पहिलो खेलमा अफगानिस्तानसँग १३० रनले हार्यो नेपाल
काठमाडौँ । घरेलु टोली नेपाल यूथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको बिहीबार खेलिएको पहिलो खेलमा अफगानिस्तानको यू–१९ टोलीसँग एक सय ३० रनले पराजित भएको छ । जितसँगै अफगानिस्तानले तीन खेलको शृङ्खलामा १–० को अग्रता लिएको छ ।
काठमाडौँको मूलपानी क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको अफगानिस्तानको टोलीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर तीन सय रन बनायो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने ४६.२ ओभरमा अलआउट हुनुअघि एक सय ७० रनमात्र बनाउन सक्यो ।
नेपाली टोलीका ओपनर निरज कुमार यादवबाहेक अन्य ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । निरजले भने अर्धशतकीय पाली खेले । उनले टोलीका लागि ५३ रनको योगदान गरे । यस क्रममा उनले ६१ बलको सामना गरी दुई छक्का र चार चौका पनि हिर्काए ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएका कप्तान नरेन भट्टले १३ रन बनाए । चौथो नम्बरका ब्याट्सम्यान सिबरिन श्रेष्ठ पनि ११ रनभन्दा अगाडि बढ्न सकेनन् । अभिषेक तिवारीले टोलीको खातामा १७ रन थपे । तल्लो क्रमका ब्याट्सम्यान सन्तोष यादवले २४ रन बनाए ।
नवौँ नम्बरमा क्रिज समाल्न आएका अशोक धामीले पनि टोलीको खातामा २४ रन थपे । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालले अतिरिक्त रूपमा पनि १४ रन पायो । अफगानिस्तानका बलर जैतुल्लाह साहिन, महबुब खान र वाहिदुल्लाह जदरानले दुई–दुई विकेट लिए ।
त्यसअघि, अफगानिस्तानका लागि दुई ब्याट्सम्यानले उत्कृष्ट अर्धशतकीय पाली खेलेका थिए । फैसल सिनोजादाले ९७ रन बनाए । उनी केवल तीन रनका कारण शतक पुरा गर्नबाट चुके । तेस्रो नम्बरमा क्रिज समाल्न आएका फैसलले ८८ बलको सामना गरी चार छक्का र नौ चौका पनि हिर्काए ।
अफगानिस्तानले ४९ रनको कुल स्कोरमा पहिलो विकेट गुमाएको थियो । ओपनर युजाइरुल्लाह निआजाई २४ रन बनाउँदै आउट भएका थिए । त्यसपछि अर्का ओपनर खालिद अहमदजाई र फैसल सिनोजादाले टोलीको स्कोरलाई दुई सय तीन रनको सम्मानजनक स्थितिमा पुर्याएका थिए ।
ओपनर खालिद अहमदजाईले पनि टोलीका लागि ७६ रनको योगदान गरे । उनले एक सय सात बलमा ६ चौका पनि प्रहार गरे । बर्कत ईब्राहिमजाइले पनि टोलीको खातामा ३५ रन थपे । अजिजुल्लाह मिया खिलले २१ रन बटुले ।
नेपाली टोलीका बलर सन्तोष यादवले तीन विकेट लिए । उनले १० ओभरमा ६४ रन खर्चिए । अभिषेक तिवारीले पनि दुई विकेट हात पारे । उनले आठ ओभरमा ६१ रन खर्चिए । दयानन्द मण्डल र विपिन शर्माले एक–एक विकेट लिए ।
अफगानिस्तानको यू–१९ टोलीले नेपालको यू–१९ पुरुष टोलीसँग तीनवटा खेलको शृङ्खला खेल्ने कार्यक्रम छ । नेपालमै आयोजना हुने आईसीसी यू–१९ विश्वकप छनोटको तयारीका क्रममा यो शृङ्खला खेलिएको हो ।
विश्वकप छनोट खेल पनि मूलपानी क्रिकेट मैदानमै हुनेछ । नेपाल र अफगानिस्तानबिचको शृङ्खलालाई यूथ एककदिवसीय अन्तर्राष्ट्रियको मान्यता दिइएको छ । दोस्रो खेल अप्रिल ६ र तेस्रो खेल अप्रिल ९ तारिखमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण