बुधबार, १७ वैशाख २०८२
ताजा लोकप्रिय
क्षतिग्रस्त बीपी राजमार्ग पुनर्निर्माण

बीपी राजमार्गः डालाबेसी–बर्खेखोला प्याकेज जाइकाले डिजाइन गर्दै

मङ्गलबार, ०२ वैशाख २०८२, १७ : २०
मङ्गलबार, ०२ वैशाख २०८२

काठमाडौँ  । बीपी राजमार्गको डालाबेसी–बर्खेखोला’ करिब साढे पाँच किलोमिटर सडक पुनर्निर्माणका लागि जाइकाले डिजाइन थालेको छ ।

सरकारले चार वटा प्याकेज बनाएर निर्माण प्रक्रिया थालेको हो । त्यसमध्ये एउटा प्याकेज निर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले डिजाइन थालेको सडक विभागका इन्जिनियर शुभराज न्यौपानेले जानकारी दिए । 

‘अहिले यो प्याकेजमा डिजाइन गर्दैछ । हुन त हामीलाई आधिकारिक रूपमा जानकारी गराएको छैन । डिजाइन गरे पनि निर्माण गर्ने कि नगर्ने भन्नेमा अझै अन्योल छ ।’ डिजाइन गरे पनि निर्माण गर्नेबारे टुङ्गो लाग्न नसकेको उनको भनाइ छ । 

जाइकाको प्राविधिक र आर्थिक सहयोगमा निर्माण गरिएको यो राजमार्ग गत असोजको दोस्रो साता आएको बाढीले करिब २९ किलोमिटर ध्वस्त भएको थियो । बाढीले क्षति पुगेपछि जाइकाको टोलीले अध्ययनसमेत गरेको थियो । 

जाइकाले अध्ययन गरेपछि र पुनर्निर्माणमा चासो देखाएको भन्दै सरकारले यसमा तत्काल तदारुकता देखाएन । दसैंताका अस्थायी ट्रयाक खुलाएर राजमार्ग सञ्चालनमा ल्याइएको छ । 

यसका लागि सरकारले जाइकासँग पटक–पटक छलफल गर्‍यो । तर जाइकाले पुनर्निर्माण गर्नेबारे कुनै प्रतिक्रिया नदिएपछि अहिले सरकारले चार वटा प्याकेज छुट्याएर तीन वटाको ठेक्का आह्वान गरेको छ भने एउटा बाँकी छ । 

कुल क्षतिग्रस्त २९.५ किलोमिटर सडक दुई लेनमा विस्तारसहित पुनर्निर्माण गर्नेगरी तयारी थालेको छ । अहिले चारमध्ये तीन वटा प्याकेजको ठेक्का खोलिएको छ । उक्त सडक पुनर्निर्माणका लागि सिन्धुलीतर्फ एउटा र काभ्रेतर्फ तीन वटा प्याकेजमा विभाजन गरी ठेक्का आह्वान सुरु गरिएको हो । 

सबै प्याकेजमा ठेक्का आह्वान गरिएको मितिबाट ३० दिनभित्र निर्माण कम्पनीले आवेदन दिनुपर्ने उल्लेख छ । 

गत फागुन २८ गते पहिलो प्याकेज सिन्धुलीतर्फको नेपालथोक–बर्खेखोला खण्डको ठेक्का गरिएको हो, जसको लम्बाई करिब पाँच किलोमिटर छ । त्यस्तै दोस्रो प्याकेज काभ्रे खण्डको डालाबेसीदेखि चार सयबेसीसम्मको ठेक्का आह्वान भएको छ । साढे ८ किलोमिटर खण्डमा चैत ५ मा ठेक्का आह्वान भएको हो ।

चारसय बेसीदेखि भकुन्डेबेसीको ११ किलोमिटर खण्डको चैत ७ गते ठेक्का आह्वान भइसकेको छ । साथै जाइकाले निर्माण गर्न चासो देखाएको हुनाले अब बाँकी रहेको एउटा प्याकेज जाइकाले निर्माण गर्नेबारे छलफल भइरहेको सडक विभागले जनाएको छ । डालाबेसीदेखि बर्खेखोलासम्मको करिब साढे ५ किलोमिटर दूरीको अन्तिम प्याकेज जाइकाले डिजाइन गरिरहेको जनाइएको छ । 

बाढीले क्षतिग्रस्त यो राजमार्गमा अहिले तत्कालका लागि खोलाको बगरैबगर बनाएको वैकल्पिक बाटोमा सवारीसाधन सञ्चालन भइरहेको छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ चौकीडाँडाबाट सिन्धुलीको सिमाना बर्खेखोलासम्म अहिले वैकल्पिक सडक बनाएर खोलाको बगरबाट सवारी सञ्चालन हुँदै आएको छ ।

काठमाडौँबाट पूर्वीतराई जाने छोटो दूरीको यात्रा बीपी राजमार्ग सबैको छनोटको गन्तव्य हो । तर बर्खायाम नजिकिएसँगै ती सडकमा सवारी सञ्चालन गर्न सकिने अवस्था नभएका कारण सडक डिभिजन भक्तपुर त्यसको विकल्पमा आउँदो बर्खायामलाई मध्यनजर गर्दै खोलाको सहतभन्दा माथि उठाएर वैकल्पिक सडक निर्माण गर्ने क्रममा छ । 

जसअन्तर्गत चौकीडाँडास्थित धेरै क्षतिग्रस्त बनेको खण्डमा खोलाको सतहदेखि माथि उठाएर वैकल्पिक बाटो निर्माणको काम भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप