आइतबार, २३ मङ्सिर २०८१
ताजा लोकप्रिय

वायुको गुणस्तर खस्किँदो, मास्क अनिवार्य लगाउन चिकित्सकको सुझाव

शुक्रबार, १४ मङ्सिर २०८१, ११ : २०
शुक्रबार, १४ मङ्सिर २०८१

काठमाडौँ । यतिबेला वायुको गुणस्तर खस्किएको छ । वायु प्रदूषणका दृष्टिले काठमाडौँ विश्वका १० शीर्ष प्रदूषित सहरको सूचीभित्र रहँदै आएको छ । काठमाडौँ लगायत विभिन्न सहरमा वायुको गुणस्तर खस्किँदो छ ।

वायुको गुणस्तर कमजोर भएको अवस्थामा मास्क अनिवार्य लगाउन चिकित्सकहरू सुझाव दिन्छन् । हिउँदयाम सुरु भएसँगै लामो समय पानी नपर्ने, ठोस तथा प्लास्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेष जलाउनु, उद्योग–कलकारखाना तथा भान्साहरूबाट निस्कने धुवाँ, सडक तथा निर्माण कार्यहरूबाट उड्ने धुवाँ–धुलोका कारणले वायुको गुणस्तर खस्किएको हो ।

वायुमा प्रदूषण बढेसँगै मानव स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै फिजिसियन डा. पुष्पमणि खराल यसबाट जोगिन अनिवार्य मास्क प्रयोग गर्नुपर्ने बताउँछन् । ‘वायु प्रदूषणबाट जोगिन मास्कको प्रयोग सबैभन्दा राम्रो उपाय हो,’ उनले भने, ‘वातावरण प्रदूषण बढेको छ, सबैले अनिवार्य मास्क लगाउनुपर्छ ।’

डा. खरालले वायु प्रदूषणबाट जोगिन कार्यालय, घर वरिपरि सफा राख्नुपर्ने बताए । उनले वातावरणीय प्रदूषणसँगै घरभित्रको प्रदूषण कम गर्न आगो, कोइलाको प्रयोग घटाउनुपर्नेमा जोड दिए ।

शुक्रबार काठमाडौँ विश्वकै प्रदूषित सहरकोे आठौँ स्थानमा पुगेको यूरोपेली प्रदूषण मापन संस्था वर्ल्ड एयर क्वालिटी इन्डेक्स (आईक्यूएयर)ले देखाएको छ ।dr. pushpamani khral

वायु प्रदूषण बढेसँगै वातावरण विभागले सावधानी अपनाउन आग्रह गरेको छ । विभागले ठोस तथा प्लास्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेषहरू नजलाउन, सवारीसाधनको नियमित मर्मत सम्भार गर्न, उद्योग, कलकारखाना तथा भान्साहरूमा स्वच्छ ऊर्जाको प्रयोग गर्न, सडक तथा निर्माण कार्यहरूबाट उड्ने धुवाँ धुलोको नियन्त्रण गरी सावधानी अपनाउन आग्रह गरेको हो ।

नेपालमा विशेषगरी मंसिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने गरेको पाइन्छ । विगत केही हप्तादेखि नेपालको तराई क्षेत्र लगायत काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको पाइएको विभागले उल्लेख गरेको छ ।

वायु प्रदूषणको मुख्य कारक उद्योग कलकारखाना र सवारी साधनबाट निष्कासन हुने धुवाँ, डढेलो, खुला रूपमा फोहोर तथा कृषिजन्य अवशेष जलाउने, घरबाट निस्कने धुवाँ, सडक तथा निर्माण कार्यहरूबाट उड्ने धुलो आदि रहेको विभागले उल्लेख गरेको छ ।

स्वास्थ्यका दृष्टिकोणले वायु गुणस्तर सूचकाङ्क ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ हुने विभागले जनाएको छ । यस्तै, सो सूचकाङ्क १५१–२०० पुगेमा अस्वस्थ, २०१–३०० निकै अस्वस्थ तथा ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको सङ्केत गर्दछ ।


आईक्युआईमार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा जाँचिन्छ । आईक्यूआईले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?