एम्स बैठक र अन्तर्राष्ट्रिय सम्मेलनसँगै जेठमा नेपाल हेरिटेज रन आयोजना गरिने

समाचार सारांश
- काठमाडौं र ललितपुरका सम्पदा जोड्ने गरी जेठ २४ गते नेपाल हेरिटेज रन आयोजना हुने भएको छ, जसमा २५ किलोमिटरको दौड हुनेछ।
- दौड दशरथ रंगशालाबाट सुरु भई विभिन्न सम्पदा क्षेत्रको परिक्रमा गर्दै सोही रंगशालामा समापन हुनेछ ।
काठमाडौँ । रेस नेपालको आयोजनामा जेठ २४ गते काठमाडौँ र ललितपुरका सम्पदा जोड्नेगरी नेपाल हेरिटेज रन (काठमाडौँ २५ के रन) आयोजना हुने भएको छ । विश्व रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) को बोर्ड बैठक नेपालमै आयोजना हुन लागेको सन्दर्भ पारेर हेरिटेज रन सुरु गर्न लागिएको हो ।
विश्व सम्पदा सूचीमा परेका सम्पदाहरु जोड्नेगरी २५ किलोमिटर दूरीको दौडको रुट तयार गरिएको आयोजकले जनाएको छ । नेपालमा पहिलो पटक हुन लागेको हेरिटेज रनले खेलाडीलाई उत्साह थप्ने अपेक्षा आयोजकले गरेको छ । दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भई सुन्धारा, न्यूरोड, काठमाडौँ दरबार स्क्वायर, रानीपोखरी, दरबारमार्ग, कमलपोखरी, गौशाला, पशुपतिनाथ, तीनकुने, ग्वार्को, पाटन दरबार स्क्वायर, पुलचोक, थापाथली हुँदै दशरथ रंगशाला पुगेर पूरा हुनेछ ।
यसका अतिरिक्त, विद्यालयस्तरीय विद्यार्थी र भेट्रानतर्फ पाँच किलोमिटर दौड पनि आयोजना गरिने बताइएको छ । तीनवटै विधाका दौडका लागि दर्ता खुला भइसकेको आयोजकले जनाएको छ । नगद पुरस्कार पनि चाँडै घोषण गरिने आयोजकले जनाएको छ दौड सञ्चालनका लागि नेपाल एथलेटिक्स परिवारसँग सहआयोजकका रुपमा सहकार्य गरिएको छ । राजन खत्रीलाई दौड व्यवस्थापनको संयोजकको जिम्मेवारी दिइएको आयोजकले जनाएको छ ।
एम्सको बोर्ड बैठक जेठ २१ र २२ गते ललिपुरस्थित होटल हिमालयमा बस्दैछ । एम्सको बोर्ड बैठकलगत्तै जेठ २३ गते शुक्रवार नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्स हुँदैछ । रनिङसम्बन्धि कन्फ्रेन्स दक्षिण एसियामै पहिलोपटक नेपालमा हुनलागेको एम्सका दुत तथा कन्फ्रेन्सका अध्यक्ष टीएस ठकुरीले बताए ।
‘निजी तथा सरकारी दुवै क्षेत्रको उत्साहजनक साथ पाए हरेक वर्ष नेपालमा कन्फ्रेन्स र हेरिटेज रन निरन्तरता दिइनेछ’ धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले भने– ‘अन्तर्राष्ट्रियस्तरका धावक वा आयोजकलाई नेपाल ल्याउने यो प्रभावकारी माध्यम बन्न सक्छ ।’
कन्फ्रेन्समा शिक्षा, खेलकुद र पर्यटनसँग सम्बन्धित चारवटा सेसन रहनेछ । पहिलो सेसनमा एम्सका प्रेसिडेन्ट पाको बोराओसँग बिशेष साक्षात्कार हुनेछ । पाको विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनका रेस डाइरेक्टर हुन् । एम्सको बोर्ड बैठकलगायत अन्य कार्यक्रम व्यवस्थित र फलदायी बनाउन नेपालका प्रतिष्ठित म्याराथन आयोजकहरु रहेको मुलआयोजक समिति गठन गरिनेछ ।
कन्फ्रेन्समा युरोप, अमेरिका, जापान, थाइल्यान्ड, मलेसिया, भियतनाम, इन्डोनेसिया, सिंगापुरलगायत दक्षिण एशियाली राष्ट्रहरु गरी करिब दुई दर्जन देशका प्रतिनिधिको सहभागिता रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम
-
अमेरिकाद्वारा संयुक्त अरब इमिरेट्ससँग २०० अर्बको सम्झौता
-
हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालयमा क्षति
-
युएईका सहायक मन्त्रीद्वारा परराष्ट्रमन्त्री राणासँग शिष्टाचार भेट
-
जनताका आवाज सरकारसमक्ष पुर्याउँछौँ : प्रचण्ड
-
निर्मोही व्यासको ‘सम्झुँ कि बिर्सूँ’ लोकार्पण