बिहीबार, १८ वैशाख २०८२
ताजा लोकप्रिय

हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न [तस्बिरहरु]

आइतबार, ३१ चैत २०८१, १८ : २८
आइतबार, ३१ चैत २०८१

काठमाडौँ । काठमाडौँको हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ । गहना पोखरीमा टुँडाल देवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि जात्रा सम्पन्न भएको हो । 

१५ दिनसम्म चल्ने यो जात्रा काठमाडौँको ऐतिहासिक परंपरासमेत हो। यही जात्रालाई लिएर ‘कहीं नभएको जात्र हाँडीगाउँमा’ भन्ने परंपरासमेत बसेको छ। १५ दिने जात्राको आज मुख्य दिन हो। 
यो जात्रा राजा मानदेवको पालादेखि चल्दै आएको मानिन्छ। तत्कालीन समयमा टुँडालदेवीको पोखरीमा गहना हराएको थियो भन्ने मान्यता छ। यो पखरीलाई गहना पोखरीको रुपमा चिनिन्छ ।

गहनापोखरी किराँतकालबाटै चल्दै आएको गहना खोज्ने जात्राको केन्द्रको रूपमा पनि इतिहासकारले दाबी गर्ने गरेका छन् । आजको दिन खटमा टुँडालदेवी (जसलाई वैष्णवीदेवी पनि भनिन्छ) राखेर यही पोखरीमा तीनपटक घुमाइन्छ। यो जात्राको सञ्चालन नेवार समुदायका ज्यापूले गर्छन् ।  

नेपालभाषामा नरः (हाँडीगाउँ) मा तिसाः मालिगु जात्रा ( गहना खोज्ने जात्रा) र त्वरंः अजिमा (वैष्णवी टुँडालदेवी) को मूर्तिलाई खटमा राखेर तिसाः मालिगु पुखु (गहना पोखरी) मा भित्र डुबाएर परिक्रमा गराउने कथन रहेको छ । ल्हुती पुन्हीका दिन टुँडालदेवीको जात्रा सुरु हुन्छ। त्यसदिन मपता अजिमा (भाटभटेनी) को मूर्तिलाई पनि टुँडालदेवी ल्याउने गरिन्छ। त्यसको भोलिपल्ट प्रतिपदाका दिन गहना पोखरीमा गहना खोज्ने जात्रा हुन्छ ।

आमा टुँडालदेवीलाई भेट्न जाँदा छोरी भाटभटेनीले एक पोडेसँग आफ्नी आमाको अनैतिक सम्बन्ध रहेको थाहा पाउँछिन् । त्यसपछि रिसाएर फर्केकी भाटभटेनीको गहनाहरू उक्त पोखरीमा हराएको र सोही गहना खोज्ने परम्पराअन्तर्गत यो जात्रा हालसम्म जीवन्त रहँदै आएको बताइन्छ । 

अर्को किंवदन्ती र शीलालेख अनुसार पुरातत्वविद्हरू किराँत–लिच्छविकालमा काठमाडौँको राजधानी हाँडीगाउँ भएको र कैलाशकुट दरबारबाट सातौँ शताब्दीमा जारी गरिएको शीलालेखमा ‘अन्डिपीजात्रायाम’ भनेर लेखिएको छ। उक्त शीलालेखमा यो जात्रालाई दरबारले वार्षिक एक हजार पण (तत्कालीन समयको मुद्रा), २२ घडा, बिजोर गहना र लत्ताकपडा दिनुपर्ने उल्लेख छ । 

सन् १९८८ मा इटालियन पुरातत्वविद्ले हाँडीगाउँको सत्यनारायणमा उत्खनन गरे। ढुंगेधाराको टुटीमा ‘ओम अन्डिग्रामे..’ लेखेको भेटियो। यसबाट त्यो ठाउँको मौलिक नाम अन्डिग्राम भएको प्रस्ट हुन्छ।किराँतकालमा चाहिँ अन्डिप्रिङ थियो। लिच्छवि आएपछि ठाउँको नाम परिवर्तन गरेर ग्राम र नगर बनाइयो। कारण, उनीहरू संस्कृत प्रयोग गर्थे। अन्डी पछि अपभ्रंश हुँदै हाँडी बन्यो, ग्रामचाहिँ गाउँ ।

किराँतकालमा हरेक ठाउँमा फरक देवता हुन्थे। सोहीअनुसार जात्रा हुन्थे। कैलाशकुटको शीलालेखबाट यहाँ पहिलेबाटै जात्रा चलिरहेको प्रष्ट हुन्छ। अहिलेको गहना खोज्ने जात्रा त्यही ‘अन्डिप्रिङ’ भएको तर्क गरिन्छ । 

अर्को एक प्रसंगमा पुरातत्वविद्हरू भन्छन्– सातौँ शताब्दीमा चिनियाँ राजदूत वाङ हुयन चे नेपाल आएका थिए। नरेन्द्रदेवले हाँडीगाउँबाट राज्य सञ्चालन गरिरहेको समय थियो त्यो । नरेन्द्रदेवको मानमनितोबाट वाङ खुब प्रभावित भए। उनले स्वदेश फर्केर यात्रावृत्तान्तमा लेखे– ‘नरेन्द्रदेवले राजकीय र विशिष्ट पाहुनालाई कैलाशकुट दरबारको कौसीमा लगेर पोखरी देखाउँथे। पोखरीमा बेलाबेला अवलोकितेश्वर भगवानको श्रीपेच आउँछ । 

फलाम हाल्दियो भने सुन निस्कन्छ आदि भनेर बखान गर्थे भन्ने जनश्रृति रहेको छ तर हालसम्म यसको कुनै वैज्ञानिक पुष्टि हुन भने सकेको छैन ।

टुँडालदेवीको रथलाई हाँडीगाउँस्थित गहनापोखरीमा तीनपटक परिक्रममा गराइ टुँडालदेवीको जात्रा मनाइन्छ। किम्बदन्तीअनुसार टुँडालदेवी, गहना खोज्न पोखरीमा गएकाले उक्त पोखरीको नाम गहनापोखरी रहन गएको हो। त्यसैले टुँडालदेवीको गहना खोज्न रथलाई पोखरीभित्र लैजाने र महालक्ष्मीको रथ पोखरीबाहिर राखेर यो जात्रा मनाउने गरिन्छ ।

06-5

02-103-204-305-4

14-1315-1416-1517-1618-1719-1820-1921-2007-608-709-810-911-1012-1113-12

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप