कर्णालीमा काङ्ग्रेसले सरकार छाड्ने धम्की दिएपछि बस्यो संयन्त्रको बैठक

सुर्खेत । कर्णालीमा सत्तारुढ दल नेपाली काङ्ग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीको सरकार छाड्ने धम्की पश्चात् दुई दलीय संयन्त्रको बैठक बसेको छ । कांग्रेस कर्णाली प्रदेश पार्टी कार्यालयमा अपराह्न चार बजेदेखि बैठक चलेको हो ।
बैठकमा एमालेका तर्फबाट मुख्यमन्त्री यामलाल कँडेल, प्रदेश इन्चार्ज गोरख बोगटी, प्रदेश अध्यक्ष गुलावजंग शाह उपस्थित भएका छन् ।
यस्तै काङ्ग्रेसका तर्फबाट संसदीय दलका नेता जीवनबहादुर शाही, प्रदेश समितिका सभापति ललितजंग शाही सहभागी छन् ।
बैठकमा व्यापक छलफल भइरहेको एक नेताले बताए । सोमबारको संसद् बैठकमा काङ्ग्रेस दल नेता शाहीले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीलाई बर्खास्त गर्नुपर्ने, तत्कालीन अवस्थाको ८ बुँदे एक साताभित्र कार्यान्वयन नगरे सरकार छाड्ने धम्की दिएका थिए । उनको उक्त धम्कीसँगै प्रदेशको राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ ।