मङ्गलबार, १८ मङ्सिर २०८१
ताजा लोकप्रिय

सत्ता समीकरण परिवर्तन गर्न कसैले कोसिस नगरे हुन्छ : उपप्रधानमन्त्री पौडेल

शनिबार, १५ मङ्सिर २०८१, १७ : ४०
शनिबार, १५ मङ्सिर २०८१

रुपन्देही । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार आगामी निर्वाचनसम्म नै कायम रहने दाबी गरेका छन् । शनिबार रुपन्देही उद्योग संंघको ४७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा पौडेलले यस्तो बताएका हुन् । 

उनले विगतमा छिनछिनमा सरकार परिवर्तन भइरहेको हुनाले वर्तमान सरकार पनि कति बेला परिवर्तन होला भन्ने आशङ्का उब्जिएको हुनसक्ने भन्दै सरकार ०८४ सम्म नै कायम रहने बताए । उनले भने, ‘हिजो छिनछिनमा सरकार परिवर्तन भइरहेको हुनाले यो सरकार पनि परिवर्तन हुन्छ भन्ने कतिलाई भ्रम छ । म तपाईंहरुलाई बडो आत्मविश्वासका साथ भन्छु, पछि पनि तपाईंले सोध्नुहुन्छ, मैले जवाफ दिनुपर्छ, यो सरकार, यो समीकरण, काँग्रेस—एमालेबिचको समीकरण ०८४ मा हुने निर्वाचन नहुन्जेलसम्म जारी रहन्छ । कोही कसैले कहीँ पर्दाभित्र, पर्दा बाहिर कसैले कुनै कोसिस नगरे हुन्छ, यो सरकार, यो समीकरणको सहयात्राको विकल्पमा कुनै कोसिस नगरे हुन्छ, त्यो व्यर्थको कोसिस हो । तपाईंहरुले खोजेको नीतिगत र नेतृत्वको स्थिरता यो सरकारले दिँदैछ । यो सरकारको लाभ लिने हिसाबले तपाईंहरु अघि बढ्नुस्, म निजी क्षेत्रलाई आग्रह गर्न चाहन्छु ।’

उपप्रधानमन्त्री पौडेलले अहिले अस्थिरता सम्भव नरहेको र अस्थिरताका कुनै कोसिसहरू सार्थक हुन नसक्ने दाबी गरे । अस्थिरतालाई मलजल हुने खालका गतिविधिमा समाचार व्यतीत नगर्न आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप