्रशिक्षक किरन म्याककेनासँगै जितको खुसी साटासाट गर्न तल्लीन भए । त्यसपछि उनले भने, ‘आज मेरो सपना साकार भएको छ । लामो समयदेखिको प्रतीक्षाको घडी पनि समाप्त भएको छ ।’

सहरका अन्य समर्थकजस्तै एड शिरन पनि इप्सविच टाउनको हरेक खेलमा खेलाडीको हौसला बढाउन रंगशाला धाउँथे । तर, हरेक पटक निराश हुँदै उनी रंगशालाबाट घर फर्कन्थे । उनलाई लागेको थियो, ‘अब सायदै इप्सविचले माथिल्लो डिभिजनको प्रिमियर लिग खेलेको देख्न पाइला !’

2b28f860-9f9a-11ef-9a77-d5b6f25f9883

यति हुँदा पनि आफ्नो प्यारो क्लबप्रतिको उनको भरोसा भने मरेको थिएन । त्यसैले चर्चित गायक, गीतकार अनि, कलाकारसमेत रहेका एड शिरन सन् २०२१ मा क्लबको जर्सीको मुख्य प्रयोजक बने । त्यसयता क्लब एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै माथिल्लो डिभिजनमा उक्लिएपछि एड शिरनले इप्सविच टाउनको केही सेयर पनि खरिद गरे ।

पछिल्लो समय क्लबको सुधारिएको प्रदर्शनबाट उनी उत्साही छन् । उनी इप्सविच टाउनलाई इतिहासको त्यही गौरवशाली क्षणमा फर्काउन चाहन्छन्, जतिबेला क्लबले यूईएफए कपको उपाधि चुमेर आफ्ना समर्थकहरूलाई दङ्ग पारेको थियो । आशा गरौँ, एड शिरनको यो सपना पक्कै एक दिन पुरा हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप