शुक्रबार, २१ मङ्सिर २०८१
ताजा लोकप्रिय

सेन्ट जेभियर्स कलेजमा दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

बिहीबार, २९ कात्तिक २०८१, १७ : २९
बिहीबार, २९ कात्तिक २०८१

काठमाडौँ । जेजुइट संस्थाद्वारा सञ्चालित उच्च शिक्षा संस्था, सेन्ट जेभियर्स कलेजले दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन (आईसीएसएक्ससी–२०२४) को आयोजना गरेको छ । विज्ञान, नैतिकता र समसामयिक मुद्दाहरूमा केन्द्रित रहेर सम्मेलनको आयोजना गरेको हो ।

आज र भोलि गरेर दुई दिनसम्म चल्ने सम्मेलनमा विश्वभरका विद्वानहरू, अनुसन्धानकर्ताहरू, विकास कार्यकर्ताहरू र शिक्षाविद्हरूको सहभागिता रहेको छ । ‘नैतिक ज्ञान र बौद्धिकताको विकास: अन्तर विषय अभ्यास र अनुसन्धान’ विषयक सम्मेलनमार्फत विश्वव्यापी चुनौतीहरूको आलोचनात्मक संवाद गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ ।

सम्मेलनका प्रमुख अतिथि स्लोभाकियास्थित ट्रान्भा विश्वविद्यालयका प्रा.थलिक मिलोस लिचनर एस.जेले यस प्रयासले नैतिक सिद्धान्तको आलोचनात्मक वहस सृजना गर्न, पूर्वीय र पश्चिमा दृष्टिकोणको प्रवर्द्धन र विश्वव्यापी संवादका निम्ति माध्यम सिर्जना गरेको बताए ।

सम्मेलनका मूल वक्ता अमेरिकास्थित सान फ्रान्सिस्को विश्वविद्यालयका प्रा.डा.रिचर्ड काल्हानले सम्मेलनको महत्त्व संवादमा मात्र सीमित नहुने बताए । ज्ञान वा मान्यतालाई चुनौती दिएर होस् वा पठनपाठनबाट होस्, ज्ञानलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए ।

2

सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै कलेजका प्राचार्य फादर डा.अगस्टिन थोमस एस.जेले सम्मेलन शैक्षिक ज्ञान आदानप्रदानको मात्र नभई यसले सामाजिक, प्राविधिक, प्राकृतिक विज्ञान, र मानविकीलगायतका अभ्यासहरूमा नैतिक सुधार गर्न सक्ने र भविष्य निर्माणमा सहयोग पुग्ने अपेक्षा रहेको बताए । विश्वभर छरिएर रहेका विद्धानहरूलाई साझा मञ्च उपलब्ध गराएर आई.सि.एस.एक्स.सी– २०२४ एक अभियानको रूपमा अघि बढेको उनको भनाई छ ।

दुई दिने सो सम्मेलनमा रिचुमेकान विश्वविद्यालय जापानकी प्रा.डा.मिवा हिरोनो, सेन्ट जेभियर्स इन्स्टिच्युट अफ एजुकेसन, भारतका प्रा.डा.विनी सेवास्टियन, त्रिभुवन विश्वविद्यालय, नेपालका प्रा.डा.रामेश्वर अधिकारी, क्युसु युनिभर्सिटी, जापानका प्रा.डा.शास्वत श्रेष्ठमली र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा.मेघनाथ धिमालले आफ्नो प्रस्तुति दिदैँछन् ।

सम्मेलनको पूर्ण सत्रपछि विभिन्न तीन सभाकक्षमा नेपाल, अमेरिका, भारत, फिलिपिन्स, स्लोभाकिया, जापान तथा दक्षिण अफ्रिकाका ५० अनुसन्धान पत्र प्रस्तुत कार्यक्रम जारी छ । सन् २०२२ पछि कलेजले आयोजना गरेको यो दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप