पहिलोपटक मनाइयो राष्ट्रिय याक दिवस
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले याक पालनले हिमाली समुदायको आयआर्जन, खाद्य र पोषण सुरक्षा, प्राङ्गारिक खेती तथा वातावरणीय सन्तुलनमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको बताएका छन् ।
प्रथम राष्ट्रिय याक दिवसको अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री अधिकारीले भौगोलिक चुनौती, युवा पुस्ताको बसाइसराई, चरन क्षेत्रको अभाव, प्रजननसम्बन्धी समस्या, जङ्गली जनावरको आक्रमण, जलवायु परिवर्तन जस्ता कारणले नेपालका याक चौँरीको सङ्ख्या घट्दो क्रममा रहेकाले याकचौँरी पालनको संरक्षण र प्रवर्द्धनका लागि सङ्गठित प्रयास आवश्यक रहेको बताए ।
मन्त्री अधिकारीले याक चौँरीको संरक्षण र दिगो उपयोगमार्फत हिमाली क्षेत्रको खाद्य सुरक्षा, जलवायु अनुकूलन, जैविक विविधताको संरक्षण र ग्रामीण जीवनशैलीको सशक्तिकरण नै अबको साझा लक्ष्य रहेको उनले उल्लेख गरे । मन्त्री अधिकारीले हिमाली जनजीवनको अविभाज्य अङ्ग बनेका याक चौंरीलाई संरक्षण, सुधार र व्यावसायिक रूपान्तरणमार्फत नवजीवन दिनु साझा उत्तरदायित्व रहेको कुरामा जोड दिए ।
मन्त्रालयको अग्रसरतामा सरकारले याक र चौँरीको महत्वलाई आत्मसात् गर्दै प्रत्येक वैशाख ७ गतेको दिनलाई राष्ट्रिय याक दिवसको रूपमा मनाउने निर्णय गरेको उल्लेख गर्दै मन्त्री अधिकारीले याकको संरक्षण एवं प्रवर्द्धनका लागि सोलुखुम्बुको स्याङ्बोचेमा याक आनुवंशिक स्रोत केन्द्र सञ्चालनमा ल्याइएको र उक्त केन्द्रले याकको शुद्ध नस्ल संरक्षण, आनुवंशिक सुधार, प्रविधि विस्तार र प्रसारमा महत्त्वपूर्ण कामको सुरुवात गरेको बताए । मन्त्री अधिकारीले आगामी दिनमा याक चौंरीको दिगो विकास सुनिश्चित गर्न मन्त्रालय प्रतिबद्ध रहेको पनि उल्लेख गरे ।
‘याक चौँरी प्रवर्द्धन हिमाली जीवन, संस्कृति र पर्यावरण संरक्षण’ भन्ने मूल नाराका साथ पहिलो पटक मनाइएको राष्ट्रिय याक दिवसका अवसरमा याक पालक कृषकहरूलाई पनि सम्मान गरिएको छ ।
याकलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले संरक्षित वन्यजन्तुको सूचीमा उल्लेख गरेको छ । नेपालमा मात्र उत्पादन हुने विश्व प्रसिद्ध चिज ओमेगा- ३ फयाट्टी एसिडको स्रोत रहेको, चौँरीको दही प्रसिद्ध दुग्ध परिकारको रूपमा रहेको, चौँरीको दूधबाट बनेको छुर्पी हिमाली क्षेत्रका किसानहरूको आम्दानीको प्रमुख स्रोतको रूपमा रहेको र हिमाली क्षेत्रको सभ्यताको रूपमा समेत याक र चौँरी रहेकोले त्यसको संरक्षण गर्नुपर्ने उनीहरूले जोड दिएका छन् ।
याकको छाला र पुच्छरबाट बन्ने वस्तुहरू निर्यातको प्रचुर सम्भावना बोकेका उत्पादन हुन् । याक पर्यटन प्रवर्द्धनमा पनि आकर्षणको केन्द्र बन्ने सम्भावना रहेको छ । नेपालको हिमाली क्षेत्रमा याक मार्फत सामान ढुवानीदेखि खेतबारी जोत्नेसम्मका कार्यहरू हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण