आन्दोलनमा जाने कि संसदीय राजनीति गर्ने भन्ने अन्योलमा राजेन्द्र महतो
काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो आन्दोलनमा जाने कि संसदीय राजनीति गर्ने भन्ने अन्योलमा देखिएका छन् । राष्ट्रिय मुक्ति पार्टी नेपाललाई दर्ताको लागि निर्वाचन आयोगमा उनले निवेदन दिएका छन् । तर निर्वाचन आयोगले पार्टीले प्रस्तुत गरेको दस्ताबेजबाट क्रान्ति तथा बहुल राष्ट्रिय शब्द हटाए मात्र दर्ता गर्ने भनेपछि अध्यक्ष महतो अन्योलमा देखिएका हुन् ।
लोसपा नेपालबाट अलग भएर राष्ट्रिय मुक्तिका लागि क्रान्ति गर्ने र बहुल राष्ट्र निर्माण गर्ने भनी उनले आन्दोलन थालेका थिए । तर आयोगले यी दुइटै शब्दलाई स्वीकार गरेको छैन । अब अध्यक्ष महतोसँग दुईवटा विकल्प मात्र छन्, पहिलो विना दल दर्ता नै सङ्घर्षमा जाने, अर्को क्रान्ति र बहुल राष्ट्र शब्द हटाएर पार्टी दर्ता गराई चुपचाप संसदीय राजनीति गर्ने ।
यी दुइटै विकल्पको बारेमा पार्टीमा छलफल भइरहेको बताइएको छ । राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता केशव झाले भने– 'पार्टीका विभिन्न दस्ताबेजमा क्रान्ति र बहुल राष्ट्रको कुरा उल्लेख छ, त्यसलाई निर्वाचन आयोगले संशोधन गर्न भनिरहेको छ । हामी ती शब्द कायमै रहनुपर्छ भने अडानमा छौँ । '
अन्तिममा आयोगले मानेन भने के गर्ने भन्ने विषयमा पार्टीले निर्णय लिने उनले बताए । क्रान्ति र बहुल राष्ट्र राखेर बिना दल दर्ता गरी सङ्घर्षमा जाने वा आयोगको कुरा मानेर पार्टी दर्ता गराएर आन्दोलनमा जाने ? यी दुवै विषयमा पार्टीभित्र आन्तरिक रूपमा छलफल भइरहेको उनको भनाइ छ ।
यही विवाद हुन्छ भनेर नै पार्टी दर्तामा जानु भन्दा पहिला नै राष्ट्रिय मुक्ति क्रान्तिबाट क्रान्ति झिकेर राष्ट्रिय मुक्ति नेपाल बनाइएको स्मरण गर्दै उनले मूल दस्ताबेजमा भएका शब्दलाई आयोगले संशोधन गर्न भनिरहेको नेता झाले बताए ।
राजेन्द्र महतोले सुरु गरेको वैकल्पिक राजनीतिको मूल उद्देश्य नै बहुल राष्ट्र स्थापना हो । बहुल राष्ट्र स्थापनाका लागि अध्यक्ष महतोले गृहकार्य पनि गरिसकेका छन् । त्यसका लागि विभिन्न कार्ययोजना तथा दस्ताबेज समेत तयार भइसकेको छ । काठमाडौँ उपत्यकामा त्यसको अभ्यास पनि उनले गरेका थिए ।
तर पार्टी गठन गरेर नै बहुल राष्ट्रका लागि आयोगले क्रान्ति गर्न नदिने अवस्था आउने देखिन्छ । यद्यपि पार्टी दर्ताका लागि सनाखतको काम सुरु पनि भएको छ । केन्द्रीय समितिमा रहेका सदस्यहरूले आयोगको केन्द्रीय कार्यालयमा गएर सनाखत गरिरहेका छन् भने अन्य कार्यकर्ता तथा नेताहरूले जिल्लास्थित निर्वाचन कार्यालयमा गएर सनाखत गरिरहेका छन् ।
पार्टी दर्ताका लागि जजसको नाम र नागरिकता पठाएको थियो । ती सबैलाई आयोगले सशरीर उपस्थित गराई सनाखत गराई रहेको छ ।
पार्टीको अगामी कार्ययोजनाको विषयमा छलफल गर्न पार्टीका शीर्ष नेताहरूको बैठक हिजोदेखि शंखमुलस्थित पार्टी कार्यालयमा चलिरहेको छ । पार्टी दर्ता लगायत, पार्टीको अगामी कदमलगायतको विषयमा छलफलका लागि बैठक चलिरहेको नेता झाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण