धान फल्ने खेतमा लगाएको सुन्तलाबाट दश लाख आम्दानी
म्याग्दी । १३ वर्षअघि अंश वापत पाएको पाँच रोपनी धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोप्दा बेनी नगरपालिका–४ सुर्केमेलाका डिलबहादुर केसीलाई धेरैले गाली गरेका थिए । “बुवाले अंश दिएको १० रोपनी खेतमा सुन्तलाका बिरुवा लगाउँदा आफन्त र छिमेकीहरुले धान फल्ने खेतमा काडा रोपेर छोराछोरी भोकै पार्ने भईस भनेर गाली गरेका थिए,” ४४ वर्षीय केसीले भने– “त्यसबेला गाली गर्नेहरु अहिले मैले सुन्तला बेचेर आम्दानी गरेको देखेर दंग परेका छन् ।”
बीस रोपनी पाखोबारी र खेतमा चार सय ५० बोट सुन्तला लगाएका केसीले यसपाली रु. १० लाखको सुन्तला बिक्री भइसकेको र थप रु.चार लाखको सुन्तला बिक्री गर्न बाँकी रहेको बताए । हाल दुई ५० बोट सुन्तलाले उत्पादन दिने गरेको छ ।
पाँच वर्ष युएई र मलेसियामा काम गरेर फर्किएका केसीले सुन्तला खेतीका साथै केसी मौरीपालन स्रोत केन्द्र सञ्चालन गरेर वार्षिक दुई सय देखि तीन सय मौरी सहितको घार बिक्री गर्छन् । सुन्तला र मौरीको आम्दानीले बागलुङमा पक्की घर बनाएका केसीले दुई छोरीलाई उच्च शिक्षा पढाए । एक छोरा र छोरी निजी विद्यालयमा मावि तहको अध्ययन गर्दैछन् ।
“विदेशबाट फर्केपछि माछा, भैसी र बंगुर पाले,” उनले भने, “माछा र बंगुर मरेर ठूलो नोक्सान भयो । भैसीबाट आम्दानी राम्रै भएपनि धेरै दुःख र झञ्जट भयो । सुन्तला र मौरी ब्यवसायबाट सफलता मिल्यो ।” कुनै पनि काममा निरन्तरको प्रयासपछि सफलता प्राप्त हुने केसीको अनुभव छ ।
मौरी सहितको प्रतिघार मौरी रु.१० हजारका दरले बिक्री हुन्छ । म्याग्दीका साथै पर्वत, बागलुङ, कास्कीलगायत जिल्लाबाट मौरीको माग आउने गरेको छ । ब्यापारीले अग्रिम पैसा दिएर सुन्तला किनेर लैजाने गरेका छन् । सुन्तला खेती र मौरीपालनबाट केसीको जिवनशैलीमा परिवर्तन आएको छ । छोराछोरी र श्रीमतिले केसीलाई कृषि फार्ममा साथ दिएका छन् ।
किसान केसीको सिको गरेर सुर्केमेलाका १६ कृषकहरुले ब्यवसायिक सुन्तला खेती गरेका छन् । सुर्केमेलामा सुन्तला खेती गर्ने पहिलो कृषक केसी हुन् । चार सय बोट सुन्तला लगाएका सुर्केमेलाका धनराज पुनले अन्नबालीको तुलनामा धेरै गुणा बढी आम्दानी भएको बताए ।
वर्षमा आठ÷दश मुरी धान फल्ने खेतमा लगाएको सुन्तलामा रु। दश लाख भन्दा बढी कमाई हुने उनले बताए । सिञ्चाई सुविधा भएको सुर्केमेलाको भूगोल र हावापानी सुन्तला खेतीका लागि उपयुक्त मानिन्छ । रसिलो, स्वादिलो सुन्तला काठमाडौँ, पोखरा, बेनीका ब्यापारीले किनेर लैजान्छन् । सुर्केमेलाका कृषकलाई कृषि ज्ञान केन्द्र र बेनी नगरपालिकाको कार्यालयले सघाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण