जलविद्युत् आयोजनाको भविष्य समाप्त नपार्न इप्पानको आग्रह
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग भेटवार्ता गरेको छ ।
सर्वोच्च अदालतले राष्ट्रिय निकुञ्ज तथा विभिन्न संरक्षित क्षेत्रहरूमा पूर्वाधार निर्माणमा पूर्णरूपमा रोक लगाउने अन्तरिम आदेश जारी गरेपछि इप्पानले जलविद्युत् आयोजनाको भविष्य नै समाप्त हुने भन्दै माओवादी केन्द्रका प्रमुख सचेतकसँग भेटवार्ता गरेको हो ।
इप्पानले यसअघि सोमबार मात्रै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारलाई पनि भेटेर उक्त आदेशले देशको समृद्धिको पहिलो आधार ऊर्जा क्षेत्रको विकास निर्माण प्रभावित नहुने वातावरण बनाउन माग गरेको थियो ।
इप्पानका अध्यक्ष गणेश कार्कीले सरकारले गत वर्ष मात्रै १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने सम्झौता गरेको र हालै २८ हजार ५०० मेगावाट विद्युत् उत्पादनको लक्ष्य सार्वजनिक गरेको अवस्थामा सर्वोच्चको आदेशले नेपालमा बनिरहेकै जलविद्युत् आयोजनाको काम पनि रोकिने अवस्था आउन सक्ने चिन्ता व्यक्त गरे ।
‘यो फैसलाको पूर्णपाठमा जलविद्युत् आयोजनालाई संरक्षण गर्ने भाषा प्रयोग भएन भने सबै आयोजना प्रभावित हुन्छन् । बनिरहेका आयोजना पनि रोक्नुपर्ने अवस्था आउँछ । नयाँ त बन्दै बन्दैनन्,’ कार्कीले प्रमुख सचेतक पाण्डेसँग भने, ‘हामी थोरै संख्यामा छौँ, आन्दोलन गर्न संख्या पुग्दैन, बिजुली काट्ने कुरा नैतिकताले दिँदैन, हाम्रो आवाज संसद्मा उठाइदिनुपर्यो ।’
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले यो देशको समृद्धिको आधार जलस्रोत नै भएकोले यसलाई बचाउने र बनाउने कुरामा माओवादी केन्द्रले संसद्मा आवाज उठाउने बताए ।
नेपालमा एकैपटक तीन हजार मेगावाट विद्युत् उत्पादन नभएको र चरणबद्ध विकास भएर यहाँसम्म आइपुगेको क्षेत्रलाई बचाउन आफूले सक्दो सबै सहयोग गर्ने पाण्डेले आश्वासन दिए ।
सर्वोच्च अदालतको फैसलाले हाइड्रोपावर मात्रै नभएर सिमेन्ट उद्योग, केबलकार, पर्यटन र कृषि उद्योग पनि प्रभावित भएको इप्पान कार्यसमिति सदस्य भरत पराजुलीले बताए ।
यो फैसलाले १५/१६ खर्ब लगानी भएको र ६० लाख लगानीकर्ताले लगानी गरेको क्षेत्रलाई प्रहार गरेको उनको भनाइ छ ।
नेपालको विकासको जग नै जलविद्युत् भएकोले यसलाई रोक्ने गरी भएका गतिविधि स्वीकार्य नहुने इप्पान कार्यसमिति सदस्य टिएन आचार्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण