शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय

पैदल यात्रुको मृत्यु प्रकरण : ६ दिनसम्म किन जलाइएन शव ?

उचित क्षतिपूर्ति नदिएर अटेर गरिए सवारी साधनलाई जुम्लामा प्रवेश निषेध गरिने
शुक्रबार, १२ वैशाख २०८२, १९ : ३२
शुक्रबार, १२ वैशाख २०८२

सुर्खेत । गाडीको ठक्करबाट आइतबार मृत्यु भएका जुम्लाको हिमा गाउँपालिका वडा नम्बर ४ का ५५ वर्षीय कालीबहादुर बुढाको शव अझै जलाइएको छैन ।

मृतकका परिवार तथा आफन्तहरूले माग अनुसार क्षतिपूर्ति नपाएको भन्दै शव जलाउन नमानेका हुन् । आफन्तहरूले सोमबार वीरेन्द्रनगरमा उचित क्षतिपूर्तिको माग गर्दै आन्दोलन गरेका थिए । 

त्यसपछि पटक–पटक वार्ता भए पनि कुरा नमिलेपछि शुक्रबार बिहानैदेखि वीरेन्द्रनगरको यरिचोक ठप्प छ । उनीहरुले शान्तिपूर्ण तरिकाले आन्दोलन गरेका छन् भने ठुलो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ । 

बिहानैदेखि रत्न राजमार्ग अन्तर्गत यरिचोक खण्डमा सडक यातायात बन्द छ भने प्रदेश अस्पताल–रातोपुलको रुटमा गाडी सञ्चालन गराइएको छ ।

आन्दोलन सङ्घर्ष समितिका संयोजक छत्रबहादुर शाहीले आफन्तको तर्फबाट दुई वटा माग मात्र रहेको बताए । ‘यो घटना नभई हत्या हो, त्यसैले हत्यारालाई कारबाही गरिनुपर्ने पहिलो माग हो,’ उनले रातोपाटीसँग भने,‘दोस्रो माग भनेको उचित क्षतिपूर्ति पाउनुपर्छ ।’

उक्त विषयमा मङ्गलवार र बुधबार जिल्ला प्रहरी कार्यालयमा छलफल भएको थियो । तर,गाडी व्यवसायीका तर्फबाट कानुनले तोके बाहेक क्षतिपूर्ति दिन नसकिने बताएपछि उनीहरू पुनः आन्दोलन गर्न अग्रसर भएका हुन् ।

मृतक बुढालाई ठक्कर दिएको कर्णाली प्रदेश ००१ ख ०९१५ नम्बरको गाडी मध्यपश्चिम यातायात प्रालिको हो । 

पीडित परिवारका अनुसार मृतक बुढा आइतबार बिहान ६ः३० बजे जुम्ला जानका लागि चोकमा निस्किएका थिए । विपरीत दिशाबाट आएको उक्त गाडीले रत्न राजमार्ग अन्तरगत रेडियो नेपाल नजिकै बुढालाई ठक्क दियो । 

ठक्कर दिँदा बुढा केही दुरी टाढा उछिट्टिएका थिए । त्यो वेला अस्पतालमा उपचारका क्रममा मृत्यु भनिए पनि घटनास्थलमै मृत्यु भएको सङ्घर्ष समितिका संयोजक शाहीले बताए । ‘हामीलाई झुक्याउन अस्पतालमा मरेको भनियो, त्यो होइन,’ उनले भने ।

शाहीले अझै पनि गाडी मालिक सम्पर्कमा नआएको बताए । यद्यपि गाडी चालक दैलेख चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नम्बर १, का २४ वर्षीय तेज थामी मगरलाई पक्राउ गरिसकिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रविर विश्वकर्माले बताए । 

‘समितिवालाको तर्फबाट कानुन बमोजिम गर्नुपर्ने कुरामा हामीले समन्वय गरेको हो,’ उनले भने, ‘यसै पनि उहाँहरूले कानुन बमोजिम पाउने क्षतिपूर्ति पाइहाल्नुहुन्छ । तर उहाँहरू थप भन्नुहुन्छ । उहाँहरूबिच कुरा नमिलेको हो ।’

आन्दोलन सङ्घर्ष समितिका संयोजक शाही पीडित परिवारको माग बमोजिम क्षतिपूर्ति पाउनुपर्ने बताए । 

‘मध्यपश्चिम यातायात प्रालिको दादागिरी हो, यस्ता घटना नदोहोरियोस् भन्ने पनि हो,’ उनले भने । यदि माग अनुसार सम्बोधन नभएको खण्डमा आन्दोलन थप उग्र हुने उनले बताए । ‘भोलिदेखि हामी चरणबद्ध आन्दोलनको घोषणा गर्छौ,’ उनले भने, ‘माथि जुम्ला–कालिकोटको सिमाना नाग्ममा पनि आन्दोलन भएको छ । त्यत्तिकै हामी छाड्दैनौँ ।’

समितिले अटेर गरेमा मध्यपश्चिम यातायात प्रालिका सवारी साधनहरूलाई जुम्लामा प्रवेश निषेध गरिने समेत उनले चेतावनी दिए । 

उक्त घटनालाई लिएर राजनीतिकरण गर्न खोजेको आरोप लागेको छ । जुम्लाबाट प्रदेश तथा प्रतिनिधि सभामा निर्वाचित सांसद तथा नेताहरूले विज्ञप्ति निकालेर घटनाबारे आफ्ना धारणा राखेका छन् । 

कांग्रेस प्रदेश कमिटीका सभापति ललितजंग शाहीले न्यायका लागि गरेको शान्तिपूर्ण आन्दोलनमा सत्ता र शक्तिको प्रयोग गरेर पीडितलाई न्याय दिने कता हो कता उल्टै धरपकड गरेको बताएका छन् ।

‘पीडितका आफन्तजनहरूलाई थप मानिसक यातना दिने जस्ता अत्यन्तै निन्दनीय कार्य र गैरजिम्मेवार शैली देखिन्छ,’ उनले भनेका छन् । सांसद ज्ञानेन्द्र शाही, प्रदेश सभा सदस्य टेकराज पछाईंले पनि पीडितको पक्षमा विज्ञप्ति जारी गरेका छन् । 

यस्तै हिमा गाउँपालिकाले पनि विज्ञप्ति निकालेर पीडित परिवारले उचित क्षतिपूर्ति दिनुपर्ने तर्क पेस गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप