फाइनलअघि म्याट हेनरीको चोटले न्युजिल्यान्डलाई चिन्ता
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको फाइनलअघि आफ्ना प्रभावशाली खेलाडी म्याट हेनरीको चोट न्युजिल्यान्डका लागि गहिरो चिन्ताको विषय बनेको छ । न्युजिल्यान्डका बलिङ अलराउन्डर म्याट हेनरी दक्षिण अफ्रिकाविरुद्धको सेमिफाइनल खेलका क्रममा घाइते भएका थिए ।
न्युजिल्यान्डले आइतबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बलियो प्रतिद्वन्द्वी भारतसँग उपाधिका लागि भिडन्त गर्दैछ । दक्षिण अफ्रिकाविरुद्धको सेमिफाइनल खेलको २९ औँ ओभरमा म्याट हेनरी घाइते भएको समाचारमा जनाइएको छ ।
३३ वर्षीय हेनरी दक्षिण अफ्रिकी ब्याट्सम्यान हेनरिक क्लासेनको क्याच लिने क्रममा घाइते भएको बताइएको छ । उनले लङ् अनमा उत्कृष्ट क्याच लिँदै क्लासेनलाई पेभेलियन फर्काएका थिए । सोही क्रममा उनी घाइते भएका थिए ।
म्याट हेनरीको दायाँ काँधमा चोट लागेको बताइएको छ । क्याच लिएपछि घाइते हुँदै हेनरी केही समयका लागि मैदानबाट बाहिरिएका थिए । उनी हाल चिकित्सको निगरानीमा छन् । न्युजिल्यान्ड क्रिकेट बोर्डले भने यस विषयमा आधिकारीक रुपमा केही बताएको छैन ।
न्युजिल्यान्ड टोलीका एक अधिकारीले भने फाइनलअघि नै म्याट हेनरी पूर्णरुपमा स्वस्थ्य भइसक्ने विश्वास व्यक्त गरेका छन् । ‘म्याट हेनरीको चोटलाई लिएर हामी चिन्तित छौँ । मेरो विचारमा फाइनलअघि नै उनी स्वास्थ्य भइसक्ने छन्,’ ती अधिकारीले भनेका छन् ।
तीव्र गतिका बलर हेनरीले दक्षिण अफ्रिकाविरुद्धको सेमिफाइनलमा पनि दुई विकेट लिएका थिए । म्याट हेनरी जारी च्याम्पियन्स ट्रफीमा सर्वाधिक विकेट लिने बलरको सूचीमा पहिलो स्थानमा छन् । उनले चार खेलमा १० विकेट लिइसकेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण