सिंहदरबारमा प्रचण्ड, माधव र राजेन्द्रबिच भेटघाट : के–के भयो छलफल ?

काठमाडौँ । प्रतिपक्षी तीन राजनीतिक दलका अध्यक्षहरूको भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबिच भेटवार्ता भएको हो ।
भेटमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समाजवादी मोर्चालाई क्रियाशील बनाउने निर्णय गरेका छन् । मोर्चालाई क्रियाशील बनाउन आगामी माघ २ गते समाजवादी मोर्चामा रहेका चार दलको बैठक बस्ने निर्णय भएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिए । उनले मोर्चालाई सक्रिय बनाउने विषयमा नै दलहरूबिच निरन्तर छलफल भएको बताए । प्रचण्डले वर्तमान गठबन्धन अप्राकृतिक भएकाले धरै दिन नटिक्ने टिप्पणी गरेका छन् ।
त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले माघ २ गते बैठक बसेर मोर्चालाई क्रियाशील बनाउने र अन्य दललाई पनि मोर्चामा आबद्ध गर्दै लैजाने जानकारी दिए । संविधान संशोधनका विषयमा आफ्नो पार्टीले पनि कार्यदल बनाएको भन्दै संविधानमा देखिएका कमजोरीलाई सुधार गर्दै अघि बढ्नुपर्ने उनले बताए ।
अध्यक्ष नेपालले २०८७ सालमा संविधान संशोधन गर्ने प्रधानमन्त्री केपी ओलीको अभिव्यक्ति सत्ता नछाड्ने दाउ हो कि भन्दै कटाक्ष गरे । उनले देशको आवश्यकताका आधारमा संविधान संशोधन गर्ने कुरामा पछि हट्न नहुने बताए ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी ओली संविधान संशोधन नै नगर्ने दाउमा रहेको बताएका छन् । छलफलपछि बाहिरिने क्रममा लिङ्देनले प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति सुन्दा संविधान संशोधन नै नगर्ने दाउमा रहेको देखिएको बताएका हुन् ।
वर्तमान सरकार निर्माणको प्रक्रियामा संविधान संशोधन गर्ने सहमति अहिले हावादारी कुरामा मात्रै सीमित हुने देखिएको उनले बताए । उनले देश नबन्नुपर्ने कुनै कारण नरहेको भन्दै देशको नेतृत्व र अहिलेको व्यवस्था देश बन्न नसकेकाले यसलाई परिवर्तन गर्न संविधान संशोधन अपरिहार्य रहेको धारणा राखे । उनले पृथ्वी दिवसको कार्यक्रमको निम्तो दिन प्रचण्ड र माधव नेपालसँग भेट गरेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ रेडक्रस दिवस मनाइँदै
-
मन्त्रिपरिषद् बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने
-
‘वर्ड रिजर्भ’ क्षेत्रमै चरालाई सङ्कट
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
गभर्नर नियुक्ति प्रकरण : पन्छिएका उम्मेदवार फेरि रेसमा