मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता

मङ्गलबार, ०५ साउन २०८३, १५ : ११
मङ्गलबार, ०५ साउन २०८३

लन्डन । इङ्ग्ल्यान्डका महान् फुटबल खेलाडी, पूर्वकप्तान तथा प्रशिक्षक केभिन किगनको ७५ वर्षको उमेरमा निधन भएको छ ।

उनी लामो समयदेखि क्यान्सरसँग संघर्ष गरिरहेका थिए । गत महिना मात्र उनले आफ्नो स्वास्थ्य अवस्थाबारे सार्वजनिक गरेका थिए । उनको निधनको जानकारी उनको पूर्वक्लब न्युक्यासल युनाइटेडले दिएको हो । क्लबले किगनलाई आफ्नो इतिहासका सबैभन्दा प्रतिष्ठित, प्रभावशाली र प्रिय व्यक्तित्वमध्ये एकका रूपमा श्रद्धाञ्जलि अर्पण गरेको छ ।

केभिन किगन सन् १९७० को दशकमा इङ्ग्ल्यान्ड मात्र होइन, युरोपेली फुटबलकै सबैभन्दा ठुला खेलाडीमध्ये एक थिए । उनी इङ्ग्ल्यान्डका बेलोन डी'ओर जित्ने चार खेलाडीमध्ये एक हुन् । उनको गति, गोल गर्ने क्षमता र अथक् मेहनतले उनलाई विश्व फुटबलमा विशेष पहिचान दिलाएको थियो । साथै, उनी घरेलु फुटबल छाडेर युरोपको अर्को शीर्ष लिगमा खेल्न जाने पहिलो पुस्ताका इङ्ग्लिस खेलाडीमध्ये पनि थिए ।

सन् १९७७ मा लिभरपुलबाट युरोपियन कप जितेपछि किगन जर्मन क्लब ह्याम्बर्गमा आबद्ध भएका थिए । ह्याम्बर्गमा रहँदा उनले लगातार दुई वर्ष सन् १९७८ र १९७९ मा बेलोन डी'ओर जिते । सन् १९७९ मा उनले ह्याम्बर्गलाई बुन्डेसलिगा उपाधि जिताउन पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए। ह्याम्बर्गले उनलाई आफ्नो इतिहासका महानतम खेलाडीमध्ये एकका रूपमा सम्झिएको छ ।

किगनले इङ्ग्ल्यान्डका लागि ६३ अन्तर्राष्ट्रिय खेल खेल्दै २१ गोल गरेका थिए । उनले सन् १९८२ को विश्वकपमा पनि इङ्ग्ल्यान्डको प्रतिनिधित्व गरेका थिए । खेल जीवनपछि उनी सफल प्रशिक्षक पनि बने । सन् १९९२ देखि २००८ सम्मको प्रशिक्षण यात्रामा उनले न्युक्यासल युनाइटेडलाई सन् १९९५–९६ को प्रिमियर लिग उपाधिको निकै नजिक पुर्‍याएका थिए । 

उनले सन् १९९९ देखि २००० सम्म इङ्ग्ल्यान्ड राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी पनि सम्हालेका थिए । तर युरो २००० मा टोली समूह चरणबाटै बाहिरिएपछि र सन् २००२ विश्वकप छनोटमा जर्मनीसँग पराजित भएपछि उनले पदबाट राजीनामा दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप