सोमबार, २२ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राप्रपा प्रदर्शन

बल्खुबाट राप्रपाको खबरदारी : भातपानी बन्द गर्नेदेखि बंगलादेश र श्रीलंका बनाउने चेतावनी !

मङ्गलबार, २६ चैत २०८१, १६ : ५०
मङ्गलबार, २६ चैत २०८१

काठमाडौँ । हालको संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था बदल्ने उद्घोषसहित शान्तिपूर्ण आन्दोलन थालेको बताएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बालुवाटारको भात पानी बन्द गर्नेदेखि देशलाई बंगलादेश र श्रीलंका बनाउनेसम्मको चेतावनी दिएको छ ।  

राप्रपा बागमती प्रदेश कमिटीले काठमाडौँको बल्खुमा आयोजना गरेको खबरदारी सभामा बोल्दै त्यस पार्टीका नेताहरूले आफूले भनेजस्तो समझदारी गर्न तयार नभए आन्दोलन जारी राख्दै बालुवाटारको भातपानी बन्द गर्ने, नेताहरूको घर घेर्ने तथा बंगलादेश र श्रीलंका बनाउनेसम्मको धम्की दिएका हुन् ।

सभामा सम्बोधन गर्ने नेताहरूको आक्रोश व्यवस्था भन्दा पनि सरकारको नेतृत्व गर्ने दलका नेताहरूको कार्यशैलीले देश बर्बाद भएको भन्दै कार्यशैली नसुधारेसम्म विश्राम नलिने उद्घोष गरे । कांग्रेस, एमाले र माओवादीलगायत सबैलाई ओली, देउवा र प्रचण्डबाट अब देश नबन्ने थाहा भएकाले उनीहरूलाई जति दिन राख्यो त्यति नै देश बर्बाद हुने राप्रपा नेताहरूको भनाइ छ ।

खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले ओली देउवा र प्रचण्डबाट देश सच्चिने र लिकमा आउने कुनै पनि सम्भावना नरहेको दाबी गरे ।

शिक्षकहरूको आन्दोलनप्रति सरकारले गरेको व्यवहारलाई उदाहरण दिँदै उनले शिक्षकहरूले भनेमा आफूहरू अहिले नै गएर समर्थन गर्ने र माग पुरा गरिदिने समेत बताए ।

‘आज देश सबै हिसाबले भद्रगोल र बर्बाद अवस्थामा छ । अव यिनीहरूबाट यो देश सच्चिने र लिकमा आउने कुनै सम्भावना छैन’, लिङ्देनले भने, ‘त्यसैले हामीले देशलाई लिकमा ल्याउन र हाम्रो जीवनकालमा देश बनाउन देशव्यापी रूपमा व्यापक जनदाव सिर्जना गर्नुपर्नेछ ।’ उनले प्रदेशस्तरीय कार्यक्रम सकेपछि काठमाडौँ केन्द्रित कार्यक्रम गर्न लागेको जानकारी गराउँदै नेताहरू नसच्चिएसम्म विश्राम नलिने र त्यसका लागि बालुवाटार घेरेर भातपानी बन्द गर्नसम्म पछि नपर्ने चेतावनी दिए ।

‘नसुध्रने हो भने हामी पनि गाली चलाउँछौ त भन्दिनँ तर बालुवाटार घेरेर भातपानी बन्द गर्न सक्छौ’, लिङ्देनले चेतावनी दिँदै भने, ‘आज राप्रपा बल्खु गयो भनेर कमजोरी नठान्नु । केपी ओलीजी, गृहमन्त्रीजी शान्ति र अहिंसालाई कमजोरी नठान्नु !’

अध्यक्ष लिङ्देनले शान्तिपूर्ण बाटोबाटै परिवर्तनका लागि हिँडेको भन्दै सत्ता सधैँभरि आफ्नो हातमा हुन्छ भनेर नसोच्न गणतन्त्र पक्षधर दलहरूलाई चुनौती दिए । ‘सत्ता सधैँभरि तपाईँको हातमा हुँदैन, जनता गोठको गाईबस्तु होइनन्’, प्रधानमन्त्री र गृहमन्त्रीको नाम लिँदै उनले भने, ‘जति दिन हाम्रा साथीहरूलाई थुन्नुहुन्छ यो जनमत दिन दुई गुणा रात चौगुना बढेर जान्छ । देशमा राजा चाहिन्छ भन्नु राज्यविरुद्धको अपराध हो ?’

दुर्गा प्रसाईँलाई प्रहरीले नै भगाएको आरोप लगाउँदै लिङ्देनले प्रहरी प्रमुख युवा संघको सहअध्यक्ष रहेको गम्भीर आरोप लगाए ।

‘अहिलेको प्रहरी प्रमुख त एमालेको युवा संघको सहअध्यक्ष पो रहेछ त । हामीले भेटेको खोका, अश्रुग्याँसका बोक्रा जहाँ एक्सपाइरी डेट २००८ लेखेको रहेछ,’ लिङ्देनले भने, ‘अनि त्यो प्रहरी प्रमुख एमालेको प्रतिनिधि भएर निर्लज्जतापूर्वक हामीले हानेको अश्रुग्याँस कसरी एक्सपाइरी हुन्छ भन्छ । प्रहरी प्रहरी भएर बस्नुपर्छ, कुनै राजनीतिक दलको भ्रातृ संगठन भएर बस्ने होइन ।’

चैत १५ गते राज्यका तर्फबाट हिंसा भड्काएको दाबी लिङ्देनको छ । ‘त्यो हिंसा राज्यका तर्फबाट भड्काइएको थियो । त्यो भन्न कुनै आपत्ति छैन’, लिङ्देनले शान्तिपूर्ण प्रदर्शन र दबाबबाट परिवर्तनको पक्षमा रहेको दोहोर्‍याए ।

खबरदारी सभालाई सम्बोधन गर्दै पूर्वअध्यक्ष पशुपति शमशेर राणाले मुलुक कुशासन र भ्रष्टाचारले ग्रस्त भएको टिप्पणी गरे ।

‘मुलुक कुशासन र भ्रष्टाचारले ग्रस्त छ । मुलुकमा सुशासन र इमान्दारिता चाहिन्छ’, राणाले भने, ‘अहिलेको सरकारले हाम्रा नेताहरूलाई नियन्त्रणमा लिएर क्रूर काम गरेको छ । तीन कुने घटनाको छानबिन गर्न निष्पक्ष आयोग गठन गरियोस् ।’

अर्का नेता डा. प्रकाशचन्द्र लोहनीले नेपालमा रावणहरूको शासन रहेको आरोप लगाए । उनले रावणहरूको शासनले नै देशलाई कमजोर बनाएकाले त्यसलाई मुक्त गर्नुपर्ने धारणा राखे ।

‘नेपालमा अहिले रावणहरूको शासन छ । रावण भनेको के हो ? रावण भनेको अहङ्कार र अरूको चिज मेरो भन्ने घमण्ड र सर्वसाधारणलाई उपेक्षा गर्ने प्रवृत्ति हो’, उनले भने, ‘रावण प्रवृत्तिका जो जो  राजनीतिज्ञहरू छन् उनीहरू यो राज्यको सम्पत्ति र ढुकुटीमा हामीले जे गरे पनि हुन्छ भन्छन् । जसले देशलाई कमजोर बनाइरहेको छ । त्यसैले यो रावण प्रवृत्तिलाई मास्नुपर्छ ।’

डा. लोहनीले देश बचाउन संविधानभित्र राजालाई समेत स्थान दिनुपर्ने भन्दै त्यसैका लागि राप्रपाले आन्दोलन गरिरहेकाले साथ दिन सबैलाई आग्रह गरे ।

नेता बुद्धिमान तामाङले पार्टीका नेताहरू धवलशमशेर राणा र रवीन्द्र मिश्रहरूले चैत १५ गतेको कार्यक्रममा ढुंगा हान्ने, आगो लगाउने र तोडफोड गर्ने काममा सरिक नभएको दाबी गरे ।

‘माननीय धवनलशमशेर के ढुंगा हान्ने, आगो लगाउने र पसल लुट्ने मान्छे हो ?’, प्रश्न गर्दै तामाङले भने,  ‘गाउँलाई सहर बनाउने र देश कसरी विकास गर्न सकिन्छ भनेर प्रयास गर्ने मान्छे हो उहाँ । नेपालगञ्जमा उहाँले नै विकास गर्नुभएको छ ।’

तामाङले राणा र रवीन्द्र मिश्रसहितका राप्रपाका नेता कार्यकर्ताहरूलाई सरकारले फसाउने षडयन्त्र गरेको भन्दै पक्राउ परेकाहरूलाई तत्काल रिहा नगरे र पेल्दै गए चुनावी प्रक्रिया त्यागेर विद्रोहको राजनीति गर्न पछि नपर्ने चेतावनी दिए ।

वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले अहिलेको जस्तो गणतन्त्र नेपाली जनतालाई नचाहिने बताए ।

‘यही हो गणतन्त्र हो ? यदि हो भने अव गणतन्त्र चाहिँदैन, नेपाली जनताले स्वीकार्दैनन्’, उनले राप्रपालाई शान्तिपूर्ण कार्यक्रम गर्न समेत बल्खु पुर्‍याएकोमा आपत्ति जनाए ।

उपाध्यक्ष रोशन कार्कीले गृहमन्त्रीको राजीनामा माग्दै आन्दोलन नरोकिने बताइन् । ‘राजालाई पुनर्स्थापना गर्ने होइन, राजालाई लिएर नारायणहिटीमा राख्छौँ । शक्तिशाली सरकार गठन गर्छौ’,कार्कीको भनाइ छ ।

वर्तमान सरकारलाई हत्याराको संज्ञा दिँदै उनले भनिन्,‘यसले राज्य आतंक फैलाएको छ । यो हत्यारा सरकार हो ।’

नेता दीपकबहादुर सिंहले सरकार नसुध्रिए बंगलादेश र श्रीलंकाको अवस्था हुने चेतावनी दिए ।

‘देश समाप्त हुने तरखरमा पुगेको छ । भ्रष्टाचारले चुर्लुम्म डुबेको छ’, सिंहले भने, ‘एक महिनाअघि राष्ट्र बैंकको गभर्नर नियुक्त गर्नुपर्नेमा गर्न सकेका छैनन्, यो नालायक सरकार हो भन्ने यसैबाट प्रमाणित भएको छ ।’

उनले सरकारलाई चेतावनी दिँदै भने, ‘सरकार सुध्रेन भने अव बंगलादेश र श्रीलंकाको अवस्था नेपाली जनताले ल्याउनेछन् ।’

केन्द्रीय सदस्य कुन्ती पोखरेलले राजसंस्था पुनर्स्थापना नभएसम्म आगामी ७ गतेदेखि सडकमै बस्ने, सडकमै खाने र सडकमै सुत्ने बताइन् ।

‘रगत तातेको छ । हाम्रा नेताहरू जेलमा छन् । तुरुन्तै निकालियोस् नेताहरूलाई । यो सुरुवात मात्र हो’, उनले भनिन, ‘राजतन्त्र पुनर्स्थापना नभएसम्म अव ७ गतेदेखि यही बस्छौ, यही खान्छौ यही सुत्छौ ।’ राप्रपाका अधिकांश नेताहरूले पक्राउ परेका आफ्ना नेताहरूलाई विना सर्त रिहाइ गर्नुपर्ने र राजासहितको व्यवस्थाका लागि गणतन्त्र पक्षधर दलहरू तयार हुनुपर्ने सन्देश दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप