बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
खेलकुद

भारतीय क्रिकेट खेलाडीका लागि बीसीसीआईले ल्यायो १० बुँदे कडा नियम

शुक्रबार, ०४ माघ २०८१, १० : ५७
शुक्रबार, ०४ माघ २०८१

मुम्बई । भारतीय क्रिकेट टिमका सदस्यहरूले अब कडा नियम पालना गर्नुपर्ने भएको छ । टिमका प्रत्येक खेलाडीले घरेलु क्रिकेट खेल्नुपर्ने, शृङ्खलाको समयमा कुनै प्रकारको विज्ञापन गर्न नपाउने र आफ्नो परिवारसँग यात्रा गर्न नसक्ने गरी नियम बनाइएको छ । अभ्यास सत्रहरूमा पनि अनिवार्य उपस्थित हुनु पर्ने नियम बनाइएको छ ।

अस्ट्रेलियाविरुद्धको टेस्ट शृङ्खलामा ३–१ ले पराजित हुनका साथै भारतीय टोलीको ‘ड्रेसिङ रुम’मा असहमति भएको खबर प्रकाशमा आएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले बिहीबार राति एक निर्देशिका जारी गर्दै १० बुँदे नयाँ नियम सार्वजनिक गरेको छ ।

खेलाडीले यी नियम पालना गर्नुपर्ने छ

१. खेलाडीहरूले आफ्नो परिवारसँग यात्रा गर्न पाउने छैनन् । खेलाडीहरूले सम्पूर्ण भ्रमण अवधिभर आफ्नो परिवार र श्रीमतीसँग यात्रा गर्न पाउने छैनन् । यो नियम विशेष गरी विदेश भ्रमणमा लागु हुनेछ । ४५ दिनभन्दा कम समयको भ्रमणका लागि, परिवार र श्रीमती ७ दिनसम्म मात्र सँगै बस्न सक्नेछन् । यदि कुनै खेलाडीले परिवारसँग वा छुट्टै यात्रा गर्नु परेमा मुख्य प्रशिक्षक र छनोट समितिको अध्यक्षबाट अनुमति लिनुपर्नेछ ।

२. घरेलु क्रिकेट खेल्न अनिवार्य गरिएको छ । भारतीय क्रिकेट टिमका प्रत्येक खेलाडीले घरेलु प्रतियोगिता अनिवार्य खेल्नुपर्ने र घरेलु प्रतियोगितामा गरेको प्रदर्शनलाई नै आधार बनाएर राष्ट्रिय टोलीमा छनोट गरिने भएको छ । यदि कुनै खेलाडीले कुनै कारणले घरेलु क्रिकेट नखेलेमा त्यसको जानकारी बोर्डलाई दिनुपर्नेछ । साथै, छनोट समितिको अध्यक्षबाट अनुमतिसमेत लिनुपर्नेछ ।

३. खेलाडीहरूले यात्रामा बढी सामान बोक्न पाउने छैनन् । यदि खेलाडीको सामान निर्धारित तौलभन्दा बढी भएमा सम्बन्धित खेलाडी आफैँले त्यसको खर्च तिर्नु पर्नेछ । बोर्डले तौल र सामानको लागि छुट्टै निर्देशिका पनि जारी गरेको छ ।

लामो भ्रमण (३० दिनभन्दा बढी)मा खेलाडीहरूले ३ सुटकेस र २ किट ब्याग वा १५० किलोग्रामसम्मको सामान लैजान पाउनेछन् । सहयोगी कर्मचारीको हकमा २ ठुलो र १ सानो सुटकेस वा ८० किलोग्रामसम्म सामान लैजान सक्ने व्यवस्था गरिएको छ ।

छोटो भ्रमण (३० दिन भन्दा कम)मा  खेलाडीहरूले २ सुटकेस र २ किट ब्याग वा १२० किलोग्रामसम्म सामान लैजान पाउने छन् । सहयोगी कर्मचारीको हकमा २ सुटकेस वा ६० किलोग्राम सम्म सामान लैजान पाइने छ ।

होम सिरिजमा खेलाडीहरूका लागि २ सुटकेस, २ किट ब्याग वा १२० किलोग्रामसम्म सामान लैजान पाउने व्यवस्था गरिएको छ । सहयोगी कर्मचारीका हकमा भने २ सुटकेस वा ६० किलोग्रामसम्म सामान लैजान पाउने व्यवस्था गरिएको छ ।

४. ‘सेन्टर अफ एक्सिलेन्स, बेंगलुरु’मा प्रशिक्षण शिविरको क्रममा सबै खेलाडीले सामान वा व्यक्तिगत सामान पठाउन टोली व्यवस्थापनसँग सम्पर्क गर्नुपर्ने भएको छ । यदि कुनै वस्तु फरक तरिकाले पठाइएको छ भने अतिरिक्त लागत खेलाडी आफैँले बेहोर्नु पर्नेछ ।

५. कुनै पनि भ्रमण वा शृङ्खलामा व्यक्तिगत कर्मचारी लैजान नपाइने भएको छ । खेलाडीको व्यक्तिगत कर्मचारी (जस्तै व्यक्तिगत प्रबन्धक, सेफ, सहायक र सुरक्षाकर्मी) कुनै पनि शृङ्खला वा भ्रमणमा बोर्डसँग अनुमति नलिइ लैजान पाइने छैन ।

६. अभ्यास सत्रहरूमा सबै खेलाडी अनिवार्य उपस्थित हुनुपर्ने छ । अभ्यास सत्रबाट कोही पनि चाँडै निस्कन पाउने छैनन् । शृङ्खला वा प्रतियोगिताको समयमा भारतीय क्रिकेट टोलीका सबै सदस्यले तोकिएको बसमा यात्रा गर्नुपर्ने छ । त्यस्तो यात्रामा खेलाडीहरूले आफ्नो छुट्टै सवारी साधन प्रयोग गर्न नपाउने भएका हुन् ।

७. शृङ्खला र भ्रमणको समयमा कुनै पनि खेलाडीले व्यक्तिगत तस्बिर वा भिडियो खिच्न वा विज्ञापन गर्न पाउने छैनन् । खेलाडीहरूको ध्यान अन्यत्र नमोडियोस् भनेर यो निर्णय गरेको बोर्डले जनाएको छ ।

८. यदि कुनै खेलाडी ४५ दिनसम्म कुनै शृङ्खलामा सहभागी हुन विदेश भ्रमणमा जान्छ भने उनकी श्रीमती र १८ वर्ष मुनिका बच्चा बढीमा २ हप्तासम्म त्यस्तो खेलाडीसँगै बस्न सक्छन् । यस अवधिमा उनीहरूको बसाइको खर्च बीसीसीआईले बेहोर्नेछ तर बाँकी खर्च खेलाडीले नै बेहोर्नु पर्नेछ ।

यदि कुनै खेलाडीले नियम तोडेमा प्रशिक्षक, कप्तान यसका लागि जिम्मेवार मानिने पनि बोर्डले प्रस्ट पारेको छ ।

९.प्रत्येक खेलाडीले बीसीसीआईको आधिकारिक सुटिङ, प्रवर्द्धन र अन्य कुनै पनि प्रकारका कार्यक्रममा भाग लिनुपर्नेछ । यो निर्णय खेलकुदको प्रवर्द्धन र सरोकारवालाहरूको हितका लागि लिइएको बोर्डले जनाएको छ ।

१०. शृङ्खला सकिएपछि खेलाडीहरू चाँडै घर फर्कन सक्ने छैनन् । शृङ्खला चाँडै समाप्त भए पनि हरेक खेलाडी टोलीसँगै रहनुपर्नेछ । प्रत्येक खेलाडी निर्धारित मितिमा टोलीसँगै फर्कनेछन् ।

यो निर्देशन पालना नगरे कडा कारबाही गरिने चेतावनी बोर्डले दिएको छ । नियम पालना नगरेमा अनुशासनात्मक कारबाहीको चेतावनी पनि दिइएको छ । यदि कुनै खेलाडीले यी निर्देशन पालना गर्न असफल भएमा उसले छनोट समितिका अध्यक्ष र मुख्य प्रशिक्षकबाट अनुमति लिनुपर्नेछ ।

यदि कुनै खेलाडीले नियम तोड्यो भने बोर्डले उसलाई प्रतियोगिता, शृङ्खला र आईपीएलमा पनि खेल्न अनुमति नदिने जनाइएको छ । यसबाहेक, बोर्डले खेलाडीहरूको तलब र उनीहरूको सम्झौता पनि रद्द गर्न सक्ने प्रस्ट पारिएको छ ।

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप