‘सुटिङ स्टार’ क्यान्डल, घट्दो कारोबार : साताको सेयर बजारले कस्तो संकेत गर्छ ?

काठमाडौँ । साताको सेयर बजारले ‘सुटिङ स्टार’को क्यान्डल बनाएको छ । साताभरमा कुल ३.३९ अंकमात्रै वृद्धि देखिएको बजार परिसूचकले माथिल्लो भागमा लामो र तल्लो भागमा छोटो धर्कोसहित बियरिस क्यान्डल निर्माण गरेको हो ।
यस्तो क्यान्डलले बजारमा सम्भावित बियरिस ट्रेन्डको संकेत गर्छ । सेयर गत हप्ता बिहीबार २८१५.०४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । बजार यो साताको अन्तिम समयमा आइपुग्दा २८१८.४३ अंकमा बन्द भएको छ । सातामा बजार न्यूनतम २७८५.९८ अंक तथा अधिकतम २८९०.२८ अंकसम्म पुगेको देखिन्छ ।
साताको पहिलो दिन उच्च अंकले बढेको सेयर बजारलाई बाँकी ४ दिनको करेक्सनले अघिल्लो साताकै हाराहारीमा ल्याएको देखिन्छ । साताको पहिलो दिन बजार परिसूचक ७५.२४ अंकले बढेको थियो । त्यसपछिका ४ दिन बजार क्रमशः १३.२६, ३०.३६, २५.१६ र २.७० अंकले घटेको हो ।
यो साता बजारमा ६१ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भयो । यद्यपि प्रत्येक दिन कारोबार रकम घट्दै गएको छ ।
पहिलो दिन १४ अर्ब ११ करोड रुपैयाँ रहेको कारोबार सोमबार १३ अर्ब ७३ करोड, मंगलबार १२ अर्ब ८२ करोड, बुधबार १० अर्ब ८३ करोड र बिहीबार ९ अर्ब ९१ करोडमा झरेको छ । कारोबार रकममात्रै नभएर कारोबार संख्या र कारोबार भएका सेयर संख्यासमेत क्रमशः घट्दै गएको देखिन्छ ।
सानो अवधिमा कारोबार घट्दै जाँदा यसले बजारमा खरिदकर्ताले बजारमा कन्फिडेन्स गुमाउँदै गएको र सम्भावित रिभर्स ट्रेन्डको संकेत गर्छ ।
- किन घटबढ भयो बजार ?
प्राविधिक विश्लेषणका आधारमा बजारले घट्दो ट्रेन्डलाई संकेत गरे पनि आधारभूत रूपमा हेर्दा यो साताको बजारलाई गत साताको करेक्सन मान्न सकिन्छ । अघिल्लो साता सेयर बजारमा २१२ अंकको वृद्धि भएको थियो ।
मौद्रिक नीतिको समीक्षा र नेपाल राष्ट्र बैंकका गभर्नरको बहिर्गमनको समाचारले बढेको बजारमा नाफा बुक गर्ने लगानीकर्ता हाबी भएको देखिन्छ । पछिल्लो ४ दिन खरिदकर्ता बढी हाबी हुँदा बजार घटेको छ ।
- यी हुन् साताका चर्चित कम्पनी
यो साता पनि बजारमा मुख्यतया तीन वटा कम्पनी बढी चर्चामा रहेको देखिन्छ । साताभरि नै सकारात्मक सर्किट लागेर गार्डियन लाइफ जीवन बीमा समूहकै सबैभन्दा महँगो कम्पनी बन्न सफल भयो ।
त्यस्तै, हिमालयन रिइन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनी यो अवधिमा सर्वाधिक कारोबार गर्ने कम्पनीको रूपमा दर्ज भएका छन् । यी कम्पनीको कारोबार क्रमशः ५ अर्ब ४३ करोड र ४ अर्ब ३३ करोड कायम भएका छन् ।
अहिले बजारमा सूचीकृत ६ वटा कम्पनीको बजार पुँजीकरण १ खर्बभन्दा धेरै छ । त्यसमा विशाल बजार कम्पनीको सबैभन्दा धेरै २ खर्ब २२ अर्ब, नेपाल रिइन्स्योरेन्स कम्पनीको १ खर्ब ८१ अर्ब, नेपाल टेलिकम १ खर्ब ६७ अर्ब, नबिल बैंकको १ खर्ब ३४ अर्ब, नागरिक लगानी कोषको १ खर्ब ३३ अर्ब र हिमालयन रिइन्स्योरेन्स १ खर्ब ११ अर्ब छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आमाबुबाको अत्तोपत्तो नहुँदा नागरिकताबाट वञ्चित
-
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, नयाँ मूल्य कति ?
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता