आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

हेटौँडामा आइतबारबाट राष्ट्रिय पुरुष तथा महिला बुद्धिचाल प्रतियोगिता हुने

शनिबार, १२ माघ २०८१, १९ : ५३
शनिबार, १२ माघ २०८१

हेटौँडा । नेपाल बुद्धिचाल महासङ्घ र हेटौँडा चेस क्लबको आयोजनामा हेटौँडामा महिला तथा पुरुषको राष्ट्रिय प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आइतबारबाट हुने महासङ्घका महासचिव धरम लामाले जानकारी दिए ।

उनले पुरुषको २५ औँ र महिलाको १० औँ राष्ट्रिय प्रतियोगिता हुन लागेको बताए । हेटौँडा स्थित सामना होटलमा हुने प्रतियोगितामा पुरुषका १२ र महिलाका १२ जना खेलाडी सहभागी हुने उनको भनाई छ ।

१९ माघसम्म चल्ने प्रतियोगिता राउन्ड रोविनको आधारमा हुने महासचिव लामाले बताए । प्रतियोगितामा महिला र पुरुष गरी काठमाडौँका सबैभन्दा बढी ८ जना खेलाडीले सहभागिता जनाउने छन् । 

यस्तै झापाका ४, दोलखाका २ र मकवानपुर, चितवन, रौतहट, ललितपुर, भक्तपुर, सुनसरी, मोरङ, बारा र रुकुम पूर्वका एक/एक जना खेलाडीले सहभागी हुने महासङ्घका अध्यक्ष हिराकाजी महर्जनले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा महिला र पुरुष दुवै समूहबाट प्रथम हुनेले मार्च १० देखी १९ सम्म श्रीलंकामा हुने एसियन जोनल टुर्नामेन्ट र २०२६ मा उज्बेकिस्तानको राजधानी तास्कन्दमा हुने ओलम्पियाडमा सहभागी हुन पाउने छन् ।

यस्तै द्वितीय र तृतीय हुनेले क्रमशः १५/१५ र १०/१० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । आवासीय सुविधासहितको प्रतियोगिता सञ्चालनका लागि २४ लाख २५ हजार रुपैयाँ खर्च हुने अध्यक्ष महर्जनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप