आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय
इन्डियन प्रिमियर लिग क्रिकेटमा आज

सुनौलो इतिहास बोकेको कोलकाता र लयमा देखिएको गुजरातबिच सिजनको पहिलो भिडन्त

सोमबार, ०८ वैशाख २०८२, ०९ : ४६
सोमबार, ०८ वैशाख २०८२

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा सोमबार साविक विजेता कोलकाता नाइट राइडर्स र पूर्वविजेता गुजरात टाइटन्सबिच भिडन्त हुँदैछ । खेल कोलकाताको घरेलु मैदान ईडन गार्डन्समा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ । 

आईपीएलको जारी संस्करणमा खेल्न लागिएको यो ३९औँ खेल हो । जारी सिजनको आईपीएलमा यी दुवै टोली पहिलो पटक आपसमा भिड्न लागेका हुन् । यो सिजन यी दुवै टोलीले आफ्नो आठौँ खेल खेल्न लागेका हुन् । अहिले कोलकाताको तुलनामा गुजरातको अवस्था निकै बलियो देखिन्छ । 

कोलकाता नाइट राइडर्सले हालसम्म तीनपटक आईपीएलको उपाधि जितेको छ । सन् २०१२ मा पहिलो पटक उपाधि जितेको थियो । त्यतिबेला कोलकाताले फाइनलमा चेन्नई सुपर किङ्सलाई पाँच विकेटले हराएको थियो । 

कोलकाताले दोस्रो उपाधि सन् २०१४ मा जितेको थियो । फाइनलमा कोलकाताले पञ्जाब किङ्सलाई तीन विकेटले हराएको थियो । कोलकाताले तेस्रो उपाधि सन् २०२४ मा जितेको थियो । कोलकाताले अघिल्लो संस्करणको फाइनलमा सनराइजर्स हैदराबादलाई आठ विकेटले हराएको थियो ।

गुजरात टाइटन्सले भने हालसम्म एकपटक आईपीएलको उपाधि चुमेको छ । गुजरातले सन् २०२२ मा उपाधि जितेको थियो । त्यतिबेला फाइनलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई सात विकेटले हराएको थियो । 

Kolkata

  • सबल गुजरात र संघर्षरत कोलकाता

आईपीएलको जारी संस्करणमा गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्स फरक परिस्थितमा रहेका छन् । यी दुवै टोलीले हालसम्म सात–सात खेल खेलिसकेका छन् । प्ले–अफ चरणमा पुग्न गुजरात बढी आशावादी देखिन्छ भने कोलकाता दबाबमा छ । 

गुजरात तालिकाको पहिलो र कोलकाता सातौँ स्थानमा आसीन छन् । १० अंक बटुलेको गुजरातले यसअघि खेलेको सातमध्ये पाँच खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको छ । ६ अंक जोडेको कोलकाताले भने तीन खेलमा जित र चार खेलमा हारको नतिजा निकालेको छ ।

त्यसैले सोमबारको खेल यी दुवै टोलीका लागि उत्तिकै महत्त्वपूर्ण छ । गुजरात टाइटन्स छैटौँ जित हात पार्दै प्ले–अफ चरण प्रवेशको सम्भावना अझ बलियो बनाउन चाहन्छ । अर्कोतिर, कोलकाता पनि चौथो जित आत्मसात् गर्दै प्ले–अफ चरण प्रवेशको सम्भावना जीवित राख्न चाहन्छ । 

Gujrat

  • आपसमा पाँचौँ भिडन्त

आईपीएलको इतिहासमा सोमबार कोलकाता नाइट राइडर्स र गुजरात टाइटन्स पाँचौँ पटक आपसमा भिड्न लागेका हुन् । यसअघि यी दुई टोली चारपटक आमने–सामने भइसकेका छन् । त्यसमध्ये दुई खेलमा गुजरात र एक खेलमा कोलकाता विजयी भएका छन् । एक खेल भने वर्षाका कारण अनिर्णीत रूपमा सकिएको छ । 

  • कोलकाताको सर्वाधिक रन कप्तान रहाणेको नाममा

जारी सिजनको आईपीएलमा कोलकाता नाइट राइडर्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान कप्तान अजिनक्या रहाणे हुन् । उनले हालसम्म खेलिएको सात खेलमा कुल दुई सय २१ रन बनाइसकेका छन् । 

ajinkya rahane

कप्तान रहाणेले रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्धको खेलमा केवल ३१ बलमा ५६ रन बनाएका थिए । कोलकाताका लागि सर्वाधिक विकेट लिने बलर भने वरुण चक्रवर्ती हुन् । उनले सात खेलमा कुल १० विकेट लिएका छन् । 

  • लयमा छन् गुजरातका साई सुदर्शन

आईपीएलको १८औँ संस्करणमा गुजरात टाइटन्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान साई सुदर्शन हुन् । उनले हालसम्म खेलिएको सात खेलमा कुद तीन सय ६५ रन बनाइसकेका छन् । उनले चार अर्धशतक पनि बनाएका छन् । 

sai sudarshan

जारी सिजनको आईपीएलमा हालसम्म सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा पनि उनी दोस्रो स्थानमा छन् । गुजरातका लागि सर्वाधिक विकेट लिने बलर भने प्रसिद्ध कृष्णा हुन् । उनले सात खेलमा कुल १४ विकेट लिइसकेका छन् । पञ्जाबविरुद्ध उनले ३० रन खर्चिएर तीन विकेट लिएका थिए ।

  • ब्याट्सम्यानका लागि उपयुक्त पिच

गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबिच सोमबारको खेल हुने ईडन गार्डन्स स्टेडियमको पिच ब्याट्सम्यानका लागि निकै उपयुक्त मानिन्छ । त्यसैले यो स्टेडियममा बढी नै रन बन्ने गरेको छ । यो स्टेडियममा हालसम्म आईपीएलको कुल ९६ खेल खेलिएको छ । 

त्यसमध्ये ४० खेलमा पहिले ब्याटिङ गर्ने टोलीले जित हात पारेका छन् । जवाफी ब्याटिङ गर्ने टोलीले भने ५६ खेलमा सफलता हात पारेका छन् । यो स्टेडियममा बनेको उच्च स्कोर भने दुई विकेट गुमाएर दुई सय ६२ रन हो । यो स्कोर अघिल्लो सिजन पञ्जाब किङ्सले कोलकाताविरुद्ध बनाएको थियो । 

  • छैन वर्षाका सम्भावना

​​​​​​​

कोलकाता नाइट राइडर्स र गुजरात टाइटन्सबिच खेल हुने दिन सोमबार कोलकातामा वर्षाको कुनै सम्भावना नरहेको त्यहाँको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दिनभर चर्को घाम लाग्ने बताइएको छ । तापक्रम भने २७ देखि ३६ डिग्री सेल्सियसको बिचमा रहनेछ । 

  • सम्भावित टोली 

गुजरात टाइटन्स : शुभमन गिल (कप्तान), साई सुदर्शन, जस बटलर, शाहरुख खान, राशिद खान, राहुल तेवतिया, अरशद खान, साई किशोर, मोहम्मद सिराज, प्रसिद्ध कृष्णा, इशान्त शर्मा र शेरफन रदरफोर्ड । 

कोलकाता नाइट राइडर्स : अजिनक्या रहाणे (कप्तान), क्विन्टन डी काक (विकेटकिपर), सुनिल नारिन, वेंकटेश ऐयर, आन्द्रे रसेल, रिंकु सिंह, रमनदीप सिंह, हर्षित राणा, वैभव अरोडा, वरुण चक्रवर्ती, एनरिक नोर्जे र अंगकृष रघुवंशी ।

ICC CWC League 2, 2023-27 ICC CWC League 2, 2023-27

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप