प्रेमिकाको गम्भीर आरोपपछि फ्रान्सका चर्चित पूर्व फुटबलरमाथि प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौँ । शारीरिक यातना र यौन हिंसाको आरोपमा फ्रान्सेली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी दिमित्री पाएटमाथि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।
पूर्वप्रेमिका लारिसा फेरारीले शारीरिक यातना दिएको र यौन हिंसा गरेको भन्दै दिमित्रीविरुद्ध उजुरी दिएकी थिइन् ।
३८ वर्षीय दिमित्री आफ्नो समयका चर्चित आक्रामक मिडफिल्डर हुन् । उनीमाथि ब्राजिलको प्रहरीले अनुसन्धान अगाडि बढाएको समाचारमा जनाइएको छ ।
उनले इङ्गल्यान्डको वेस्ट हाम युनाइटेड, फ्रान्सको मार्सेलीलगायतका चर्चित क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए ।
पूर्वप्रेमिका लारिसाले दिमित्रीमाथि यौनजन्य गतिविधि रेकर्ड गर्न बाध्य पारेको आरोप लगाएकी छन् । लारिसाले दिमित्रीमाथि आफ्नै पिसाब पिउन र भुईँ चाट्न बाध्य पारेको आरोप पनि लगाएकी छन् ।
दिमित्रीले आफ्नो कानुन व्यवसायीमाथि आक्रमण गरेको आरोप पनि दिमित्रीमाथि लगाएकी छन् । लारिसाले गरेको यस्तो आश्चर्यजनक दाबीहरूमाथि अहिले ब्राजिलियन प्रहरीले अनुसन्धान सुरु गरेको समाचारमा जनाइएको छ दुई दशकअघि आफ्नी श्रीमतीसँग सम्बन्ध विच्छेद गरेको दिमित्री हाल ब्राजिलियन क्लब भास्को डी गामाबाट व्यावसायिक फुटबल खेल्छन् ।
लारिसाले उजुरीमा दिमित्रीले आफूमाथि शारीरिक, नैतिक, मनोवैज्ञानिक र यौन हिंसा गरेको आरोप लगाएकी छन् । अन्य महिलाले यस्तो चरम यातना भोग्नु नपरोस् भनेर पनि आफू दिमित्रीविरुद्ध उजुरी गर्न बाध्य भएको उनले बताएकी छन् ।
‘उ .(दिमित्री) बिरामी राक्षस हो । उसले मलाई यति धेरै यातना दियो कि म अझै डराएकी छु । यस्तो घटना अन्य महिलाले भोग्नु नपरोस् भनेर पनि म यो लडाइँ लडिरहेकी छु,’ द सनसँगको कुराकानीमा लारिसाले भनेकी छन् । उनले करिब सात महिना दिमित्रीसँग प्रेम सम्बन्धमा रहेको बताएकी छन् ।
लारिसाले सुरुमा आफू र दिमित्रीबिचको सम्बन्ध सुमधुर रहे पनि बिस्तारै उनको व्यवहारमा परिवर्तन आएको बताएकी छन् । दिमित्रीले सन् २०१० देखि सन् २०१८ सम्म फ्रान्सको राष्ट्रिय टोलीबाट खेलेका थिए ।
‘सुरुमा हाम्रो सम्बन्ध निकै राम्रो थियो । म उसको खेल हेर्न रङ्गशाला जान्थेँ । उ पनि मलाई माया गर्थ्यो । तर, अचानक उसको व्यवहारमा परिवर्तन आउन थाल्यो र उ राक्षस बन्न पुग्यो,’ लारिसाले भनेकी छन् ।