शनिबार, २२ मङ्सिर २०८१
ताजा लोकप्रिय
कथा

सेतेको संसार-२

शनिबार, १५ मङ्सिर २०८१, १४ : २८
शनिबार, १५ मङ्सिर २०८१

रात छिप्पिन लागेको थियो । विद्यार्थीका ढोकाका खापाको चरबाट सेतेले भित्र चियायो । घच्च लाग्दा ढोका बिस्तारै चल्यो । ढोका उघ्रिँदा सेतेको जिउ कोठाभित्र हुर्रियो र विद्यार्थीसँग ढेस्सिन पुग्यो । डरले उसका आँखा तिरिमिरी भए । विद्यार्थीले उसको कुममा हात राखेर सोध्यो, ‘के चाहियो, भाइ ?’ 

सेते वाल्ल पर्‍यो । 

‘बस,’ ओछ्यानका गोडामुनितिर इसारा गर्दै विद्यार्थीले भन्यो । 

सेतेको धक मत्थर भयो । 

‘बस,’ विद्यार्थीले कर लगायो, ‘बसे हुन्छ ।’ 

सेतेले भुइँसम्म लत्रेको सुकिलो तन्ना ट्वाल्ल परेर हेर्‍यो । 

‘गाह्रो मान्नुपर्दैन ।’

सतेले लुगा उल्टायो र ऊ खाटको छेउमा बस्योे । माथि कुलप्रसादले खोकेको सुनेर तल सेते झसङ्ग भयो ।

‘पढ्ने मन छ ?’ विद्यार्थीले सोध्यो ।

सेतेलाई विद्यार्थीले ठट्टा गरेजस्तो लाग्यो । 

लहरै तीनोटा ओछ्यानमा कान छोप्ने गरी गुम्लुङ्ग सिरक ओढेर बसेका तीन जना विद्यार्थीलाई सेतेले पालैपालो हेर्‍यो अनि आँखा निहुरायो । अलिबेर बसेपछि सेतेको सङ्कोच तैबिसेक घट्यो । विद्यार्थी आफ्नै पढाइका कुरामा लागे । कुराको छेउ टुप्पोको त उसले भेउ पाउन सकेन तर कुरा गराइको पारामा भने उमङ्गमय फुक्कापनको उसले छनक पायो । विद्यार्थीहरू घरी ख्यालठट्टा गर्थे, घरी गाउँथे र घरी कथा हाल्थे । विद्यार्थीका जीवनको त्यो चालभित्र कतै ठुलो आनन्दको मुहान् पो होला कि भनी उसले लख काट्यो । जीवनको त्यो मस्तीले उसको मनमा एक तमासको डाहा पैदा गर्‍यो र आफ्नो जीवनको अँध्यारो सम्झेर ऊ कहालियो । उसले तीनजना विद्यार्थीका आँखा–आँखामा आँखा दगुरायोे । अहो ! यी आखाँभित्र कुलप्रसादसँग लड्ने आँट छ । उसको मनमा आशाको झिल्को उठ्यो । त्यही आशाको अदृश्य धागोले खिचिएर नै त हो, ऊ त्यहाँ आएको । 

‘यो बत्ती केले बल्छ, सेते ?’ एउटा विद्यार्थीले सोध्यो । 

सेतेले अबोध आँखा बिजुलीको बल्बतिर उठायो । 

‘गरिबका रगत पसिनाले ।’ सेते अलमलिएको देखेर अर्को विद्यार्थीले जवाफ दियो । 

‘तिमी जस्ताको मिहिनेत र पसिना यहाँ बग्छ, तिम्रो बासमा त्यहाँ अँध्यारो छ ।’ तेस्रो विद्यार्थीले हातको पारले सेते सुत्ने टहरो देखायोे । 

‘कल्ले मिचिदिने हो मेरा गोडा ?’ थैलीको स्वर सेतेले सुन्यो ।  ‘तेरै पोइले मिचोस्,’ सेतेले मनमनै भन्यो । माथि ढ्याम्म झ्याल लाउँदै कुलप्रसादले भन्यो, ‘कचकच नगर्, राँण ।’ 

‘जिन्दगीको रस निचोरेर जसले उज्यालो बनाउँछ त्यसकै जिन्दगी अँध्यारोमा !’ पहिलो विद्यार्थीले भन्यो । 

‘सेते,’ माथिबाट थैलीको टिठलाग्दो स्वर आयो । सेते अत्तालियो । 

‘हँ ?’ बार्दलीमा निस्केर उसले भन्यो । 

‘माथि आइज, चिल्लो लाउन, छिटो ।’

सेते अटेर गर्दै चुपचाप उभियो । भर्‍याङबाट डङ्डङ् आवाज आयो । 

‘अझ आउँदैनस् ?’ थैलीले सेतेको कान समातेर तानी । बल गरेर हात फुस्काउँदा उसका कानका जरी फरक्कै बटारिए ।

‘विद्यार्थीसँग नारिएर बस्ने के तँ विद्यार्थी होस् ?’

‘मैले याँ बस्नुसम्म नि नहुने ?’

‘अझ मुखमुखै लाग्छस् ? विद्यार्थी पनि कस्ता ? नोकरलाई मनपेट दिनुहुन्छ यसरी ?

‘नोकर मान्छे होइन ?’ विद्यार्थी जङ्गियो ।

‘केको मान्छे ? नोकर नोकरै हो । अझ हिँड्दैनस् माथि ?’ थैलीले उसलाई घँचेट्दै भर्‍याङसम्म पुर्‍याई । सेते फटाफट भर्‍याङबाट तल ओल्र्यो । उसलाई लखेट्दै जाँदा थैली भर्‍याङको पुछारका तीन खुट्किला माथिबाट सोझै तल खन्मरिई । उसको मासुको थुप्रोजस्तो जिउ फ्यात्त भुइँमा पछारियो । रन्थनिदै ऊ उठी र सेतेलाई चिर्पटको झटारो हानी । झटारो सेतेको थाप्लोमा बज्रियो र ऊ ढल्यो । पीडाको रन्कोले लर्खराउँदै बाहिर निस्कन लाग्दा सेतेका पिँडुलामा फेरि अर्को चिर्पट बजियो । ऊ फेरि ढल्यो र यसपालि भने उठ्न सकेन । थैली बुदबुदाउँदै माथि उक्लिई । 

विद्यार्थीहरूले उसलाई बार्दलीबाट पछुतो मानेका आँखाले हेरे । मङ्गलेकी आमा गाईवस्तु बाँध्ने टहराको धराप लिस्नुबाट ओर्लिई । उसले सेतेलाई उठाई । उसले उसलाई हात समातेर टहरोमाथि लगेर सुताई, उसको अनुहार धोइदिई र पटुकाको एक छेउ च्यातेर उसको निधारमा पट्टी बाँधिदिई । 

‘हामी डेरा सरौँ ।’ सेतेले बार्दलीबाट आएको स्वर सुन्यो, ‘हामीले गर्दा व्यर्थैमा आज सेते कुटियो ।’

‘हामी याँ बसे पनि ऊ कुटिन्छ, नबसे पनि कुटिन्छ ।’ अर्को विद्यार्थीले भन्यो । 

‘जाओ,’ थैली तला माथिबाट गर्जिई, ‘अहिल्यै निस्केर जाओ ।’    

विद्यार्थीको कुरो सुन्दा सेतेलाई नमज्जा लाग्यो । उसले आँखा उघार्‍यो । मङ्गलेकी आमाका आँखामा आँसु रसाए । सेतेको मन पग्ल्यो र उसले मङ्गलेकी आमाका हाड–छाला मात्र भएको नाडी समात्योे । 

‘धन्न बाँचिस् तँ आज !’ मङ्गलेकी आमाले भनी, ‘चाँडै भाग् याँबाट । याँ तँलाई सिध्याउँछन् ।’

सेतेले निराश आँखाले मङ्गलेकी आमाका सातपत्र मुजा परेका गाला र ममतामय आँखा हेर्‍यो । सबैले उसलाई मङ्गलेकी आमा भन्थे । तर सेतेले मङ्गलेलाई कहिल्यै देखेन, मङ्गलेको बाबुलाई कहिल्यै देखेन । मङ्गलेकी आमा बीस वर्षदेखि कुलप्रसादका सहस्र अत्याचारका कथा हृदयमा बोकेर त्यो घरको सेपमुनि टाक्सिएकी थिई । सेतेले अबोध बालकले झैँ मङ्गलेकी आमाका छातीमा अनुहार टाँस्यो । उसलाई मुसार्दै मङ्गलेकी आमा सुँक्कसुँक्क रोई, ‘मेरो मङ्गले बाँचिराख्या भा’ आज तँभन्दा ठुलो भइसक्थ्यो ।’

००

सिरान तलाको बार्दलीमाथि बलेको नीलो बत्तीको प्रकाश आँगनभरि पोखिएको थियो । सेतेले फराकिलो आँगनका बिचमा उभिएर गर्धन तन्काउँदै मास्तिर हेर्‍यो । कुलप्रसाद र थैली झकाउँदै होलान्, माथि सुनसान छाएको देखेर उसले तर्कना गर्‍यो । अन्धकार रातको चकमन्न आँगनमा सेते सास दबाएर बिराले चालले हिँड्यो । तीन मान्छे अग्लो बार्दलीको तेर्छो काठबट झुन्ड्याइएको डोरी उसले समात्योे । उसले मुन्टो उठाएर माथि हेर्‍यो । माथि नीलो बत्ती देख्दा उसको मनमा त्रासको तरङ्ग दगुर्‍यो । थुकले हत्केला मल्दै उसले डोरी समात्योे र ऊ डोरीमा तुन्द्रङ्ग झुन्डियो । विद्यार्थी गुनगुनाएको सुनेर ऊ हौसियो । उसका सारा इच्छा एकै ठाउँमा थुप्रिएर उसको मनमा एउटा धोको जन्मेको थियो— मैले पढ्न सिक्नैपर्छ । विद्यार्थीहरूको जीवनमा उसले आशा देखेको थियो, उज्यालो देखेको थियो । विद्यार्थीका जीवनको त्यो मुहुनीमय आकर्षणले गाँजेर उसलाई हुनुसम्म एकोहोरो बनाएको थियो । 

सेतेलाई अचेल विद्यार्थीको कोठामा पस्न मनाही छ । थैलीको खटनमा बाहेक घरभित्र पस्न पनि त मनाही छ । 

सिरान तलाको कोठा घुरुक्क उघ्य्रो र कुलप्रसादको धोद्रे स्वरले वातावरणको चकमन्नता भङ्ग भयो— ‘सेते !’ 

सेतेले अबोध बालकले झैँ मङ्गलेकी आमाका छातीमा अनुहार टाँस्यो । उसलाई मुसार्दै मङ्गलेकी आमा सुँक्कसुँक्क रोई, ‘मेरो मङ्गले बाँचिराख्या भा’ आज तँभन्दा ठुलो भइसक्थ्यो ।’

त्यो स्वर सेतेका कानमा बज्रझैँ चड्क्योे । बाँदरझैँ ऊ डोरीमा लिपिक्क टाँस्सियो । आतेसले उसका पैताला डोरीमा चिप्लिए । डोरी हल्लियो र उसको सातो उड्लाजस्तो भयो । 

‘निदाइसकेछ चोर ।’ निरासिँदै कुलप्रसादले भन्यो । ख्वाक्क खोक्दै उसले खकार्‍यो । र, सेतेका आँखैमा खकारको लत्को फ्यात्त खस्यो । सेतेले मुन्टो निहुराउँदै आँखो नाडीमा दल्यो । खकार झन् आँखाभित्रै पस्यो । अनि चिप्लेर ऊ तल खस्यो । 

‘कल्ले मिचिदिने हो मेरा गोडा ?’ थैलीको स्वर सेतेले सुन्यो । 

‘तेरै पोइले मिचोस्,’ सेतेले मनमनै भन्यो । माथि ढ्याम्म झ्याल लाउँदै कुलप्रसादले भन्यो, ‘कचकच नगर्, राँण ।’ 

जीवनको उज्यालो खोज्न हुरुक्क भएको सेते फेरि डोरीबाट माथि चढ्न थाल्यो । 

‘दाइ !’ 

‘ए... सेते ! उसो भए पढ्न सिक्ने ? राम्रो !’ विद्यार्थीले हौसला दियो । ‘तर भोलि जाँच छ, भाइ । कसो गरौँ ? आज फुर्सद छैन ।’

सेतेका आँखाअगाडि अँध्याराका मुस्ला उठे । उसको मुटु निचोरियो । उसको त्यो अवस्था घाँटीसम्म पानीमा डुबेर तिर्खाले छटपटाइरहेकोे मानिसको जस्तो भयो । 

गाई–भैँसी बाँध्ने टहरोमाथि पुगेर सेतेले थोत्रो बोरा ओछ्यायोे, घोप्टो परेर सुत्दै कुइनो टेकाएर हत्केलामा च्युँडोे अड्यायो अनि तिर्खालु आँखा विद्यार्थीका कोठातिर एकोहोर्‍याउँदै सुस्केरा हाल्यो । उसलाई लाग्यो— स्वर्ग भनेको त्यै विद्यार्थीको डेरा हो, अनि नर्क भनेको चैँ त्यै गाई–भैँसी बाध्ने अँध्यारो टहरो हो । 

सेते छट्पटाउँदै घरी यो कोल्टो फक्र्यो, घरी ऊ कोल्टो फक्र्यो । हुँदाहुँदा उसको मन मात्र होइन जिउ पनि दुख्यो । रात छिप्पिएपछि सेते भाते निद्रामा झपक्क डुब्योे । सपनामा पनि सुकुमार अनुहार र मायालु वचन भएको सिकटे अग्लो विद्यार्थीले सेतेको कानैनेर मुख लगेर भन्यो, ‘जिन्दगीको रस निचोरेर जल्ले उज्यालो बनाउँछ त्यसकै जीवन किन यति अँध्यारो ?’ तर्सेर ब्युझिँदा पनि उसका कानमा त्यही वचन गुन्जिरहेको थियो, ‘सेते ! जीवन किन यति अँध्यारो ?’

००

 

‘सेते !’ कुलप्रसादको स्वर मस्त निद्रामा डुबेको सेतेको कानमा ठोक्कियो । उसले सेतेको टाउकोे हल्लायो र चिप्लो स्वरमा भन्यो, ‘बाबु, लौ उठ् ।’ 

आँखै नउघारी सेते उठेर बस्योे । 

‘हेर् छोरा !’ चेभ्य्राइँ पार्दै कुलप्रसादले भन्यो, ‘उठेर म बुढाले चिया पकाइसकेँ, तँ भने घुरिराख्याछस् । ला, यो खा । कहिले म मालिक, कहिले तँ । आज म तेरो नोकर । हा, हा, हा !’ कुलप्रसाद पहेँला दाँत देखाउँदै ङिच्च हाँस्योे । 

सेतेले उदेक मान्दै चियाको गिलास हेर्‍यो । कुलप्रसादले सेतेका आँखामा मिलिक्क लाइट बाल्यो र सेतेले झिम्झिम् आँखा झिम्क्यायो । 

‘कामको माचो छ बाबु आज ।’ सेतेले चियाको घुट्को निलेपछि कुलप्रसादले भन्यो, ‘उठ् र राँगा घँस्या । ट्रक सफा गर्नु छ । भैँसीको दुध सुक्न लाग्यो, घाँस–कुँडोमा विचार पुर्‍याउनुपर्छ बाबु तैँले ।’ 

सेते काममा लाग्यो ।

‘सेते,’ बिहान भात खाइसकेर आँगनमा घाम ताप्दै र दाँत कोट्याउँदै कुलप्रसादले डाक्योे, ‘याँँ आ, बा !’

भकारा सोहोर्न लागेको सेते हातै नधोई मालिकका अगाडि हाजिर भयो । 

‘आज तँलाई म संसार देखाउन लान्छु ।’ चिप्लो स्वरमा कुलप्रसादले भन्यो, ‘तँ मोरो कुवाकै भ्यागुत्तो भइस्, साहै्र नै कोचलगाँडो । ल, हातगोडा धो र मसँग हिँड् ।’

सेतेले झोला भिर्‍यो र कुलप्रसादले बाङ्गे लौरो टेक्यो । आज बिहानैदेखिको कुलप्रसादको व्यवहार देखेर सेतेलाई अचम्म लागेको थियो । 

‘हामी काँ जाने, बाजे ?’

‘जाऊला नि एक ठाउँ, गोरु ! हिँड्न खुरुखुरु ।’

पेहेँल्पुर धान पाकेको फराकिलो फाँटका बिचबाट नहरको डिलैडिल सेतेले लुरुलुरु कुलप्रसादलाई पछ्यायो । कुलप्रादले बेलाबेला उभिँदै चिलका जस्ता लालची आँखाले धानको सागर हेर्‍यो, धानका बाला हत्केलामा खेलाउँदै तौल्यो र भन्यो, ‘धान राम्रो छ, सह कत्तिको पर्ने हो कुन्नि ?’ 

वर्षौं पिन्जरामा थुनिएर खोरबाट फुक्का भएको सुगा कुँजिएका पखेटा फट्कार्न सिक्दै हर्कले मस्त भएझैँ सेते त्यो खुला, फराकिलो संसारमा धानको मगमग बासना सुँघ्दै र मक्ख पर्दै कुलप्रसादका पाइला गन्दै गयो । 

‘के गर्दै छस् ए रने बजिया !’ बीस–पच्चीसवटा छाप्रा भएको एउटा फोहोर र कङ्गाल बस्तीको माझमा पुगेर लेग्रो तान्दै कुलप्रसादले भन्यो । 

‘मालिक !’ अन्दाजी पचास वर्षको बुढो मगरले हात जोडेर कम्मरसम्म निहुँरिदै नमस्कार गर्‍यो । 

‘सन्चै छस्, बुढा ?’

‘त्यसै त भन्नुपरो, बाजे ।’ दकस मान्दै बुढाले भन्यो, ‘मालिकको किर्पाले गर्दाहुँदी ।’

‘मौजामा को को छन् लौ खबर दे । म आएँ ।’ साँगुरो आँगनको माझमा पुरानो राडीमा बस्दै कुलप्रसादले अरायो । अलिबेरमै उसका वरिपरि मानिसको घुइँचो लाग्यो । 

‘धान त काउसै बराबर फल्यो यो साल, कसो बुढा ?’ 

‘उस्तो भएन मालिक ।’ बुढाले कुरा काट्ने जमर्को गर्‍यो, ‘मौकाँ बर्सात्ले धोखा दियो ।’ 

गोरेलाई लाग्यो– कुलप्रसादले उसलाई देखाउन ल्याएको संसार त भोका गरिबहरूको वैरागलाग्दो बगाल पो रहेछ । 

घुर्की र धाकधम्की, बिन्तिभाउ र जुम्लाहात सुरु भयो । 

‘बोलकबोल अन्सार अधियाँ तिर्नैपर्छ, हेरबिचारका कुरा म जान्दिनँ ।’ 

‘पोहोर हेरी बाली आध्धै घट्ला जस्तो छ मालिक ! गरिब नमरोस् !’

‘बाली तमासले सप्य्रा छ, मालिक मार्ने कुरा नगर लिँडे हो ।’

‘मलाई त दिनदशा लागे मालिक यो साल । यो गरिब नडुबोस् ।’ 

‘हो, मालिक । जहान बित्नाले सालाको खेती भसक्कै बिग्य्रो बरा !’

‘कबोल भनेको कबोल हो । तेरी स्वास्नी मरी त अजम्मरी को छ ?’

‘हाम्रो ज्यान मालिकको धन । ज्यानै मरेपछि त धनको मुहानै सुक्छ मालिक !’

‘चिप्ला कुरा नगर् । कच्कच् गर्छौ भने उठाइदिन्छु बस्ती, चोर हो । लौ म हिँडे ।’ कुलप्रसादले बाटो लाग्दै कठोर स्वरमा भन्यो, ‘सात दिनभित्रमा अधियाँ बुझाउन नल्याए म पठाउँछु नि जन ।’ 

एक लस्कर कङ्गालहरूले कुलप्रसादका पाइला पछ्याए ।

‘तिमीहरूको कुरो मैले बुझेँ ।’ पछाडि फर्केर कुलप्रसादले भन्यो, ‘पछि साह्रोगाह्रो पर्दा म छँदै छु । अहिलेलाई कबोल अन्सार एक गेडो नघटाई ल्याओे । तिमीहरू भोकै पर्दा मैले कैल्यै एक्लै खा‘छु चोर हो ?’

‘मालिक, ज्यानै जाने भो ।’

‘भो, भो, बढ्ता बकबक नगर् । तँ मर्दा मान्छे घट्छ दुनियाँमा ? छुसी !’

सेतेले आज नयाँ संसार देख्योे । कुलप्रसादको अन्नको खोलो बगेर आउने मुहान देख्योे । उसका मनमा निकै कालदेखि गुम्सिएको खुल्दुलीको गाँठो बल्ल आज फुक्यो । 

‘म को रहेछु तैँले चिनिस्, सेते ?’ बाटामा कुलप्रसादले धाक लगायो । 

‘हँ बाजे ?’ 

कुलप्रसादलाई चिन्न सजिलो छ— घरभित्रको जोइटिङ्रे, घरबाहिरको मिचाहा साँढे । 

०००

 

‘लामो कुरो म जान्दिनँ हेर् सेतेकी आमा ।’ बेतको आराम कुर्सीमाथि ढेडु टोपी लाएर बसेको कुलप्रसादले क्रोधी आँखा झिमझिम पार्दै सेतेकी आमालाई गलाउन खोज्यो, ‘गर्ने भए राम्रो मुखले गर् कागत, होइन भने ल्याउँला पुलिस ।’

सेते दैलाको अडेस लागेर, घोस्से मुन्टो लाएर उभिएको थियो । उसका आँखा सुन्निएका थिए, गाला भुक्क फुलेका थिए र पिँडुलामा नीला डाम बसेका थिए । 

‘सक्दिनँ बाजे ।’ काँत्रिएको स्वरमा सेतेकी आमाले भनी, ‘जिउको हाडछाला बाहेक यो संसारमा मेरो क्यै छैन ।’

‘बढ्ता कुरा नगर् ।’ कुलप्रसादको डाकोले सेतेकी आमा तर्सिई, ‘एक बात भन्– कि गर्छु कि गर्दिनँ ।’

‘के को कर् हाम्लाई ?’ रिस दबाउनै नसकी सेतेले ओठ चलायो ।

‘बोल्छस् चोर् !’ कुलप्रसादले खुट्टो बजार्‍यो । ‘मेरो ६–६ सय मोलको राँगो हराउने तँ, अझै तेरै ठुलो स्वर !’

‘घाँस काट् मै, दाउरा खोज् मै, गाईबस्तु हेर् मै,’ कर्के आँखाले कुलप्रसादका अनुहारको क्रोध नियाल्दै सेतेले भन्यो, ‘हजारटा आँखा छन् मेरा ?’

रिसको ज्वाला हुर्हुरी बलेका आँखा कुलप्रसादले यताउति घुमायो, लगालग तीन सर्को चुरोट तान्यो, पिच्च थुक्यो अनि लम्केर सेतेकी आमाका अगाडि तमसुक तेस्र्याउँदै भन्यो, ‘लौ, याँ लगा ल्याप्चे ।’

सेतेकी आमा हात लुकाउन खोज्दै पछि सरी र बाघको मुखैनेर परेको बाछोले झैँ डरले कामेका आँखाले कुलप्रसादका राता आँखा हेरी । 

‘आनाकानी नगर् ।’ कुलप्रसादको स्वर शान्त भयो । ‘ल भैगो, एक सय मैले घटाइदिएँ । सासको धनले मलाई बिगार्नै खोजेछ भनौँ ।’

‘गर्दिनँ,’ सेतेकी आमाको स्वर काम्यो । ऊ उठ्न खोजी तर उसका पिँडुला लोजाए । 

‘बाजे !’ उसले हात जोडी । आँखा रसाए र उसका ओठ कामे । 

‘अर्को एकै बर्खमा सेतेले छिनिहाल्छ नि । हेर्, तेरा छोरालाई पुलिसले कुट्दै लगेको म कुन आँखाले हेरुँ ?’

‘आओस् पुलिस् ।’ सेतेले आमाका आँसु हेर्दै भन्यो, ‘सके गरौँला बात, नसके जाउँला झ्यालखान् ।’

कुलप्रसाद दाह्रा किट्दै उठ्यो र सेतेमाथि झम्ट्यो । सेते बिजुलीको चालमा कलधारानेर पुग्यो । कुलप्रसादले हानेको झटारो धाराको टुटीमा ठोक्किएर भुइँमा बज्रियो । 

‘तेरो छोरो भ्रष्ट भो, सेतेकी आमा ।’ कुलप्रसाद कड्क्यो, ‘सढ्यो यो चोर् ।’ ऊ कुर्सीमा बस्योे अनि कुर्र्सीको पाखुरीमा मुक्का हान्दै बर्बराउन थाल्यो, ‘यो ठाउँ नर्क भइसकेछ अचेल । गाउँभरि डाकाको बिगबिगी छ । गुन्डा, फटाहा, हुँ ! गाउँभरि कम्निस्ट सल्के । सक्ने भए यी डाकाले ।’ कुलप्रसादको स्वर लर्बरियो, उसका ओठ च्यापच्याप भए र उसको अनुहारमा हैरानीको छाया देखापर्‍यो । ‘यिनै डेरावाल चोरले हो यस हरामीको बुद्धि बिगारेको । नत्र कति सोझो थियो यो ! कति इमानी ! हँ ? रातरातभर कात्तिके कुकुरझैँ कता डुल्छस् तँ अचेलबली ?’ 

‘कतै गा छैन बाजे !’ मङ्गलेकी आमाले धारामा थाल–बटुका माझ्दै भनी, ‘टहरामै गुँडुल्किएको देख्छु म त, बरा !’

बोल्छेस् तँ ओठ ढाकेर,’ कुलप्रसादले उसको सातो लिन खोज्यो, ‘कस्सैमाथि विश्वास गर्न नसकिने भैसक्यो । आफ्नै स्वास्नीको विश्वास गर्न पनि... ।’

‘गर् सेतेकी आमा ।’ थैलीले फकाई, ‘यो बाजेले तिमेर्काे कुभलो कैल्यै गर्दैन, हेर् । यो त देउता हो, तिमेर्काे देउता ।’

‘गर्दिनँ ।’ सेतेकी आमा उठेर हिँड्न खोजी । 

‘बिएमानी भत्तुई ।’ मूल ढोकामा उभिएर पेटको मासुको थैलो हल्लाउँदै थैली कराई, ‘तेरा पोइको काँचो बायुले अझैसम्म तर्साउँदै छ यस घराँ । तँ मेरो धन डुबाउन खोज्ने कङ्गाली !’

थैलीको निर्मम वचनले सेतेकी आमालाई छाँगाबाट खसायो । उसका हातगोडा बिलाएजस्ता भए । उसले गरुङ्गो मुन्टो उठाएर त्यो घरको बुट्टे पर्दा झुन्डिएको सिरान तलातिर हेरी । सत्र वर्षअघि त्यही पर्दानेर गारोमा उभिएर भुइँबाट हुत्याएका इँटा समात्न खोज्दा खसेर सेतेको बाउ ठहरै मरेको थियो । त्यो भयङ्ककर घटना सम्झँदा सेतेकी आमाको सास बढ्योे । अनि दुःखको त्यस घडीमा कुलप्रसादले लगाएको गुन उसले सम्झी । हो, छाती पिट्दै रोइकराई गरेपछि कुलप्रसादले उसलाई सय रुपियाँ किरिया खर्च हालिदियो । सेते पाँच वर्ष कमारो बस्दा पनि त्यो सय रुपियाँको कथा टुङ्गिएको छैन । सेतेकी आमा आँसु पुछ्दै र रन्थनिदै बाटो लागी । 

‘टुहुरा कङ्गाल ।’ थैलीको कर्कश स्वर हावामा रन्कियो । 

यस थैलीका सन्तान मासिएका यै पापले हो कि ! मगन्तेजस्ती दुःखी आमालाई हेर्दै सेतेले मनमा कुरा खेलायोे । 

बाँकी पछि

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप

छुटाउनुभयो कि ?