शुक्रबार, ०२ जेठ २०८२
ताजा लोकप्रिय

पहारी, उप्रेती र सुवेदीलाई ‘हरितारा पुरस्कार’ प्रदान

बिहीबार, ०१ जेठ २०८२, १७ : ०४
बिहीबार, ०१ जेठ २०८२

काठमाडौंँ । अभिनेता टिका पहारी, अभिनेत्री रेजिना उप्रेती र चलचित्र पत्रकार विष्णु सुवेदीलाई ‘हरितारा पुरस्कार’ प्रदान गरिएको छ । पहारी र उप्रेती ‘हरितारा चलचित्र पुरस्कार’ र सुवेदीलाई ‘हरितारा चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो । 

बिहीबार काठमाडौँमा आयोजित एक समारोहकाबिच पहारीलाई २०८० तथा उप्रेती र सुवेदीलाई २०८१ सालको पुरस्कार प्रदान गरिएको हो । चलचित्र पुरस्कारमा जनही २५ हजार र पत्रकारिता पुरस्कारमा १० हजार नगद राशी रहेको छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेत्री बसुन्धरा भुषाल, चैतदेवी सिंह, चलचित्र विकास बोर्डका पुर्व अध्यक्ष राजकुमार राई, अभिनेता शिव श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरे ।

महनोज शम्शेर जवरा संरक्षक तथा अध्यक्ष रहेको ‘हरितारा पुरस्कार’ चलचित्र क्षेत्रकै पहिलो पुरस्कारका रुपमा स्थापित छ । 

२०५२ सालमा समाजसेवी श्रीमती विजया राणा (तारानानी)ले आफु र आफ्ना पति हरि शम्शेरको नाममा अक्षयकोष राखि यो पुरस्कारको स्थापना गरिएको हो ।

परिवर्तन नेपालको आयोजन गरेको कार्यक्रममा श्री दुर्गादेवि पूण्य निरौला स्मृति पुरस्कार’ र ‘परिवर्तन – चलचित्रकर्मी विशेष सम्मान २०८१’ समेत प्रदान गरियो । समारोहमा १० हजार राशीको ‘श्री दुर्गादेवि पूण्य निरौला स्मृति पुरस्कार’ कलाकार तथा अधिवक्ता कृष्ण ढुङ्गाना र निर्देशक सम्झना उप्रेती रौनियारलाई प्रदान गरियो । 

कार्यक्रममा अभिनेता रविन्द्र सिंह बानिया, निर्देशक अमर ओली, अभिनेता जेबि रुवाली, अभिनेता सविन श्रेष्ठ, अभिनेता गोपाल ढकाल (छन्दे) र अभिनेता सुनिल कटुवाललाई ‘परिवर्तन – चलचित्रकर्मी विशेष सम्मान २०८१’ बाट सम्मानित भए ।

सोही संचारकर्मी तुलसी गिरी भावुक, संचारकर्मी कृष्ण भुषाल र संचारकर्मी कमला जोशीलाई ‘परिवर्तन–चलचित्र पत्रकारिता सम्मान २०८१’ समेत दिइएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले आ–आफ्नो शिल्पद्वारा आ–आफ्नो विधामा रचनात्मक योगदान दिँदै आएका चलचित्रकर्मी तथा पत्रकारलाई पुरस्कृत र सम्मान गर्न पाँउदा गर्वको अनुभूति भएको बताए । 

कार्यक्रममा बोर्ड अध्यक्ष डिसीले चलचित्र क्षेत्रमा ‘हरितारा पुरस्कार’को बेग्लै महत्व स्थापित भएको बताए । उनले आफूले पनि ‘हरितारा चलचित्र पुरस्कार’ प्राप्त गरिसकेको बताउँदै यो पुरस्कार आफ्ना लागि सदैव विशेष महत्वको भएको जानकारी दिए । 

पुरस्कारको निर्णायक समितिमा मोहन निरौला, सुन्दर श्रेष्ठ र शान्तिप्रिय रहेका थिए । देवेन्द्र पाण्डेको संयोजनमा भएको कार्यक्रमलाई माधवराज खरेलले सहजीकरण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप