आइतबार, २३ मङ्सिर २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

सहकारी ठगीको ‘इपिसेन्टर’ गण्डकी

नेताहरू नै जोडिएका छन् रकम हिनामिनामा
शुक्रबार, १४ मङ्सिर २०८१, ०९ : ५९
शुक्रबार, १४ मङ्सिर २०८१

पोखरा । यतिबेला सहकारी ठगीको मुद्दा जनचासोको विषय बनेको छ । दैनिक ज्याला–मजदुरी गर्नेहरूले महिनौँ–वर्षौं लगाएर गरेको बचत रकम डुबेको अवस्था छ । सहकारी ठगीको ‘इपिसेन्टर’ बनेको छ गण्डकी प्रदेश । यहाँका विभिन्न सहकारीको रकम हिनामिना भएको सम्बन्धमा प्रशस्त उजुरी परेका छन् भने राष्ट्रिय राजनीतिमा चर्चित रहेका पूर्वगृहमन्त्री रवि लामिछाने सहकारीको रकम हिनामिनाकै आरोपमा पक्राउ परेर अनुसन्धानका लागि हिरासतमा छन् ।

गण्डकीमा २०७९ वैशाखमा इमेज सहकारी, बागलुङको कार्यालयमा समस्या आएको हो । केही सातामै त्यो समस्या पोखरामा पनि देखियो । इमेज सहकारीले बागलुङ र पोखराबाट कारोबार गर्दै आएको थियो । सोही वर्ष असारमा सूर्यदर्शन सहकारीमा समस्या आयो । कात्तिकमा मित्रमिलन सहकारीमा त्यस्तै समस्या देखा पर्‍यो । सोही वर्षको पुसमा शिव शिखरमा समस्या आयो । चैतबाट बलिदानी सहकारीको कारोबार ठप्प भयो । प्राइम सहकारीमा पनि २०७९ पुसमै समस्या देखिएको थियो । मुख्य सहकारीहरूको रकम हिनामिना एकै वर्षभित्र भएको अनुसन्धानबाट देखिन्छ ।

पोखराको प्राइम सहकारी सबैभन्दा बढी रकम हिनामिना भएको संस्था हो । सञ्चालक समिति र व्यवस्थापक कर्मचारी मिलेर सहकारीको १ अर्ब ५४ करोड रुपैयाँ बचत हिनामिना भएको सहकारी रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेशको छानबिन रिपोर्टबाट देखिएको छ ।

उत्तिकै हिनामिना भएको अर्को सहकारी हो सूर्यदर्शन । पूर्वगृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछाने जोडिएको उक्त सहकारीबाट सञ्चालक जीवी राईको नेतृत्वमा १ अर्ब ३५ करोड रकम हिनामिना भएको छ ।

बागलुङको इमेज बचत तथा ऋण सहकारीको १ अर्ब ३३ करोड रुपैयाँ हिनामिना गरेर फरार रहेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पुर्पक्षका लागि बागलुङ जिल्ला कारागार चलान भएका छन् । सोही सहकारीको शाखा कार्यालय खोलेर पोखराबाट थप ६४ करोड रुपैयाँ हिनामिना भएको छ ।

म्याग्दीको बेनीमा प्रधान कार्यालय रहेको कुमारी बहुउद्देश्यीय सहकारीबाट १ अर्ब ४९ करोड रुपैयाँ हिनामिना भएको छानबिन समितिले प्रतिवेदन तयार पारेको छ । उक्त प्रतिवेदन कार्यान्वयनमा गइसकेको छैन ।

sahakari thagi

छानबिन समितिको प्रतिवेदन कार्यान्वयन प्रक्रियामा रहेको सहकारी रजिस्ट्रारको कार्यालय, गण्डकीले जनाएको छ । पोखरामै कार्यालय रहेको शिवशिखरबाट ५४ करोड ५३ लाख रुपैयाँ हिनामिना भएको छ भने पोखराको मित्रमिलन सहकारीबाट ३१ करोड ७८ लाख, बलिदानी सहकारीबाट १० करोड रुपैयाँ हिनामिना भएको पाइएको छ ।

यसैगरी विन्दावासिनी सहकारीबाट ७ करोड ६९ लाख हिनामिना गरिएको प्रतिवेदन तयार भएको छ । बचत रकम हिनामिना भएकामध्ये कतिपय सहकारीका सञ्चालक र कर्मचारी पक्राउ परेका छन् । अझै धेरै फरार छन् । फरार प्रतिवादी खोजी र पक्राउ परेका उपर अनुसन्धान जारी रहेको कास्की प्रहरी प्रमुख श्यामबाबु ओलियाले बताए ।

‘हाम्रो कार्यक्षेत्रका सहकारीका फरार अभियुक्त पक्राउ गर्न प्रहरी परिचालन भएका छन् । पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको छ,’ उनले भने ।

नवलपुरको छिपछिपे उपभोक्ता सहकारीको १६ करोड ५८ लाख हिनामिना भएको आरोपमा सांसद गीता बस्नेत पक्राउ परेकी छन् । हिनामिनामा संलग्न रही फरार अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

2087041900Kalika-Sahakari

लमजुङको कालिका सहकारीको ९ करोड ११ लाख, पर्वतको तपाईं हाम्रो बहुउद्देश्यीय सहकारीको २९ करोड ९८ लाख, ग्रामीण विकास सहकारीको ९ करोड, नागढुंगा सहकारीबाट ५ करोड ३८ लाख, स्याङ्जाको सूर्योदय सहकारीबाट ३ करोड ६६ लाख हिनामिना भएको रिपोर्ट सहकारी रजिस्ट्रारको कार्यालयमा छ ।

रजिस्ट्रार कार्यालयको कार्यक्षेत्रमा पर्ने गण्डकीमा ९ सय ४३ वटा सहकारी संस्था छन् । सबैभन्दा बढी कास्कीमा २२९ सहकारी छन् भने सबैभन्दा कम मनाङमा एउटा मात्रै सहकारी छ । तर ५ सय १५ वटा सहकारीमात्र सम्पर्कमा रहेका सहकारी रजिस्ट्रार भेषराज रिजालले जानकारी दिए ।

‘सहकारी दर्ता भएका छन् । कतिपय चलेकै छैनन् । आधाजसो सहकारी हाम्रो सम्पर्कमा पनि छैनन्,’ उनले भने, ‘धेरैजसो सहकारी कागजमा छ, फिल्डमा छैन । सम्पर्कमा भएकाहरूको निरन्तर रिपोर्ट माग्ने र कडाइ गर्ने काम गरेका छौँ ।’

यी सहकारीहरूमा १३ अर्ब ५० करोड सेयर पुँजी छ भने ६१ अर्ब १८ करोड रुपैयाँ बचत छ । उनीहरूले ६५ अर्ब ८३ करोड ऋण लगानी गरेका छन् । २ अर्ब ६७ करोड बाह्य ऋण छ भने जगेडा कोषमा ४ अर्ब ११ करोड रुपैयाँ राखिएको छ । यी सहकारीबाट सरकारले १२ करोड ६१ लाख रुपैयाँ आयकर प्राप्त गरेको छ । ४ हजार ६ सय ५६ पदाधिकारी, ३ हजार १ सय ६ जना कर्मचारी र ६ लाख ५३ हजार ६ सय ४० जना सेयर सदस्य सहकारीमा जोडिएका छन् ।

  • नियमन कसरी भइरहेको छ ?

गत आर्थिक वर्ष (२०८०/०८१) मा रजिस्ट्रारको कार्यालयले प्रदेशका १ सय ३ वटा सहकारीको अनुगमन गरेको थियो । १६ वटा सहकारीसँग स्पष्टीकरण सोधेकोमा ६ वटालाई जरिवाना नै गरिएको छ । ती सहकारीबाट १२ लाख रुपैयाँ जरिवाना सङ्कलन भएको कार्यालयले जनाएको छ ।

sahakari rajistrar ko karyala gandaki

सम्पर्कमा नरहेका ८२ वटा सहकारीको खोजी गरेर कार्यालयमा अध्यावधिक गराउने प्रक्रियामा रहेको कार्यालय प्रमुख रिजालले जानकारी दिए । वार्षिक रूपमा सङ्कटमा परेका सहकारीको छानबिन र प्रतिवेदन पनि बनाइएको उनले बताए ।

पुरानाको नियमनसँगै गत वर्ष २ वटा नयाँ सहकारी संस्था दर्ता भएका छन् । सहकारी मर्ज गर्ने र पालिकालाई हस्तान्तरण गर्ने काम पनि नियमित भइरहेको छ । रजिस्ट्रार कार्यालयमा दर्ता भएका बाहेक पालिकाहरूमा पनि सहकारी दर्ता गरिएका छन् । त्यसको विवरण रजिस्ट्रार कार्यालयमा नरहने रिजाले बताए । पोखरा महानगरपालिकामा मात्रै साढे ३ सय सहकारी छन् ।

  • २३ वर्षअघि पनि समस्या थियो सहकारीमा

यतिबेला सहकारीको रकम ठगीको विषय व्यापक बनेको छ । २०५८ सालतिर पनि यस्तै समस्या आएको थियो । केही व्यक्तिको बदमासीका कारण राम्रो गर्ने सहकारी पनि समस्यामा गए । किनभने त्यतिबेला थोरै सहकारी थिए ।

त्यतिबेला बैंक पनि साह्रै धेरै थिएनन् । तर त्यो समस्या लामो रहेन । अहिलेको समस्या जटिल खालको छ । सहकारी पनि थुप्रै छन् । जथाभाबी सङ्ख्या पुर्‍याएर सहकारी दर्ता गर्ने काममात्रै भइरहेको जानकारहरू बताउँछन् ।

‘जग्गा कारोबार बढेपछि महत्त्वाकाङ्क्षा पनि बढी भयो । स्वनियमनबाट चल्ने संस्था हो सहकारी । यस्तो बेला स्वनियम कसले मान्ने ?’ उनले भने, ‘अहिले जग्गाको कारोबार डुब्यो । सहकारी पनि डुबे ।’

पेसाको रूपमा सहकारी खोल्ने लहर चलेपछि समस्या आएको सहकारीका विज्ञ जानकार दीपकप्रकाश आचार्य बताउँछन् । सूर्यदर्शन सहकारीको छानबिन उनैले गरेका हुन् । धेरैले अनुत्पादक क्षेत्रमा सहकारीको नियम विपरीत लगानी गरेका कारण डुबेको उनको तर्क छ ।

‘जग्गा कारोबार बढेपछि महत्त्वाकाङ्क्षा पनि बढी भयो । स्वनियमनबाट चल्ने संस्था हो सहकारी । यस्तो बेला स्वनियम कसले मान्ने ?’ उनले भने, ‘अहिले जग्गाको कारोबार डुब्यो । सहकारी पनि डुबे ।’

कतिपय राम्रै संस्थालाई पनि लगानी उठेन भने अप्ठ्यारो पर्ने अवस्था बनेको आचार्यको भनाइ छ । ‘राज्यले पनि लोन उठाउन पहल नगर्ने, ऋणीले पनि तिर्न पर्दैन भन्ने भाष्य निर्माण भएको छ,’ उनले भने, ‘पोखरामा पनि धेरै संस्था जसोतसो चलेका छन् । निवेदन हालेर बचत फिर्ता हुँदैन भनेर धेरैले निवेदन दिएका छैनन् । निवेदन आयो भने धेरैको समस्या बाहिरिन्छ ।’

दुःखका बेला सहकारी सञ्चालकहरू कमाउने दाउमा लागेका आचार्य बताउँछन् । उनले भने, ‘दिनै नसक्ने नाफा सदस्यलाई दिने, पुँजीकोष भन्दा बढी लगानी गर्नु नै सहकारी डुब्ने प्रमुख कारण हो ।’

आचार्यका अनुसार सरकारीले धितोविना लगानी गरेका छन् । ५० लाख पनि लगानी गर्न नसक्ने सहकारीले ५ करोडभन्दा बढी लगानी गरेको पाइएको उनको भनाइ छ । ‘अनि कसरी ऋण फिर्ता हुन्छ ?’ उनले भने, ‘सहकारी राम्रोसँग चलाउन सबै सदस्य सचेत हुनुपर्छ । सदस्य शिक्षा कार्यक्रम सहकारीले चलाउनुपर्छ ।’

  • नेताहरूकै संलग्नतामा रकम हिनामिना

बेनीको कुमारी सहकारी संस्थाको बचत रकम हिनामिना गर्ने प्रमुख पात्र हुन्– जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख तथा एमाले नेता राजकुमार थापा ।

उनले सहकारीको रकम निकालेर ठाउँठाउँमा जग्गाजमिन जोड्ने र व्यवसायमा लगानी गरेको प्रारम्भिक छानबिन रिपोर्टले देखाएको छ । सूर्यदर्शन सहकारीको रकम हिनामिनामा पूर्वउपप्रधान तथा गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेकै संलग्नता देखाइएको छ । इमेज सहकारी ठगीमा ढोरपाटन नगरपालिकाका मेयर तथा एमाले नेता देवकुमार नेपालीको संलग्नता छ । उनी पक्राउ परेर पुर्पक्षमा गएका छन् ।

छिपछिपे सहकारी ठगीमा प्रतिनिधि सभा सांसद गीता बस्नेत पक्राउ परेकी छन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ हुन् । सूर्योदय सहकारी ठगीमा बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरको संलग्नता रहेको रिपोर्ट आएको छ । उनी हाल फरार छन् । उनी एमालेबाट पालिका अध्यक्ष निर्वाचित भएका थिए ।

लमजुङको कालिका सहकारीको रकम हिनामिना गर्ने कांग्रेस नेता मृगेन्द्र घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । पोखराको मित्रमिलन सहकारीको रकम हिनामिनामा कांग्रेस र एमालेका नेताहरू बढी संलग्न छन् । विवरणहरू हेर्दा अधिकांश सहकारी ठगी र रकम हिनामिना गर्नेमा राजनीतिक दलका नेताहरूको संलग्नता र मिलेमतो देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप

छुटाउनुभयो कि ?