शुक्रबार, १९ वैशाख २०८२
ताजा लोकप्रिय

आउट नै नभई क्रिज छाडेर पेभेलियन फर्किएपछि ईशान किशनको चर्को आलोचना

बिहीबार, ११ वैशाख २०८२, १० : ०१
बिहीबार, ११ वैशाख २०८२

हैदराबाद । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा सनराइजर्स हैदराबादको प्रदर्शन बिर्सनलायक देखिन्छ । हालसम्म आठ खेल खेलेको हैदराबादले केवल दुई खेलमा जित हात पार्न सकेको छ । ६ खेलमा पराजित भएको हैदराबाद चार अंकसहित तालिकाको नवौँ स्थानमा आसीन छ ।

आफ्नो पछिल्लो खेलमा पनि हैदराबाद पराजित भएको छ । बुधबार राति खेलिएको खेलमा हैदराबादलाई मुम्बई इन्डियन्सले सात विकेटले हराएको हो । यो हारपछि पूर्वविजेता हैदराबाद प्ले–अफ चरणमा पुग्ने सम्भावना पनि निकै कम देखिन्छ । 

त्यसमाथि, मुम्बईविरुद्धको खेलमा हैदराबादका एक ब्याट्सम्यानले देखाएको व्यवहारलाई लिएर अहिले सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ । घरेलु मैदानमा खेलिएको उक्त खेलमा टोलीका प्रभावशाली खेलाडी ईशान किशन आउट नै नभई आफै पेभेलियन फर्किएपछि उनको चर्को आलोचना सुरु भएको हो । 

उक्त खेलमा पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ४३ रन बनाएको थियो । तर, अनुभवी ब्याट्सम्यान ईशान किशनले त्यो गल्ति नगरेको भए हैदराबादले मुम्बईलाई अझ ठुलो लक्ष्य दिने सम्भावना थियो । 

खेलका क्रममा ईशान किशन आउट नै नभई पेभेलियन फर्किएका थिए । मुम्बई इन्डियन्सका बलर र विकेटकिपरले समेत उनी आउट भएको भनेर ‘अपिल’ गरेका थिएनन् । आफै क्रिज छाडेर हिँड्नुअघि अम्पायरले पनि उनलाई आउट दिएका थिएनन् । 

खेलको प्रारम्भमै हैदराबादले ट्राभिस हेडका रूपमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि ईशान किशन क्रिज समाल्न आएका थिए । तेस्रो ओभर बलिङ गर्न मुम्बईका बलर दीपक चहर आएका थिए । सोही ओभरको पहिलो बल दीपकले लेग साइडमा फालेका थिए । 

ईशान किशनले त्यो बललाई खेल्ने प्रयास गरेका थिए । त्यसपछि बल सिधै विकेटकिपरको हातमा पुगेको थियो । तर, ईशान किशनविरुद्ध न मुम्बईका बलर दीपकले न त विकेटकिपरले नै आउटको ‘अपिल’ गरे । अम्पायरले पनि सुरुमा आउट दिएनन् ।

तर, ईशान किशन आफै क्रिज छाडेर पेभेलियनतर्फ हिँडे । त्यसपछि मात्र अम्पायरले अन्योलपूर्ण अवस्थामा बिस्तारै औँला उठाउँदै ईशान किशनलाई आउट दिए । सुरुमा हेर्दा ईशान किशनले खेल भावना देखाएको भान हुन्थ्यो ।

तर, पछि टेलिभिजन रिप्लेमा हेर्दा ईशान किशन आउट नै थिएनन् । दीपकले फालेको बललाई ईशान किशनको ब्याटले छोएको नै थिएन । खासमा दीपकले फालेको त्यो बल ‘वाइड’ थियो । सुरुमा अम्पायरले समेत ‘वाइड’ दिन हात उठाइसकेका थिए । 

ईशान किशन आफै क्रिज छाडेर नहिँडेको भए उनी आउट हुने थिएनन् । बरु उल्टै हैदराबादले ‘वाइड’ बापत एक रन र थप एक बल खेल्ने अवसर पाउने थियो । सोही विषयलाई लिएर अहिले सामाजिक सञ्जालमा ईशान किशनको ब्यापक आलोचना भएको हो । 

हैदराबादका समर्थकहरुले हारको सम्पूर्ण दोष उनीमाथि थोपरेका छन् । सामाजिक सञ्जालमा कतिपय समर्थकले त ईशान किशनले खेल मिलेमतो गरेको गम्भीर आरोपसमेत लगाएका छन् । त्यतिबेला उनी केवल एक रन बनाएका थिए । 

‘हेर्नुस्, खेल मिलेमतो यसरी हुन्छ । अम्पायरले आउट नै दिनु पर्दैन, खेलाडी आफै पेभेलियन फर्कन्छन्,’ सामाजिक सञ्जाल एक्समा एक समर्थकले भनेका छन् । अर्का समर्थकले यसरी आफ्नो असन्तुष्टि पोखेका छन्, ‘के ईशान किशन मुम्बई इन्डियन्सका १२ खेलाडी हुन् ?’

आक्रामक ब्याट्सम्यानको परिचय बनाएका ईशान किशन आईपीएलको जारी संस्करणमा सबैभन्दा महंगा भारतीय खेलाडीमध्ये एक हुन् । उनलाई हैदराबादले ११ करोड २५ लाख भारतीय रुपैयाँमा खरिद गरेको थियो । 

निकै महँगो रकममा बिक्री भए पनि उनले जारी आईपीएलमा गतिलो प्रदर्शन गर्न सकिरहेका छैनन् । राजस्थान रोयल्सविरुद्धको खेललाई अपवाद मान्ने हो भने उनको प्रदर्शन निराशाजनक देखिन्छ । उनले राजस्थानविरुद्ध शतक (अविजित १०६ रन) बनाएका थिए । 

त्यसपछिका अन्य खेलमा भने उनको प्रदर्शन निराशाजनक देखिन्छ । उनले हालसम्म आठ खेलमा कुल एक सय ३९ रनमात्र बनाउन सकेका छन् । पछिल्ला सात खेलमा उनले कुल ३३ रनमात्र बनाउन सकेका छन् । उनको खराब प्रदर्शनको असर सनराइजर्स हैदराबादले भोग्नु परेको छ ।

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप