‘भारतीय प्रधानमन्त्रीले नेपालका धार्मिक स्थलको प्रचार गर्नुहुन्छ, हाम्रा प्रधानमन्त्रीहरूलाई मतलब छैन’
धनुषाा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाल हिन्दु धर्मावलम्बीहरूको तपोभूमि भएपनि सरकारले प्रचार गर्न नसकेको बताएका छन् ।
मंगलबार जनकपुरमा आयोजित नेपालको समृद्धिमा भारतको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले नेपालको परिचय दिलाउनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपति, लुम्बिनी, मुक्तिनाथ, जनकपुरधाममा गएर ध्यान गर्ने र प्रचार प्रसार गरिदिनुभएको तर नेपालकै प्रधानमन्त्रीहरूले चासो नदिने गरेको उल्लेख गरेका हुन् ।
उनले नेपालका धामहरूको प्रचार प्रसार गर्ने हो भने भारतबाट बर्सेनि ठुलो संख्यामा धार्मिक पर्यटकहरू भित्र्याउन सकिने बताए । पशुपतिनाथमा चढाएको जलहरिको विषयमा नेपालीहरू आलोचना गरेर बस्ने गरेको र त्यसले अनास्था फैलिएको उनको भनाइ छ ।
उनले भने, ‘भूमिका खोज्दै गर्दा पहिला आफ्नो भूमिकाको पहिचान गर्ने की छिमेकीको भूमिका खोज्ने हो ? भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पशुपतिनाथमा आएर पूजा गर्नुहुन्छ, तर हामी त्यही पशुपतिनाथको जलहरिको विषयमा झगडा गरिरहेका हुन्छौँ । हामीले आस्था जगायौँ की अनास्था फैल्यायौँ । भारतीय प्रधानमन्त्री पशुपतिनाथमा मात्र नभइ जानकीधाममा पनि आउनुभएको छ । मुक्तिनाथ धाममा गएर पूजा गर्नुहुन्छ, लुम्बिनीमा गएर घण्टौँ ध्यान गर्नुहुन्छ । तर हाम्रो प्रधानमन्त्रीले ध्यान गरेको कुरा कहिल्यै सुन्नुभएको छ । कहिल्यै समाचारमा आएको छ ? ताप्के नतातिएपछि बिँड तातिनुपर्छ भन्ने कुरा कहाँको हो यो । ताप्के तातिनुपर्यो नि त हामी । झन्डै डेढ अर्ब जनसंख्या भएको भारतमा बहुसंख्यक छन् । हिन्दु धर्मका लागि नेपाल तपोभूमि हो । तपोभूमिको परिचय दिलाउनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कहिले पशुपति, कहिले मुक्तिनाथ धाम, कहिले लुम्बिनी, कहिले जानकीधाममा देखिनुहुन्छ, तर हामी कहाँ छौँ ? ’
उनले सरकारले भारतीय सेनामा नेपालीहरूलाई भर्ती हुनबाट रोक्दा रुस–युक्रेन लगायतका देशहरूमा नेपालीहरू सेनामा भर्ती भएर जीवन कटाउन बाध्य हुनुपरेको जिकिर गरे । उपसभापति गुरुङले भने, ‘हामीले भारतीय सेनामा भर्ती रोक्यौँ । तर मान्छेले खोज्दै जाँदा बाँच्नका लागि कतिसम्म गर्छ भन्ने कुरा त युक्रेन र रसियाको युद्धमा नेपालीहरू भर्ती भएर होमिएको कथा र व्यथा सुन्दा पनि त हामीलाई स्पष्ट हुन्छ नि । हामी नेपालीहरूले अभावमा आफूलाई बाच्नका लागि कहाँसम्म पुर्याउने गर्दछौँ भन्ने कुरा ।
उपसभापति गुरुङले छिमेकीसँग प्रगाढ सम्बन्ध राखेर अघि बढ्न जरुरी रहेको बताए । उनले आफूले केही नगर्ने र अरूले सबै गरिदिनुपर्ने सोच राखेर हिँड्न नहुने जिकिर गरे । उनले नेतृत्वमा बसेकाहरूले आफ्नो भूमिका सोच्नुपर्ने र मात्रै नेपालको समृद्धिमा भारतको भूमिकाका बारेमा छलफल गर्न उचित हुने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण