एसियाली खेलकुदमा क्रिकेट पनि समावेश गरियो

काठमाडौँ । आगामी वर्ष जापानमा आयोजना हुने एसियाली खेलकुद प्रतियोगितामा क्रिकेटलाई पनि समावेश गरिने भएको छ । ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को बैठकले एसियाली खेलकुदमा क्रिकेटलाई पनि समावेश गर्ने निर्णय लिएको हो ।
एसियाली खेलकुदको आगामी संस्करण सन् २०२६ को सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म जापानमा आयोजना हुँदैछ । क्रिकेट खेल खेलाइने ‘भेन्यू’ को बारेमा भने निर्णय हुन बाँकी छ । क्रिकेटका अतिरिक्त मिक्स मार्सल आर्टसलाई पनि आगामी एसियाली खेलकुदमा समावेश गरिएको छ ।
एसियाली खेलकुदमा क्रिकेट समावेश गरिएको यो चौथोपटक हो । सन् २०१० मा ग्वानझोउमा आयोजना भएको एसियाली खेलकुदमा पहिलो पटक क्रिकेटलाई समावेश गरिएको थियो । यसैगरी सन् २०१४ मा ईन्चोनमा आयोजना गरिएको एसियाली खेलकुदमा पनि क्रिकेटले स्थान पाएको थियो ।
त्यतिबेला एसियाली खेलकुदमा खेलाइएको क्रिकेटले अन्तर्राष्ट्रिय मान्यता भने पाएको थिएन । त्यसपछि सन् २०२३ मा हाङ्झोउमा आयोजना गरिएको एसियाली खेलकुदमा क्रिकेटलाई पुनः समावेश गरिएको थियो ।
त्यतिबेला भने क्रिकेटले टी–२० अन्तर्राष्ट्रियको मान्यता पनि पाएको थियो । सन् २०२३ को एसियाली खेलकुदमा पुरुष क्रिकेटतर्फ भारतले स्वर्ण, अफगानिस्तानले रजत र बंगलादेशले कांस्य पदक जितेका थिए । महिलातर्फ भने भारतले स्वर्ण, श्रीलंकाले रजत र बंगलादेशले कांस्य पदक हात पारेका थिए ।
एसियाली खेलकुदको उक्त संस्करणमा यी राष्ट्रका अतिरिक्त नेपाल, पाकिस्तान, माल्दिभ्स, मंगोलिया, हङ्कङ, जापान, कम्बोडिया, थाइल्यान्ड, मलेसिया, सिंगापुर र ईन्डोनेसियाले पनि भाग लिएका थिए ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले सन् २०२८ मा अमेरिकाको लस एन्जल्समा आयोजना हुने ओलम्पिक खेलकुदमा पनि क्रिकेटलाई समावेश गरेको छ । ओलम्पिकमा पनि टी–२० ढाँचाको क्रिकेट प्रतियोगिता खेलाइने छ ।