पोखराबाट सातै प्रदेशमा हवाई उडानको तयारी

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालका सातै प्रदेशमा हवाई उडान भर्ने गरी तयारी थालिएको छ । पोखरा महानगरपालिकाको अगुवाइमा यहाँबाट आन्तरिक हवाई सेवा विस्तार सम्बन्धी छलफल गरिएको हो ।
छलफलमा पर्यटन मन्त्री बद्री पाण्डे सहित पोखराका मेयर धनराज आचार्य, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरू सहभागी थिए ।
छलफलका क्रममा तीन वटै कम्पनीले थप नयाँ गन्तव्यमा उडान भर्न सहमति जनाएका छन् । यति एयरलाइन्सले पोखराबाट पूर्वतर्फको रुटमा उडान भर्न इच्छा देखाएको छ । श्री एयरलाइन्सले पश्चिमतिरको रुटमा नयाँ उडान गर्न सहमति जनाएको छ ।
बुद्धले भने बिचतिरको नयाँ रुटमा उडान भर्ने गरी सल्लाह भएको छलफलका सहभागीले जनाएका छन् । ‘तीन वटै एयरलाइन्स कम्तीमा १–२ वटा नयाँ रुटमा उडान भर्न सहमत भएका छन्,’ एक सहभागीले भने, ‘एउटा कम्पनीले सुरु गरेको गन्तव्यमा तत्काल अर्को कम्पनीको जहाज नउडाउने गरी अनौपचारिक सहमति पनि भएको छ ।’
छलफलमा बुद्ध एयरका अपरेसन डाइरेक्टर सुवर्ण खरेल, यति एयरलाइन्सका अध्यक्ष सोनाम शेर्पा, श्री एयरलाइन्सका अध्यक्ष सुधीर मित्तल, समिट एयरका मनोज कार्की लगायतले आफूहरू सेवाका लागि तयार रहेको बताएका छन् ।
सेवाको दिगोपनाका सम्बन्धमा आवश्यक सम्भाव्यताको अध्ययन गरी नियमित बाहेक निश्चित क्षेत्रहरूमा सेवा उपलब्ध गराउन तयार रहेको उनीहरूले प्रतिबद्धता जनाए ।
उनीहरुले पहिले भन्दा ग्राहक घट्दै गएकोमा चिन्ता व्यक्त गरे । सरकारले टिकटमा भ्याट लगाएर महँगो भएको छ भने फ्लाइटमा आकर्षण पनि घट्दो क्रममा रहेको उनीहरूको रिपोर्टिङ छ । उनीहरुले विमानको सञ्चालन खर्च समेत ४३ प्रतिशतसम्म महँगिएको सुनाए । ‘अपरेटिङ कस्ट महँगो छ । डलरको भाउ बढेर मर्मत खर्च उत्तिकै बढेको छ,’ उनीहरुले भने, ‘सरकारले झन् टिकटमा भ्याट थपेर ग्राहकहरू महँगो शुल्क तिर्न बाध्य छन् । यसले व्यापार घटेको छ ।’
एयरलाइन्स कम्पनीको व्यापार बढाउनका लागि पर्यटन बोर्डले गन्तव्य खोजी गरी प्रवर्द्धनको काम गर्ने पर्यटन बोर्डका पोखरा प्रमुख मणीराज लामिछानेले सुनाए । ‘हामी पनि गन्तब्यहरुबारे पर्यटकलाई जानकारी गराएर जतिसक्दो धेरै प्रवर्द्धन गर्न सहमत भएका छौँ,’ उनले भने, ‘प्रचार प्रसार गरेर पर्यटकीय क्षेत्रबाट समृद्धिको आधार खोज्न बोर्डले भूमिका खेल्छ ।’
सेप्टेम्बर २७ मा पर्ने विश्व पर्यटन दिवसबाट फ्लाइट सुरु गर्ने तयारी भइरहेको बताइएको छ । यसबाहेक पोखराको पुरानो एयरपोर्टबाट समिट एयरले पनि डोल्पा वा रारामा उडान भर्ने गरी छलफल अघि बढाएको छ ।
कार्यक्रममा पोखराका मेयर आचार्यले पोखरा सबै हिसाबले तयार रहेकाले तत्काल मुलुकका सात वटै प्रदेशमा सञ्चालनमा रहेका विमानस्थलहरूमा हवाई सेवा सञ्चालनको व्यवस्थापन गर्न निजी वायुसेवा प्रदायकसँग आग्रह गरे ।
पर्यटनको राजधानीबाट मुलुकको कुनै पनि कुनामा हवाई यात्रा मार्फत पुग्न सकिने सुनिश्चितता गर्न आफूहरू आवश्यक सहजीकरणको लागि तयार रहेको आचार्यको भनाई छ । उनले पोखराको पुरानो एयरपोर्टको प्रयोगबारे सङ्घका मन्त्री पाण्डेसँग प्रष्टता मागेका थिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सन्दर्भमा पछिल्लो पटक चर्चामा आएका विषयवस्तुहरू कपोलकल्पित र भ्रामक रहेको दाबी गरे ।
विमानस्थल पूर्ण क्षमतामा सेवा दिन सक्षम रहेको भन्दै उनले देशभरका सम्भाव्य स्थानहरूमा पोखराबाट सेवा प्रदानका लागि आवश्यक व्यवस्थापन प्राधिकरणले मिलाउने प्रतिबद्धता जनाए ।
मन्त्री पाण्डेले पर्यटन राजधानी पोखरामा सञ्चालनमा रहेको सुविधा सम्पन्न विमानस्थलबाट सम्भाव्य आन्तरिक गन्तव्यहरूमा नियमित उडान सञ्चालन गर्न सेवा प्रदायकहरूलाई आग्रह गरे । उनले भ्याटको समस्याबारे अध्ययन गरिएको बताए ।
उनले छिटै नेपाली र विदेशीलाई हवाई भाडा समान गर्न सरकार सकारात्मक रहेको जानकारी दिए । ‘तपाईँहरू अगाडि बढ्नुस्, राज्य सहयोग गर्न तयार छ । एयरपोर्टलाई राम्रोसँग चलाउनुपर्यो,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद्मा परी मधेसमा चालु आर्थिक वर्षमै ४ सय २२ को मृत्यु
-
भारतीय राजदूत क्रिकेट प्रतियोगिता सम्पन्न
-
नेपालको हार तर बने यी रेकर्ड
-
१२ बजे १२ समाचारः बागमतीमा ‘चोर बाटो’बाट सांसद्लाई बजेट, ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल
-
ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल
-
साढे ३३ करोड भ्रष्टाचार प्रकरण : टेलिकमको बिलिङ सिस्टम प्रकरण के हो ?