सेभ द चिल्ड्रेनले मनायो शताब्दी महोत्सव
काठमाडौँ । सेभ द चिल्ड्रेनले बालअधिकार प्रवर्धनसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय दस्तावेज जेनेभा घोषणापत्र जारी भएको १०० वर्ष पुगेको अवसरमा बालअधिकारको शताब्दी महोत्सव मनाएको छ । सेभ द चिल्ड्रेनका संस्थापक एग्लेन्टाइन जेबको नेतृत्वमा जारी भएको यो घोषणापत्रले विश्वभर नै बालअधिकार पैरवीका लागि ऐतिहासिक आधारशिला निर्माण गरेको थियो । बालअधिकारको क्षेत्रमा विश्वभर सेभ द चिल्ड्रेनले एक अग्रणी एवम् स्वतन्त्र संस्थाको रुपमा काम गर्दै आएको छ ।
नेपालमा सेभ द चिल्ड्रेनले बालअधिकार प्रवर्धनका लागि बालबालिकासँग चार दशक लामो यात्रा पूरा गरेको उपलक्ष्यमा एक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा सेभ द चिल्ड्रेन नेपाल र भुटानका राष्ट्रिय निर्देशक तारा क्षेत्रीले बालअधिकार सुनिश्चितताका लागि बालबालिका, समुदाय र नागरिक समाज संगठनहरुसँगको सहकार्य गर्दै आएको बताए ।
बालबालिकाहरुले जलवायु परिवर्तन सिर्जति विपद्हरुदेखि अनलाइन/अफलाइन जोखिमसम्मका चुनौतीहरूको सामना गरिरहेको अहिलेको समयमा बालबालिकाका अधिकारका लागि अझ बढी सहकार्य गर्न आवश्यक रहेको बताए । नेपालमा बालअधिकारलाई राष्ट्रको विकास र समृद्धिको आधार बनाउन संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारहरुसँग थप समन्वय र पहलका लागि आह्वान गरे ।
कार्यक्रममा ‘नेपालमा बालअधिकार अभियानः अवसर र भावी मार्गचित्र’ शीर्षकको अध्ययन प्रतिवेदन पनि सार्वजनिक गरिएको थियो । प्रतिवेदनले देशमा बालअधिकारको विकास क्रमलाई समीक्षा गर्दै आगामी प्राथमिकताहरू प्रस्तुत गरेको छ । उक्त दस्तावेजले बालबालिकामा रणनीतिक लगानी बढाउनुपर्ने र नेपालको बालअधिकार अभियानले हासिल गरेका उपलब्धिहरुलाई दिगो रुपमा कायम राख्न भावी पुस्ताका बाल अभियन्ताहरु तयार गर्नुपर्नेमा जोड दिएको छ ।
कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडीले बालबालिकालाई राष्ट्र निर्माणको प्रभावशाली साझेदारको रूपमा लिइनुपर्ने बताए । विशेष संरक्षण आवश्यकता भएका बालबालिकालाई प्राथमिकता दिँदै बालअधिकार प्रवर्धन गर्न र बालबालिकाको आवाजलाई नीति निर्माणको हरेक तहमा समेट्न सरकार प्रतिबद्ध रहेको बताए ।
युरोपेली संघका नेपालका लागि राजदूत भेरोनिक लोरेन्जोले बालअधिकार प्रवर्धनमा नागरिक समाजको महत्वपूर्ण भूमिका रहने बताए । बालबालिका परिवर्तनको प्रकृयाका महत्वपूर्ण र अभिन्न अंग भएकाले सशक्त नागरिक समाज बालबालिकाको हकहितको लागि अत्यन्त आवश्यक रहेको बताए ।
सेभ द चिल्ड्रेन, सरकार र अन्य साझेदारहरुसँग सहकार्य गर्दै बालबालिकाको अवस्थामा सुधार ल्याउँन यूरोपियन यूनियन प्रतिबद्ध रहेको उनको भनाइ थियो । बालअधिकारका लागि वृहत् साझेदारीको आवश्यकता औंल्याउँदै सबै क्षेत्रले बालअधिकारको विषयप्रति अपनत्व कायम गर्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा नेपालभरका बालबालिका र युवाको नेतृत्वमा सञ्चालन भएका जलवायु र लैंगिक न्याय जस्ता महत्वपूर्ण विषय केन्द्रित अभियानसम्बन्धी प्रस्तुतिहरु गरिएको थियो । विभिन्न नागरिक समाज संगठनहरुद्वारा बालअधिकार प्रवर्धनका लागि सञ्चालित आफ्ना कार्यहरु झल्काउने स्टलहरु समेत राखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमएस नेपाल विजेता घिमिरेले सुरु गरिन् घरेलु हिंसा विरुद्ध अभियान
-
दमस्कस सुरक्षित रहेको विपक्षी नेताको दाबी
-
ब्याट्सम्यानहरुको निराशाजनक प्रदर्शनपछि अस्ट्रेलियासँग १० विकेटले हार्यो भारत
-
काठमाडौँ महानगरभित्र सञ्चालनमा रहेका ८८ प्रतिशत मःम पसलमा सरसफाइ नगरेको फेला
-
रविलाई थप १३ दिन हिरासतमा राख्न प्रहरीले माग्यो अनुमति
-
तीन दिनमा पुष्पाले कमायो ५०० करोड