महानगरको बेरूजु : काठमाडौँको सबैभन्दा धेरै, अन्य कसको कति बेरूजु ?
सारांश
- महालेखा परीक्षकको प्रतिवेदन अनुसार काठमाडौं महानगरपालिकामा सबैभन्दा धेरै बेरुजु देखिएको छ।
- पोखरा महानगरपालिकामा प्रतिशतको हिसाबले सबैभन्दा बढी बेरुजु देखिएको छ भने विराटनगरमा सबैभन्दा कम।
- काठमाडौं महानगरको बेरुजु अघिल्लो वर्षको तुलनामा घटेको छ, तर भरतपुर महानगरको बढेको छ।
- इटहरी उप-महानगरपालिकामा सबैभन्दा धेरै बेरुजु देखिएको छ।
काठमाडौँ । देशभरका ६ महानगरपालिकामध्ये सबैभन्दा धरै बेरुजु काठमाडौँ महानगरपालिकाको देखिएको छ । बुधबार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औँ वार्षिक प्रतिवेदनले ६ महानगर पालिका मध्ये सबैभन्दा बढी बेरुजु काठमाडौँ महानगरको रहेको देखाएको हो ।
महालेखाको प्रतिवेदन अनुसार रकमका आधारमा काठमाडौँ महानगरपालिका भए पनि प्रतिशतको हिसाबले भने पोखरा महानगरपालिकाको धेरै देखिएको छ । प्रतिशतको हिसाबमा मोरङको विराटनगर महानगरपालिका सबैभन्दा कम र पोखराको सबैभन्दा धेरै देखिएको छ ।
स्वतन्त्रबाट निर्वाचित भएका मेयर बालेन्द्र साह (बालेन)ले नेतृत्व गरेको महानगरको २.४७ प्रतिशत बेरुजु देखिएको महालेखाको प्रतिवेदनले देखाएको छ ।
आर्थिक वर्ष २०७९/०८० मा महालेखाले काठमाडौँको ६६ करोड १९ लाख रूपैयाँ बेरुजु देखाएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा २०८०/०८१ मा काठमाडौँ महानगरको बेरुजु घटेको देखिएको छ । काठमाडौँ महानगरको २७ अर्ब ५२ करोड ४४ लाख रूपैयाँको लेखा परीक्षण गर्दा ६८ करोड २ लाख बेरुजु देखिएको छ ।
त्यस्तै पोखरा महानगरको १३ अर्ब ४६ करोड ७२ लाख लेखा परीक्षण गरिएकोमा ५० करोड ४३ लाख रुपैयाँ बेरुजु देखिएको छ । जसको प्रतिशतको हिसाबमा ३.७४ प्रतिशत रहेको छ । पोखरामा धनराज आचार्य मेयर रहेको छन् । आर्थिक वर्ष २०७९/०८० मा महालेखाले ७० करोड ६५ लाख रूपैयाँ बेरुजु देखाएको थियो । अघिल्लो वर्षको तुलनामा २०८०/०८१ मा थोरै बेरुजु कम भएको देखिएको छ ।
पर्सा वीरगञ्ज महानगरपालिकामा ६ अर्ब २८ करोड १६ लाख लेखा परीक्षण गर्दा ३.६२ प्रतिशत अर्थात् २२ करोड ७५ लाख बेरुजु देखिएको छ । आर्थिक वर्ष २०७९/०८० मा महालेखाले ६७ करोड ७८ लाख रूपैयाँ बेरुजु देखाएको थियो । अघिल्लो वर्षको तुलनामा २०८०/०८१ मा थोरै बेरुजु कम भएको देखिएको छ ।
यस्तै, चितवन भरतपुर महानगरपालिकामा ११ अर्ब १३ करोड ३ लाख रुपैयाँको लेखा परीक्षण गर्दा १० करोड २ लाख अर्थात् ०.९० प्रतिशत बेरुजु देखिएको छ ।
२०७९/०८० मा महालेखाले ६६ लाख रूपैयाँ मात्र बेरुजु देखाएको थियो । अघिल्लो वर्षको तुलनामा २०८०/०८१ मा भरतपुर महानगरको बेरुजु भने वृद्धि भएको देखिएको छ ।
महानगरमध्ये ललितपुर महानगरको कम बेरुजु देखिएको छ । ललितपुरको बेरुजु ०.५२ प्रतिशत अर्थात् १० अर्ब ६८ करोड ९७ लाख लेखा परीक्षण गर्दा ५ करोड ५५ लाख बेरुजु देखिएको छ । २०७९/०८० मा महालेखाले ६१ करोड ९० लाख रूपैयाँ बेरुजु देखाएको थियो । अघिल्लो वर्षको तुलनामा २०८०/०८१ मा ललितपुर महानगरको बेरुजु कम भएको देखिएको छ ।
सबैभन्दा कम बेरुजु भएको मोरङको विराटनगर महानगरको गत आर्थिक वर्ष २०८०/८१ मा ६ अर्ब ४४ करोड ७६ लाख रुपैयाँको लेखा परीक्षण गर्दा ०.३२ प्रतिशत अर्थात २ करोड ८ लाख ५७ हजार बेरुजु देखिएको छ ।
२०७९/०८० मा महालेखाले २२ करोड ९५ लाख रूपैयाँ बेरुजु देखाएको थियो । अघिल्लो वर्षको तुलनामा २०८०/०८१ मा विराटनगर महानगरको बेरुजु कम भएको देखिएको छ ।
इटहरी उप–महानगरपालिकाको सबै भन्दा धेरै बेरुजु
त्यस्तै,धरान उप–महानगरपालिकाको पनि आर्थिक वर्ष २०८०/०८१ मा ७ करोड ९ लाख रुपैयाँ बेरुजु रहेको देखाएको छ । त्यस्तै,इटहरी उप उप–महानगरपालिकाको १६ करोड २१ लाख रुपैयाँ बेरुजु देखाएको छ । जनकपुरधाम उप–महानगरपालिकाको पनि आर्थिक वर्ष २०८०/०८१ मा ४ करोड ९२ लाख रुपैयाँको बेरुजु महालेखाले देखाएको छ ।
बाराका जीतपुर सिमरा उप–महानगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को २ करोड २५ लाख रुपैयाँ र कलैया उप–महानगरपालिकाको १३ करोड रुपैयाँ बेरुजु देखाएको छ ।
बुटवल उप–महानगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को ७ करोड ६७ लाख रुपैयाँ बेरुजु देखाएको छ । दाङ जिल्लाका घोराही उप–महानगरपालिकाको आर्थिक वर्ष २०८०/०८१को ६ करोड ७८ लाख बेरुजु देखाएको छ भने तुलसीपुर उप–महानगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को ८ करोड ९४ लाख रुपैयाँ बेरुजु देखाएको छ ।
बाँकेको नेपालगञ्ज उप–महानगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को ८ करोड ७२ लाख रुपैयाँ बेरुजु देखिएको छ । कैलालीको धनगढी उप–महानगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को ४ करोड ७२ लाख रुपैयाँ बेरुजु महालेखाले देखाएको छ ।
मकवानपुरको हेटौँडा उप–महानगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को १३ करोड २ लाख रुपैयाँ बेरुजु महालेखाले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण