बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

टाढा मनहरू, नजिकै घरहरू !

सोमबार, ०८ वैशाख २०८२, १० : ५३
सोमबार, ०८ वैशाख २०८२

काठमाडौँको एउटा साँघुरो गल्लीमा एकजना वृद्ध आमाले नजिकैको मन्दिरमा लाइनमा लागेका महिला समूहसँग हात जोड्दै भजन गाइरहेकी थिइन् । उनका आँखामा एक किसिमको शान्ति थियो । त्यो शान्ति जुन उनको आलिशान घरमा देखिन्न । यो मात्र एउटा दृश्य थिएन, यो थियो सामाजिक सहभागितामार्फत प्राप्त भएको आन्तरिक सन्तुष्टिको प्रतिविम्ब !

डिल्लीबजारको अग्लो टावरमा बस्दै आएका ८१ वर्षीय ‘बा’ बिहान उदाउने सूर्यलाई हेर्दै भन्छन्, ‘यो सूर्य त पहिलेको जस्तै छ, तर मान्छेहरू बदलिएका छन् ।’ सहरको एक ठुलो आवासीय टावरमा उनी एक्लै बस्छन् । महँगो फ्ल्याटबाट मन बहलाउन उनी कालिकास्थान सडकको किनारमा रहेको चिया पसलमा आउँछन् । किनकि दर्जनौँ परिवार वरिपरि बसेर पनि मनका कुरा गर्ने मानिस कोही छैनन् । ‘बा’को जीवनलाई सुरक्षा गेट, अनुमतिपत्र र सीसीटीभीले कैद गरेको छ । ‘बा’को जीवन सुरक्षित त छ तर समाजभित्रै समाजविहीन भएको छ । आधुनिक सहर संस्कृति, फ्ल्याटको जीवनशैली र डिजिटल सञ्जालले सामाजिक सहभागिता र सामूहिकता हराउँदै आएकामा ‘बा’ चिन्तित छन् ।

सामाजिक सहभागिता भन्नाले व्यक्तिले आफ्ना परिवार, छिमेकी, संस्था, समुदाय वा धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यमा सक्रिय रूपमा सहभागी हुने अभ्यासलाई जनाइन्छ । यसले सामाजिक सम्बन्ध मजबुत पार्छ, मानवीय स्नेह बढाउँछ र एकताको भावना निर्माण गर्छ । पछिल्लो समयमा नेपाली समाज सहरतिर हुर्रिन थालेको छ । आफ्नो थातथलो छोड्दा सफल भइन्छ भन्ने भ्रम बढिरहेको छ । आफू जन्मे–हुर्केको गाउँ छोडी सहरमा बसाइँ सर्ने, त्यतै घर या फ्ल्याट जोड्ने, त्यही ऋण तिर्न विदेश भासिने, बुढा भएका बा–आमालाई सहरमा बस्न बाध्य बनाउने कुरा अहिले सामान्य भएको छ । यसले सामाजिक सहभागिता हराउँदै गएको छ । 

आफू जन्मे–हुर्केको गाउँ छोडी सहरमा बसाइँ सर्ने, त्यतै घर या फ्ल्याट जोड्ने, त्यही ऋण तिर्न विदेश भासिने, बुढा भएका बा–आमालाई सहरमा बस्न बाध्य बनाउने कुरा अहिले सामान्य भएको छ । यसले सामाजिक सहभागिता हराउँदै गएको छ ।

नेपाली समाजको परम्परागत ढाँचामा सहभागिता केवल उत्सवमा सीमित थिएन; त्यो खेतीपाती, श्रमदान, धर्मकर्म, विवाह, न्वारान संस्कार, मृत्युपछि गरिने कार्यहरू आदि सबैमा गहिरो रूपमा समावेश थियो । यस्ता सहभागिताको उद्देश्य मात्र कार्यसिद्धि होइन, समूहमा बस्ने, अरूको पीडामा सहभागी हुने र साझा खुसी बाँड्ने प्रक्रिया पनि थियो । नेपाली समाज परम्परादेखि नै सामूहिक जीवनशैलीमा आधारित छ । गाउँघरका मेलापात, पञ्चायती छलफल, जात्रा–पर्व, पूजाआजा, देवी–देवताको पूजा, चोकका आमा समूह, गुठी प्रणाली, टोल सुधार समिति आदिले सामाजिक सहभागिताको नमुना प्रस्तुत गर्छन् ।

राजधानी तथा अन्य सहरमा विकास हुँदै आएका फ्ल्याट संस्कृतिमा भौतिक सुख र सुविधा रामै्र छ । २४सै घण्टा पानी, सुरक्षा, लिफ्ट, पार्किङ, सीसीटीभीको सुरक्षा निगरानी । तर यो भौतिक सुखसँगै यसले मानिसलाई एक्ल्याउँदै आएको छ । फ्ल्याट नम्बर २०१ मा बस्ने जोडीलाई १०१ नम्बरका वृद्धको मृत्युबारे जानकारी हुँदैन । छिमेकमा मानिस मरेको कुरा सूचना पाटी हेरेर थाहा लाग्छ । एकापसमा अन्तक्र्रिया शून्यतातिर गइरहेको छ । 

आफूलाई नातिनीले फेसबुक चलाउन सिकाएको बताउने ७२ वर्षका श्यामलाल घरमा आपसी संवाद शून्य भएको बताउनुहुन्छ । ‘घरका सबैजना हातमा मोबाइल बोकेर कोठा–कोठामा बस्छन् । कसको कोठामा गएर कोसँग कुरा गर्ने ? कुरै हुँदैन ।’ मुहारमा हलुका मुस्कान ल्याउँदै काका भन्छन्, ‘कुरा त होइन बाबु कामै परेका प्रश्नोत्तर चल्छ । सिधै सोध्ने सिधै जवाफ लिने ।’ ‘बा’ या श्याम काका मात्र होइन, अहिलेको नयाँ पुस्ता पनि संवाद कम गर्न थालेका छन् । सामाजिक सञ्जालमा सन्देश पठाउने प्रचलन बढेको छ । 
सन्देश पठाउन सजिलो छ, मन जोड्न गाह्रो । फेसबुक, इन्स्टाग्राम, ट्विटरले व्यक्ति बिचका भौतिक दूरी हटाएको भए पनि आत्मिक दूरी बढाएको छ । सन्देशले भावना बोल्दैन, केवल सूचना दिन्छ, जसले गर्दा मानिस–मानिसबिचको भावनात्मक सम्बन्ध घट्दै आएको छ । आपसी सहभागिता र सामूहिकता हराउँदा समाजका अग्रजहरूमा मानसिक तनावले बास गर्न थालेको छ । जीवन सम्पन्न भए पनि सन्तुष्ट हुन सकेको छैन । 

अन्तर्राष्ट्रिय स्तरका विभिन्न अनुसन्धानले पनि सामाजिक सहभागिता र जीवन–सन्तुष्टिबिचको सम्बन्ध प्रमाणित गरेको पाइन्छ । ‘हार्वड स्टडी अफ एडल्ट डेभलपमेन्ट’को लामो अध्ययनले सशक्त सामाजिक सम्बन्ध भएका मानिस दीर्घायु, मानसिक सन्तुलित र आत्मसन्तुष्ट देखिएको प्रमाणित गरेको छ । त्यसरी नै ‘वल्र्ड हेप्पिनेस रिपोर्ट, २०२३’ मा सामूहिक जीवनशैली भएका समाजहरूमा जीवनको सन्तुष्टि उच्च देखिएको उल्लेख छ । 

यी अनुसन्धानहरू नेपाली परम्परासँग मेल खान्छन् । हाम्रो समाजमा बुढापाका मानिस प्रायः परिवारको अगुवाइ, पूजापाठ, नीति–नियमको सल्लाहकारको भूमिकामा रहन्छन् । उनीहरू सक्रिय रहन्छन्, निर्णयमा सहभागी हुन्छन् भने उनीहरूको आत्ममूल्य र खुसी बढाउँछ । घरको मूल थलोमा वृद्ध बुबा–आमालाई राख्ने परम्परा, उनीहरूबाट मन्त्र सिक्ने, घरधुरीका निर्णयमा परामर्श लिने कार्यहरूले उनीहरूको जीवनलाई अर्थ र सम्मान दिन्थ्यो । उनीहरू केवल जीवन बाँचिरहेका हुँदैनथे, जीवनको ज्ञान बाँडिरहेका हुन्थे । जसको निरन्तरता जरुरी छ ।

सहरमा व्यस्त जीवनशैलीले सामाजिक सहभागिता घटाइरहेको भए पनि सम्भावना अझै बाँकी छ । हालसालै नेपालमा सुरु भएका पुस्तकालय, आमा समूह, टोल सुधार समिति, मन्दिर आधारित योग तथा सत्सङ्ग जस्ता कार्यक्रमले सामाजिक सम्बन्ध पुनः स्थापना गर्ने वातावरण बनाइरहेका छन् । पुराना पुस्ताको ज्ञान, मौलिक अनुभव, धर्म तथा संस्कृतिका आयामलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने अभियानमा जुट्नु अनिवार्य भएको छ । सांस्कृतिक पुनर्जागरण र सामूहिक बौद्धिकता निर्माण गर्न परम्परागत सहभागितालाई आधुनिक परिवेश अनुकूल बनाएर अघि बढाउन जरुरी छ । 

बुढेसकालमा एक्लोपन, उपेक्षा वा निष्क्रियता जीवन सन्तुष्टिका सबैभन्दा ठुला शत्रु हुन्, तर हाम्रो परम्परागत संरचनामा यो अवस्था कम देखिन्थ्यो । सहरमा पनि सामूहिकता सम्भव छ । नयाँ पुस्ता र पुराना पुस्ताबिचको अन्तर घटाउन सकिएन भने यसले समाजलाई छिन्नभिन्न बनाउँछ । सूचना, प्रविधिको विकासलाई सदुपयोग गरेर पुराना पुस्ताको अथाह ज्ञान र अनुभवलाई नयाँ पुस्तामा लैजान सकिन्छ । त्यसका लागि समुदायमा सामूहिक कार्यक्रम सञ्चालन गर्न सकिन्छ । बच्चादेखि वृद्धसम्म एकै ठाउँ जुट्ने उत्सव, सामूहिक भोज, कथा आदि कार्यक्रम चलाउन सकिन्छ । हप्तामा एक दिन मात्र भए पनि सामूहिक भजन वा शारीरिक योग या भावना साटासाट कार्यक्रम आकर्षक बन्न सक्छ । 
ज्येष्ठ सदस्यहरू नै परिवारका धरोहर हुन् । उनीहरूको योगदानले नै आजको समाज यहाँसम्म आएको हो । त्यसैले उहाँहरूको सम्मानजनक भूमिका सिर्जना गर्ने वातावरण तयार पार्न सकिन्छ । परिवारमा पनि प्रत्येक साता एक दिन एकै घण्टा मात्र भए पनि सबै सदस्य ‘मोबाइल’ भएर सँगै बस्ने अभियान चलाउन सकिन्छ । दैनिक एक घण्टालाई परिवार घण्टाको रूपमा विद्युतीय यन्त्रविना संवाद चलाउने बानीको विकास गर्न सकिन्छ । आजको डिजिटल युगमा पनि हामीले परम्पराका ती समाज केन्द्रित अभ्यासलाई केवल सम्झनु मात्र होइन, अभ्यासमा ल्याउन आवश्यक छ । किनभने साझा सहभागिताविना सन्तुष्टि अधुरो हुन्छ । घरहरू त नजिक छन्, हामी सबै मिलेर मनहरू नजिक ल्याउन लाग्ने कि !

(लेखक वास्तुविज्ञानका सञ्चालक दक्षिण एसियाली ज्योतिष महासंघका महासचिव हुन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरतमणि ज्ञवाली
भरतमणि ज्ञवाली
लेखकबाट थप