सोमबार, ११ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
नेपाल प्रिमियर लिग क्रिकेट

सुदूरपश्चिमको लगातार तेस्रो जित, तीन खेल हार्ने पहिलो टोली बन्यो लुम्बिनी

सैफको अलराउन्ड प्रदर्शन, विवेकको अर्धशतक खेर
शनिबार, २२ मङ्सिर २०८१, १२ : १५
शनिबार, २२ मङ्सिर २०८१

काठमाडौँ । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो जित हासिल गरेको छ । शनिबार भएको खेलमा टोलीले लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको हो ।

लुम्बिनीको यो लगातार तेस्रो हार हो । यसअघिका दुवै खेलमा टोली पराजित भएको थियो । पहिलो खेल विराटनगर किंग्ससँग हारेको लुम्बिनी दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग स्तब्ध बनेको थियो । टोली अंक तालिकामा पुछारमा रहेको छ ।

१ सय ८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४२ रन मात्र बनाउन सक्यो । टोलीका लागि विवेक यादवले नटआउट रहँदै सर्वाधिक ७७ रनको योगदान दिए । उनले मात्र ५४ बलमा ३ चौका र ७ छक्का प्रहार गरे ।

सन्दीप जोराले २६ बलमा २० रन बनाए । उनले एक छक्का प्रहार गरे । दिनेश अधिकारीले १६ बलमा १४ रन जोडे । उनले दुई चौका प्रहार गरे ।

लुम्बिनीले खेलमा खराब सुरुवात गरेको थियो । पहिलो बलमा नै अर्जुन साउद स्कट कुगेलियनको बलमा आउट भए । लगत्तै उन्मुक्त चन्दलाई पनि उनले आउट गरे । 

कप्तान पौडेल आउट हुँदा टोलीले १.५ ओभरमा ९ रन मात्र बनाउन सकेको थियो । चाँडै टम मुर्स पनि ७ रन बनाएर तथा साद बिन जाफर शून्य रन बनाएर आउट भए । ३.३ ओभरमा १९ रन बनाउँदा लुम्बिनीका आधा खेलाडी पभेलियन फर्किसकेका थिए ।

सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले ४ ओभर बलिङ गर्दै मात्र २१ रन खर्चेर ३ विकेट लिए । अलराउन्ड प्रदर्शन गरेका सैफ अलि जेबले पनि ३ विकेट लिए । ४ ओभरमा उनले ३३ रन खर्चिए ।

कुगेलियनले २ विकेट हात पारे । अविनाश बोहराले १ विकेट लिए ।

IMG-20241207-WA0036

यसअघि सैफ अलि जेब र कप्तान दीपेन्द्र सिंह ऐरीको शानदार ब्याटिङ प्रदर्शनको मद्दतले सुदूरपश्चिम रोयल्यसले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८७ रन बनाएको थियो ।

टोलीका लागि जेबले सर्वाधिक ९० रनको योगदान दिए । मात्र ६१ बलको इनिङ्समा उनले ६ चौका र ५ छक्का प्रहार गरे । उनले रामोन सिमन्ड्सको बलमा क्याच आउट हुन पुगे ।

कप्तान दीपेन्द्रले विस्फोटक पारी खेले । उनले मात्र १९ बलमा नटआउट रहँदै ३९ रन बनाए । उनले ४ चौका र २ छक्का हिर्काए ।

त्यस्तै, ब्रान्डन म्याकमुलनले २० बलमा २३ रन जोडे । उनले १ चौका र १ छक्का प्रहार गरे । ओपनर विनोद भण्डारीले १३ बलमा १७ रन जोडे । उनले २ चौका प्रहार गरे । स्कट कुगेलियनले ११ रन बनाए ।

लुम्बिनीका लागि रमोन सिमन्ड्सले ४ ओभर बलिङ गर्दै ३२ रन खर्चेर २ विकेट लिए ।  कप्तान रोहित पौडेलले ४ ओभर बलिङ गर्दै २२ रन खर्चेर एक विकेट लिए । विवेक यादवले पनि एक विकेट हात पारे ।

जारी प्रतियोगितामा सुदूरपश्चिमको यो तेस्रो खेल हो । टोली हालसम्म अपराजित रहेको छ । यसअघिका दुवै खेल टोलीले जितेको थियो । टोली पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध विजयी बनेको थियो भने दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई हराएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप