१२ बजे, १२ समाचार : 'भेडाझैँ भ्या-भ्या नगर्ने प्रचण्डको भनाइ' देखि 'डिभोर्स नक्कली नभएको धनराजको बयान' सम्म
पछिल्ला २४ घण्टामा विकसित मुख्य-मुख्य घटनाक्रमहरूको संगालो रातको १२ बजे रातोपाटी डटकमको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ प्रस्तुत गरेका छौँ :-
१. कुलमान कानूनकै पक्षमा
बुधबार नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गर्दै आफूले डेडिकेटेड र ट्रंकलाइनको महसुलबारे गरेका हरेक निर्णय कानुनसम्मत भएको बताए । विद्युत् प्राधिकरणले ऐन, नियम र कानुनअनुसार नै महसुल नतिर्ने उद्योगहरूमा लाइन काटेको घिसिङको भनाइ थियो ।
२. संयन्त्रमाथि प्रश्न
सरकार सञ्चालन गर्न सहजीकरण गर्न भन्दै सत्तारुढ दल कांग्रेस र एमालेले तिहारको छेको पारेर गठन गरेको दुई दलीय संयन्त्रको पहिलो बैठककै निर्णयमा प्रश्न उठेको छ । कात्तिक २१ गते बसेको संयन्त्रको पहिलो बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको संयोजन प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले गर्ने निर्णय गरेको थियो ।
३. बाढीले क्षति
असोजको दोस्रो साता परेको अविरल वर्षासँगै आएको बाढीले देशैभर ४३ राजमार्गको ८१९ स्थानमा सडक अवरुद्ध भएको थियो । जसमध्ये ३६६ स्थानमा अस्थायी रूपमा पुनः निर्माण गरेपछि दुवैतर्फी सञ्चालनमा आएको छ ।
४. लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्रमात्रै
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी अहिले सत्ता र सरकार दुवैतिर रहेको बताएका छन् । अध्यक्ष प्रचण्डले लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्रमात्रै हुन सक्ने पनि बताएका छन् । त्यसक्रमा प्रचण्डले भेडा र सिंहको कथा सुनाउँदै आफूहरू पनि केही समययता भेडासँग हिँडेकाले अलिअलि भ्या भ्या गर्न लागेको तर अव नगर्ने विचार रहेको बताए ।
५. चुरे उत्थानशील आयोजना
नेपालमा चुरे उत्थानशील आयोजना लागु भएको तीन वर्ष भएको छ । तर आर्थिक प्रगति भने जम्मा १८ प्रतिशतमात्रै छ । ११ जिल्लाका २६ वटा नदी तथा नदीका वरिपरिको क्षेत्र संरक्षणका लागि आयोजना लागु भएको हो । तर यो आयोजनाको कार्यान्वयन लक्ष्यअनुसार हुन सकेको छैन ।
६. धर्मशाला विवाद
काठमाडौँ जिल्ला अदालतले पशुपतिनाथ विकास कोषको गौशाला धर्मशाला विवादमा सुनाएको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । जिल्ला न्यायाधीश कलमप्रसाद पोखरेलले २०८१ असोज १६ गते सुनाएको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो । फैसलामा गौशाला धर्मशालामा मारवाडीहरूको कुनै पनि हक नभएको व्याख्या गरिएको छ ।
७. नेपाल विश्वकपमा
अप्ठ्यारो परिस्थितिबिच आफू अनुकूलको नतिजा निकाल्दै नेपाल आईसीसी यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ । नेपालले अब सन् २०२५ को जनवरीमा मलेसियामा आयोजना हुने यू–१९ महिला विश्वकप खेल्नेछ ।
८. सक्रिय राजनीति
पूर्वउपराष्ट्रपति एवं पूर्व जनमुक्ति सेनाका कमान्डर नन्दकिशोर पुन 'पासाङ' माओवादी केन्द्रमा फर्किन लागेका छन् । पासाङलाई पार्टीको पदाधिकारीमा महत्त्वपूर्ण जिम्मेवारी दिनेगरी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमति भएको स्रोतले बताएको छ । उनी २०७२ सालमा उपराष्ट्रपतिमा निर्वाचित भएपछि माओवादीबाट अलग भएका थिए । २०७९ को निर्वाचनपछि आफ्नो दोस्रो कार्यकाल सकिएसँगै उनी निष्क्रिय रहँदै आएका थिए ।
९. लामिछानेको बयान जारी
बुटवलको सुप्रिम सहकारीको रकम सङ्गठित रूपमा ठगी गरेको आरोप लागेका पूर्वगृहमन्त्री रवि लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले बुधबार दोस्रो दिन बयान लिएको छ । रविको बयान नसकिएकाले बिहीबार (भोलि) पनि जारी रहने जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।
१०. धनराजले भने- 'कानूनी डिभोर्स गरेको हुँ । किर्ते गरेको होइन ।'
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफ्नो प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा पत्नीसँगको डिभोर्सबारे पनि प्रष्टीकरण दिएका छन् । मितेरी सहकारी ठगीबारे उनको संलग्ता रहेको र सम्बन्ध विच्छेद नै किर्ते गरेको बारे प्रश्न उठिरहेको बारे उनले भनेका छन्,‘ मैले कानुनी रूपमा डिभोर्स पनि गरेको हुँ । किर्ते गरेको होइन ।’
११. ‘ग्रीन सिग्नल’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेको चार महिना पूरा हुँदैछ । तर ओली नेतृत्वको एमाले र सत्ता साझेदार अर्को मुख्य दल नेपाली कांग्रेसका नेता–कार्यकर्ता भने सरकारले प्रभावकारी काम गर्न नसकेको बताउँदै आएका छन् ।
१२. अर्याल भन्छन् : 'जिउँदो छँदासम्म सभापति लामिछाने नै हो'
कार्तिक २५ गते पोखरा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले आक्रामक अभिव्यक्ति दिए । अर्यालले सभापति लामिछाने जिउँदो छँदासम्म अर्को विकल्प सोच्न नसकिने प्रस्ट पारे । ‘म यही मञ्चबाट के भन्न चाहन्छु भने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने जिउँदो रहँदासम्म रवि लामिछाने नै हो,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
१२ बुँदे सहमति जस्तै शिक्षाको सुधारका लागि १२ बुँदे सहमति गर्नुपर्छ: सुमना श्रेष्ठ
-
इजरायल—प्यालेस्टाइन युद्धबारे सरकारले आफ्नो धारणा स्पष्ट पार्नुपर्छः भट्टराई
-
इजरायली जनतालाई माधव नेपालको आग्रहः देशको फास्सिट नीति अवलम्वन गर्ने शासकको पछि नलाग्नुस्
-
रवि माथिको प्रतिशोधपूर्ण व्यवहार तत्काल रोक्न सरकारलाई प्रचण्डको चेतावनी
-
नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो