राजस्व सङ्कलन ‘मिसन मोड’ मा लैजान अर्थमन्त्रीको निर्देशन
सारांश
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व सङ्कलनको बिग्रिएको लय सुधार र चुहावट नियन्त्रणमा विशेष ध्यान दिन मातहतका निकायलाई निर्देशन दिएका छन्।
- उनले नयाँ आर्थिक वर्षको राजस्व सङ्कलन लक्ष्यलाई ‘मिसन मोड’मा अघि बढाउन निर्देशन दिँदै करदातालाई दबाब दिएर होइन, प्रोत्साहित गरेर करको दायरामा ल्याउनुपर्ने बताए।
- राजस्व छली नियन्त्रणका लागि प्राविधिक उपकरणको प्रयोग बढाउन र प्रमुख भन्सार कार्यालयमा सवारीसाधन स्क्यानर जडानको काम तीन महिनाभित्र अघि बढाउन निर्देशन दिए।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व सङ्कलनको बिग्रिएको लय सुधार र चुहावट नियन्त्रणमा विशेष ध्यान दिन मातहतका निकायलाई निर्देशन दिएका छन्।
सोमबार अर्थ मन्त्रालयमा आयोजित वार्षिक राजस्व समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले चालु आर्थिक वर्षको राजस्व सङ्कलनको लक्ष्य, समयसीमा र उद्देश्य स्पष्ट रहेकाले भन्सार तथा राजस्व प्रशासनका अधिकारीले अर्जुनदृष्टिका साथ काम गर्नुपर्ने बताए।
उनले नयाँ आर्थिक वर्षको राजस्व सङ्कलन लक्ष्यलाई ‘मिसन मोड’मा अघि बढाउन निर्देशन दिए। विगतमा राजस्व सङ्कलनको लय बिग्रिएको र चुहावटका गुनासा बढ्दै गएको उल्लेख गर्दै अब यस्तो अवस्था सह्य नहुने बताए।
कर सङ्कलनको लक्ष्य वैज्ञानिक र यथार्थपरक बनाउनुपर्नेमा जोड दिँदै उनले कर प्रशासकलाई सहज कार्यशैलीबाट बाहिर निस्केर परिणाममुखी रूपमा काम गर्न आग्रह गरे। करदातालाई दबाब दिएर होइन, प्रोत्साहित गरेर करको दायरामा ल्याउनुपर्ने उनको भनाइ थियो।
राजस्व लक्ष्य प्राप्तिका लागि आवश्यक स्रोत–साधन उपलब्ध गराउन सरकार तयार रहेको उनले बताए। साथै नागरिकमा करसम्बन्धी जनचेतना अभिवृद्धि गर्न, सरकारले घोषणा गरेको कर छुट योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न तथा करदाता प्रोत्साहन कार्यक्रमलाई सुदृढ बनाउन निर्देशन दिए।
राजस्व छली नियन्त्रणका लागि प्राविधिक उपकरणको प्रयोग बढाउन भन्सार विभाग र आन्तरिक राजस्व विभागलाई निर्देशन दिँदै उनले तीन महिनाभित्र देशका प्रमुख १४ भन्सार कार्यालयमा सवारीसाधन स्क्यानर जडानको काम अघि बढाउन आग्रह गरे। यसअघि सञ्चालनमा आएर बिग्रिएका स्क्यानर मर्मत गरी पुनः सञ्चालनमा ल्याउन पनि निर्देशन दिए।
भन्सार तथा कर चुहावट हुने क्षेत्रको सूक्ष्म अनुगमन गर्न र व्यवसायीलाई प्रणालीबारे जानकारी गराएर करको दायरामा ल्याउनुपर्नेमा पनि उनले जोड दिए।
बैठकमा अर्थ सचिव डा. घनश्याम उपाध्यायले कर तथा राजस्व सङ्कलनमा देखिएको कमीका कारण पहिचान गरी सुधारका उपाय अपनाउन मातहतका अधिकारीलाई निर्देशन दिए। बाहिर देखिएको आर्थिक गतिविधि र राजस्व तथ्याङ्कबिच बेमेल देखिएकाले त्यसको कारण खोजेर सुधार गर्नुपर्ने उनले बताए।
कार्यक्रममा राजस्व महाशाखा प्रमुख एवं सहसचिव उत्तरकुमार खत्रीले राजस्व सङ्कलनको अवस्था र आगामी लक्ष्यबारे प्रस्तुतीकरण गरे।
भन्सार विभागका महानिर्देशक यमलाल भूसालले भन्सार राजस्वको प्रगति तथा आगामी कार्ययोजना प्रस्तुत गरे भने आन्तरिक राजस्व विभागका उपमहानिर्देशक जनकराज शर्माले सरकारले घोषणा गरेको राजस्व छुट योजना तथा कर प्रोत्साहन कार्यक्रम कार्यान्वयनका लागि विभाग सक्रिय रहेको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित तार हटाउने कार्य : दुई मन्त्रीको संयुक्त अनुगमन, समयसीमाभित्र काम नसके कारबाही गरिने
-
शिक्षकहरूको गुनासो– हामीलाई प्रोत्साहन भत्ताबाट वञ्चित गरियाे
-
क्रियाशील सदस्यता नवीकरण र वितरणका लागि साउन १४ सम्मको समयसीमा
-
'कांग्रेसले धोखा दिएपछि वाम सहकार्य भयो, हामी जस्तोसुकै अग्निपरीक्षा दिन तयार छौँ'
-
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
-
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, ५ एजेन्डा तय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण