जब ४ वर्षीय बालकले प्रहरीलाई फोन गरेर भने– ममीलाई गिरफ्तार गर्न आउनुस्
वासिङ्टन । बच्चाहरूलाई आइसक्रिम निकै मन पर्छ । आमाबुवाले आफ्ना बच्चालाई रुघाखोकी वा ज्वरो आएको अवस्थामा आइसक्रिम लगायतका खानेकुरा खानबाट रोक्ने गर्दछन् ।
तर, अमेरिकामा एक चार वर्षीय बालकले आइसक्रिम खान नपाएको झोकमा प्रहरीलाई फोन गरेर आफ्नी आमालाई नै गिरफ्तार गर्नका लागि घरमा बोलाएको विषय यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
प्रहरी अधिकारीहरूका अनुसार विस्कन्सिनका ४ वर्षीय बालकले गत मंगलबार प्रहरीको आपतकालीन नम्बर ९११ मा फोन गरेका थिए ।
ती बालकले प्रहरीसँग फोनमा गरेको कुराकानीको अडियो रेकर्डसमेत सामाजिक सञ्जालमा उपलब्ध छ । जसमा ती बालकले ‘मेरी आमा साह्रै खराब हुनुहुन्छ’ भन्यो ।
उताबाट ‘के भएको हो ?’ भन्ने प्रश्न बालकलाई गरियो । बालकले जवाफमा ‘मेरी आमालाई समातेर लैजानु’ भनेका थिए ।
त्यसपछि आमाले फोन खोसेर आपतकालीन सेवाका अधिकारीसँग घटनाको बारेमा जानकारी गराइन् । आफूले छोराको आइसक्रिम खाइदिएको र त्यसैकारण रिसाएर उसले फोन गरेको ती महिलाले जानकारी गराइन् ।
यद्यपि, प्रोटोकलका अनुसार आपतकालीन नम्बरमा कल आइसकेपछि प्रहरी अधिकारीहरू सम्बन्धित घरमा पुगे । प्रहरी समक्ष ती बालकले आफ्नो आइसक्रिम आमाले खाइदिएको र आमालाई गिरफ्तार गरेर लैजान भनेका थिए ।
प्रहरी अधिकारीले आमाछोराबिचको झगडा मिलाउन छलफल गरे । यस क्रममा ती बालकले आफ्नो चाहना आमालाई जेल पठाउन नभएको बताए । तर, आफूलाई आइसक्रिम नै चाहिने अडान उनले लिए ।
दुई दिनपछि प्रहरी फेरि ती बालकको घरमा पुगे । त्यतिबेला प्रहरीले उपहारस्वरुप ती बालकलाई आइसक्रिम लगिदिएका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण