आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

के छ आईपीएलको नयाँ रिप्लेसमेन्ट नियममा ?

शुक्रबार, ०२ जेठ २०८२, १० : ५५
शुक्रबार, ०२ जेठ २०८२

सारांश

  • भारत र पाकिस्तानबीचको सैन्य आक्रमणका कारण आईपीएल स्थगित भएपछि फेरि सुरु हुँदैछ।
  • बीसीसीआईले आईपीएलको बाँकी खेलका लागि रिप्लेसमेन्ट नियम लागू गरेको छ, जसमा नयाँ खेलाडीले अर्को सिजनमा अक्सनमा भाग लिनुपर्नेछ।

काठमाडौँ । भारत र पाकिस्तानले एक–अर्काविरुद्ध सैन्य आक्रमण सुरु गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ औँ संस्करण बिचमै स्थगित भएको थियो । यी दुवै राष्ट्रबिच अब एक–अर्काविरुद्ध सैन्य आक्रमण नगर्ने सहमति भएपछि शनिबारदेखि आईपीएल फेरि सुरु हुँदैछ । 

तर, अहिले आईपीएलमा सहभागी टोलीहरू केही दबाबमा देखिन्छन् । आईपीएल स्थगित भएपछि विदेशी खेलाडीहरू सुरक्षाको कारण देखाउँदै आ–आफ्नो राष्ट्र फर्किएका थिए । त्यसमध्ये केही खेलाडी फेरि भारत फर्किएका छन् भने केही खेलाडी नफर्कने भएका छन् । 

राष्ट्रिय टोलीको खेल तालिका जुध्ने भएकाले केही विदेशी खेलाडी नफर्कने भएका हुन् । भारत फर्किएका केही विदेशी खेलाडी भने आईपीएल सकिनुअघि नै राष्ट्रिय टोलीसँग जोडिन स्वदेश फर्कने योजनामा छन् ।

खासगरी आईपीएलको प्ले–अफ चरणमा पुग्न संघर्षत टोलीहरूका लागि यो निराशाजनक पक्ष हो । त्यसैले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आईपीएलको बाँकी खेलका लागि नयाँ नियम लागू गरेको छ । 

आईपीएलमा सहभागी हुन भारत नफर्किएका विदेशी खेलाडीको स्थानमा अर्का खेलाडीलाई समेटने गरी रिप्लेसमेन्ट नियम लागू गरिएको हो । आखिर के छ त नयाँ रिप्लेसमेन्ट नियममा ? 

खासमा आईपीएलको बिचमा अन्य खेलाडीको स्थानमा परिवर्तित भएर आउने खेलाडीलाई सम्बन्धित टोलीहरूले १९ औँ सिजनको आईपीएलका लागि रिटेन गर्न (पुनः आफूसँगै राख्न) पाउने छैनन् । तर, यो सिजनको आईपीएल स्थगित हुनुअघि विभिन्न कारणले अन्य खेलाडीको स्थानमा रिप्लेसमेन्ट भएका खेलाडीलाई भने सम्बन्धित क्लबले अर्को सिजनको आईपीएलमा पनि रिटेन गर्न पाउने छन् । 

यसको अर्थ, भारत–पाकिस्तानबिच सैन्य आक्रमणका कारण आईपीएल स्थगित भएपछि अन्य खेलाडीको रिप्लेसमेन्टका रूपमा आएका नयाँ खेलाडीले १९ औँ संस्करणका लागि अक्सनकै सहारा लिनुपर्ने हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप