नागढुङ्गा सुरुङमार्ग उद्घाटन : पुरानो पुस्ताको आँखामा विकासको खुसी
काठमाडौँ । ‘धन्न, आजसम्म बाचेँ र यस्तो चमत्कार देख्न पाएँ।’
चन्द्रागिरि नगरपालिका–१ का ७९ वर्षीय इन्द्र पण्डितको यो अभिव्याक्तिले जो कोहीलाई भावुक बनाउँछ । सात दशकभन्दा लामो नेपालको विकास यात्राको साक्षी बनेका छन् पण्डित। नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘नागढुङ्गा सुरुङमार्ग’ उद्घाटन समारोहमा सहभागी हुँदा उनको अनुहारमा देखिएको मुस्कानले विकासको बेग्लै सकारात्मक सन्देश प्रवाह गरेको देखिन्थ्यो।
नवीनतम प्रविधिको प्रयोग, आधुनिकता र सडक यातायातले फड्को मारिरहेको हालको दुनियाँमा पण्डितलाई भने अझै पनि आफ्नो किशोर अवस्थाको यात्रा सम्झना छ। धादिङको गजुरीबाट काठमाडौँ आउँदा दुई दिन पैदल हिँड्नुपरेको स्मृति अझै उनको मनष्पटलमा ताजै छ । त्यस बेला गोरेटो, खोल्सा र जङ्गल अनि उकालो–ओरालो पार गर्दै राजधानी आइपुग्न कम्ती सकस थिएन।
त्यतिबेला डाँडो छेडेर सुरुङमार्ग निर्माण होला र सवारीसाधन गुड्लान् भन्ने कल्पना पनि गरेका थिएनन् पण्डितले । “त्यो बेला काठमाडौँ आउनु भनेको कठिन थियो”, उनी सम्झन्छन्, “अहिले यस्तो दिन आउला भन्ने कल्पना पनि गरेको थिइन।”
नागढुङ्गाको उकालो, घुम्ती मोड्दै, जाममा पर्दै उपत्यका उक्लनुपर्ने सकसबाट मुक्त भएकोमा झै बढी उत्सााह छ उनमा । त्यसमाथि आफ्नो जन्मस्थान जाने बाटो छोटिएकोमा अझै बढी उत्साहित बनेका छन् पण्डित जी ।
मुसुक्क मुस्कुराउँदै पण्डितले भने, “डाँडो छेडेर सुरुङमार्ग बनेको छ । केही मिनेटमै गन्तव्य पुग्न सकिने भएको छ । यात्राको कठिनाइ हटेको छ । अनि खुसी नहुने कुरै भएन ।” त्यस्तै काठमाडौँ थानकोटकै दिलबहादुर श्रेष्ठ पनि उमेरले ८१ पुगेका छन् । सुरुङमार्गको उद्घाटनलाई निहाल्दै पट्ट ताली बजाउँदै थिए। उनलाई पनि सायद लाग्दो हो ढिलै भए पनि परिवर्तन भइरहेको छ।
“अहिलेका पुस्ताले नेपालमा केही भएन मात्रै भन्छन्”, उनले भने, “हाम्रो पालासँग तुलना गर्ने हो भने त धेरै परिवर्तन भएको छ । सडक बने, पुल बने, गाउँगाउँमा गाडी पुगे, अहिले त सुरुङ पनि बन्यो ।”
उनी केहीबेर रोकिए । त्यसपछि फेरि भावुक हुँदै भने, “हामी त अब डाडाँमाथिको घाम भइसक्यौँ । तर हाम्रा पछिल्ला पुस्ताका लागि केही हुँदैछ भन्ने भानलाई यो सुरुङ निर्माणले चिरिदिएको छ । हामीले नमर्दै आफ्नै ठाउँमा यति ठूलो विकास भएको देख्न पाइयो ।”
अभाव, कठिन यात्रा र सीमित पूर्वाधारबाट गुज्रिएको पुस्ताले परिवर्तनलाई फरक आँखाले हेर्छ भन्ने पुरानो पुस्ताको अनुभव हुन यी । उद्घाटन समारोहमा सहभागी स्थानीय कलाधार गैरेले सुरुङमार्ग निर्माणलाई मुलुकको परिवर्तनको सङ्केतको रुपमा लिएका छन् । विकासले गति लिन थालेको अनुभव भएको छ । तर अपेक्षाअनुसार तीव्रतामा भने अझै पुग्न नसकेको उनको गुनासो छ।
“आधुनिक सुरुङमार्ग मुलुकमा परिवर्तनको घण्टी बजेको सङ्केत हो”, उनले भने, “जति हुनुपर्थ्याे, त्यति हुन सकेको छैन । अझ धेरै गर्न सकिन्थ्यो । तर केही पनि भएन भनेर निराश हुनुपर्ने अवस्था छैन । काम भइरहेको छ । मात्रै अपेक्षाभन्दा केही ढिला भएको हो ।”
गैरेका अनुसार विकासले दीर्घकालसम्म नागरिकलाई लाभ पुर्याउने, वातावरण संरक्षण गर्ने र भावी पुस्ताका लागि सुरक्षित भविष्य निर्माण गर्ने उद्देश्य बोकेको हुनुपर्छ। “अबको विकास दिगो र वातावरणमैत्री हुनुपर्छ”, उनले भने, “प्राकृतिक सम्पदाको संरक्षण गर्दै, वातावरणलाई कमभन्दा कम असर पर्ने पूर्वाधार निर्माणमा राज्यले ध्यान दिनुपर्छ । विकास आजका लागि मात्र होइन, भोलिका पुस्ताका लागि पनि हुनुपर्छ।”
गैरेको भनाइले अहिलेको नेपालको विकासप्रति आम नागरिकको सन्तुलित दृष्टिकोण झल्काउँछ। एकातिर देशमा परिवर्तन हुँदै गएको अनुभूति छ भने अर्कोतिर त्यो परिवर्तन अझ योजनाबद्ध, दिगो र प्रभावकारी बन्नुपर्ने अपेक्षा उत्तिकै बलियो छ।
सुरुङमार्ग उद्घाटन समारोहमा सहभागी स्थानीय बालकुमारी डङ्गोल पनि उक्त पूर्वाधारले देशमा सकारात्मक परिवर्तनको सन्देश दिएको विश्वास गर्छिन् । “यस्ता विकासका कामले अब केही सुधार हुन्छ कि भन्ने आशा जागेको छ”, उनले भनिन्, “देशमै रोजगारी र अवसर प्राप्त होस् । हाम्रा छोराछोरीले आफ्नो भविष्य खोज्न विदेश जानु पर्ने अवस्था अन्त्य होस् भन्ने चाहना छ।”
डङ्गोलका यी भनाइले भौतिक पूर्वाधारसँगै आर्थिक अवसर र रोजगारी सिर्जनाको आवश्यकता पनि उत्तिकै महत्त्वपूर्ण रहेको सन्देश दिन्छ ।
स्थानीय पम्फा भुजेलले आफ्नै गाउँठाउँमा यति आधुनिक पूर्वाधार बन्ने कल्पना कहिल्यै गरेकी थिइनन् । नेपालकै अत्याधुनिक सुरुङमार्ग निर्माण भएको देख्दा उनी उत्साहित छिन्। सुरुङमार्गबाट यात्रा गर्ने अवसरको प्रतीक्षामा रहेकी भुजेलका लागि यो आयोजना मुलुकको प्रगतिको प्रतीक बनेको छ।
“हाम्रो ठाउँमा यस्तो सुरुङमार्ग बन्ला भन्ने त कहिल्यै सोचेको पनि थिइनँ”, उनले खुसी व्यक्त गर्दै भनिन्, “अहिलेसम्म फोटो र भिडियो मात्रै हेरेकी छु । अब कहिले सुरुङमार्ग हुँदै यात्रा गर्न पाइएला भन्ने उत्सुकता छ ।”
उनलाई यस्ता आधुनिक पूर्वाधारले नेपाल विकासको नयाँ चरणतर्फ अघि बढिरहेको अनुभूति गराएको छ । “सुरुङमार्ग देख्दा नेपाल विस्तारै विकसित मुलुकजस्तै बन्दै गएको हो कि भन्ने आशा पलाएको छ”, भुजेलले भनिन्।
पण्डित, डङ्गोल, गैरे, भुजेलका लाागि मात्र होइन आज सम्पूर्ण नेपालीलाई उक्त सुरुङ निर्माणबाट मुलुकले अब परिवर्तनको बाटो समातेको विश्वास जगाएको छ ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष तानाका अकिहिको तथा नेपालका लागि जापानी राजदूत माएदा तोरुले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको संयुक्त रूपमा आज सुरुङमार्ग औपचारिक रुपमा उद्घाटन गरेका थिए।
समारोहमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले सुरुङ सञ्चालनसँगै यात्राको समय उल्लेखनीय रूपमा घट्ने तथा वर्षौँदेखिको ट्राफिक जाम र जोखिमपूर्ण यात्राको समस्या न्यूनीकरण हुने बताए।
“नागढुङ्गा नाका दशकौँदेखि काठमाडौँ उपत्यकाको पश्चिमी प्रवेशद्वार भए पनि अत्यधिक सवारी चाप र जोखिमपूर्ण सडकखण्डका रूपमा परिचित रहेको छ, अब सडक दुर्घटनासमेत न्यूनीकरण हुन्छ”, उनले भने ।
जाइकाका अध्यक्ष तानाकाले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गलाई नेपालको यातायात विकास यात्राको ऐतिहासिक तथा रूपान्तरणकारी उपलब्धि भएको बताए। नेपालका लागि जापानी राजदूत माएदा तोरुले जापान सरकारको आधिकारिक विकास सहायता (ओडीए) तथा नेपाली प्राविधिक र श्रमिकको अथक परिश्रमबाट सुरुङ निर्माण भएको बताए।
दुई हजार ६८८ मिटर कूल लम्बाइ रहेको उक्त सुरुङको सुरुआती ठेक्का सम्झौताअनुसार २६ अप्रिल २०२३ भित्रै सम्पन्न गरिन पर्नेमा पटकपटक समय बढाउँदासमेत कामले गति लिन नसकेपछि पछिल्लो पटक २०८२ कात्तिक ८ गतेसम्मका लागि म्याद थपिएको थियो।
यसैबिच वि.सं. २०८२ चैत २६ गते सरकारले राजपत्रमा सूचना प्रकाशित गरी नागढुङ्गा–नौबिसे सुरुङमार्गमा सवारीसाधन गुडाउने शुल्कसमेत निर्धारण गरेको छ। सरकारले सवारीसाधनको क्षमताअनुसार सुरुङमार्गको प्रयोग गर्नेका लागि छुट्टाछुट्टै दस्तुर निर्धारण गरेको छ।
कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस र अन्य हलुका सवारीसाधनका लागि काठमाडौँ प्रवेशमा रु ६५ र सोही वर्गका सवारीसाधन काठमाडौँबाट बाहिरिँदा रु ६० शुल्क तोकिएको छ। त्यस्तै मिनीबस, मिनी टिपर/ट्रकका लागि काठमाडौँ प्रवेशमा रु १२५ र काठमाडौँबाट निस्कदा रु ८० शुल्क तोकिएको छ ।
त्यसैगरी बस, ट्रकलगायतका सवारीसाधन काठमाडौँ प्रवेश गर्दा रु २६० शुल्क छ भने तिनै सवारीसाधनलाई काठमाडौँबाट निस्कदा रु २०० दस्तुर तोकिएको छ ।मल्टिएक्सल ट्रक, सवारीसाधन, भारीउपकरणका लागि काठमाडौँ प्रवेश गर्दा रु ६०० दस्तुर छ भने काठमाडौँबाट निस्कदा रु २५० शुल्क तोकिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
-
भोलि देशभर ओपीडी बन्द गर्ने नेपाल चिकित्सक संघको घोषणा
-
नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि धितोपत्र बोर्डले काम गर्नुपर्छ: अर्थमन्त्री
-
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न राप्रपा सांसद ओलीको माग
-
ललितपुरमा एसओएस बालग्रामको जिप दुर्घटनाः चालकको मृत्यु, पाँच जना घाइते
-
रोमाञ्चक खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण