‘हामीलाई पढाइएको अर्थशास्त्र गलत जगमा उभिएको छ’

समाचार सारांश
- विश्वका धनी राष्ट्रहरूमा आय असमानता बढेको र पर्यावरणमा नकारात्मक असर परेको छ।
- अर्थशास्त्रीहरूले भौतिकशास्त्रको मोडल प्रयोग गर्दा अर्थशास्त्रमा त्रुटिहरू देखिए, जसले गर्दा गलत नीतिहरू बने।
- अब अर्थतन्त्रलाई जीवन्त संसारको रूपमा हेर्दै, पर्यावरण र वितरणकारी नीतिहरू अपनाउनुपर्ने आवश्यकता छ।
अहिले संसारका धनाढ्य मुलुकहरूको हालत ठिक छैन । ठुला अर्थतन्त्रहरूको समूह ओइसीडीका धेरैजसो मुलुक विगत ३० वर्षमा उच्च तहको आय असमानता भोगिरहेका छन् । यद्यपि उनीहरूको पर्यावरण उपयोगको आयतन भने भयङ्कर ठुलो छ । उनीहरूको आजकै जस्तो उपभोग वा उत्पादन सबै मुलुकले गर्ने हो भने हामीलाई थप ४ देखि ६ वटासम्म पृथ्वी चाहिने अवस्था छ ।
ती ठुला अर्थतन्त्रहरू खासमा विवादास्पद तथा विभाजनकारी भएका छन् । उनीहरूको आर्थिक प्रणाली शिथिल अवस्थामा छ । यस्तो अवस्थाको समाधान कसरी खोज्ने भन्नेबारे मूलधारका आर्थिक सिद्धान्तहरूको आफ्नै तरिका छ । उनीहरू आफ्नो समाधानको सुरुवात आर्थिक वृद्धिको सिद्धान्तबाट गर्छन्, तर अहिलेका समस्या हल गर्न ती सिद्धान्त पनि अपुरो देखिएका छन् । सामाजिक तथा पर्यावरणीय रूपमा आफ्नै सुझावसमेत पूरा गर्न नसक्ने देखिएका छन् । यस्तो किन हुदैछ ? यसको जबाफ खोज्न हामीले आजका दिनमा पढ्ने अर्थशास्त्रको विकासको थालनीमा पुग्नुपर्छ । यसको विकास गर्ने क्रममा भौतिकशास्त्रबाट लोभिएका विचारकहरूले कसरी गलत विधि स्थापित गरेका थिए भन्ने विन्दुसम्म पुग्नुपर्ने हुन्छ ।
सन् १८७० को दशकमा केही उदयीमान अर्थशास्त्रीहरू अर्थशास्त्रलाई भौतिकशास्त्र जस्तै सम्मानित विषय बनाउने ध्याउन्नमा लागेका थिए । भौतिकशास्त्रका सिद्धान्त अनुसार वैज्ञानिक आइज्याक न्युटनले प्रतिपादन गरेको गतिको सिद्धान्तले रुखबाट खस्ने स्याउदेखि आकाशमा घुम्ने चन्द्रमासम्मको व्याख्या गरेको देखेर उनीहरू मोहित हुन्थे । उनीहरू अर्थशास्त्रमा पनि त्यस्तै सिद्धान्त बनाउन चाहन्थे ।
यसो गर्नका लागि त्यस बखतका अगुवा अर्थशास्त्रीहरू विलियम स्टानले जेभन्स तथा लियोन वालरसले न्युटनकै शैलीमा रेखाचित्रहरू कोर्न थाले । जसरी न्युटनको सिद्धान्तमा गुरुत्व बलले कुनै पनि वस्तुलाई आफूतर्फ खिचेर स्थिर अवस्थामा पुर्याउन खोज्छ, त्यसैगरी बजारका शक्तिहरू तथा बजार संयन्त्रले अर्थतन्त्रलाई तानेर सन्तुलनको अवस्थामा पुर्याउने कुरा लेख्न थाले ।
यसरी उनीहरूले छानेको यान्त्रिक बिम्ब झट्ट हेर्दा असाध्यै प्रभावशाली र आकर्षक देखिन्थ्यो । तर, खासमा यसको छनोट भने सुरुवातबाटै गलत थियो । सन् २००८ को वैश्विक वित्तीय सङ्कटले बजारप्रतिको भ्रमपूर्ण दृष्टिकोणलाई पर्दाफास गरिदिए यता धेरै मानिसले राम्रोसँग त्यसको अनुभूति गरेका छन् ।
झुटो भौतिक विज्ञानको विरासतले धेरै पुस्तासम्म अर्थशास्त्रीहरूलाई आर्थिक गतिको नियम खोज्न गलत बाटोमा आकर्षित गरिरह्यो । यसले उनीहरूको प्रयत्न, समय र ज्ञान निरर्थक विषयमा खेर फालिदियो । मानिस तथा पैसा गुरुत्वले जस्तो सदैव निश्चित नियम मानेर चल्दैनन् ।
त्यस्तो झुटो भौतिक विज्ञानको विरासतले धेरै पुस्तासम्म अर्थशास्त्रीहरूलाई आर्थिक गतिको नियम खोज्न गलत बाटोमा आकर्षित गरिरह्यो । यसले उनीहरूको प्रयत्न, समय र ज्ञान निरर्थक विषयमा खेर फालिदियो । मानिस तथा पैसा गुरुत्वले जस्तो सदैव निश्चित नियम मानेर चल्दैनन् । त्यसैले त्यहाँ गुरुत्वाकर्षणको नियम जस्तो कुनै नियम हुन सम्भव हुँदैन, तर पनि अर्थशास्त्रमा उनीहरूको गलत आविष्कारको प्रयोग आज पर्यन्त भइरहेकै छ ।
आर्थिक वृद्धिलाई प्राथमिकता दिने नीति निर्माणमा त्यस्ता सिद्धान्त अहिले पनि प्रयोग हुने गरेका छन् । सन् १९५५ मा अर्थशास्त्री साइमन कुजनेट्सले आफूले त्यस्तै गतिको नियम पत्ता लगाएको ठाने । उनका अनुसार त्यस्तो नियम फैलिँदो अर्थतन्त्रमा कसरी आय असमानता देखा पर्छ भन्नेबारे थियो ।
उनी आफूले बल्लतल्ल भेला गर्न सकेको तर अपुरो तथ्याङ्कको सहारामा नयाँ निष्कर्ष दिँदै थिए । उनका अनुसार जब कुनै मुलुकको कुल गार्हस्थ्य उत्पादन बढ्छ, सुरुमा असमानता बढ्छ तथा असमानताको स्तर धेरै माथि पुग्छ । अन्ततः असमानता घट्दै जान्छ । कुजनेट्स आफैँले उनको अध्ययन केवल पाँच प्रतिशतमात्रै व्यावहारिक तथ्यमा आधारित रहेको तथा ९५ प्रतिशत अनुमानमा आधारित रहेको बताएका थिए ।
अर्थतन्त्रलाई प्रणालीगत रूपमै विनाशको तरिकाबाट होइन पर्यावरण र ‘रिजेनेरेटिभ’ हुने गरी चलाऔँ तथा स्रोत, साधन वा नाफा एकै ठाउँ थुप्रो लाग्ने नभएर वितरणकारी बनाउँ । भौतिक शास्त्रको होइन, प्रकृतिको नियम मुताविक अर्थशास्त्रलाई चलाउँ ।
उनले आफ्नो चिन्तनमा विद्यमान आग्रहले काम गरेको हुन सक्नेसमेत बताएका थिए । तथापि उनको अध्ययनलाई गतिको नियमकै रूपमा चर्चा गर्न थालियो । अंग्रेजÞी वर्णमालाको अक्षर ‘यु’ जस्तै देखिने रेखाचित्रलाई ‘कुजनेटको वक्र’ का रूपमा विश्वव्यापी सिद्धान्त बनाएर प्रस्तुत गरियो । त्यसयता बितेको ५० वर्ष अर्थशास्त्रका प्रत्येक विद्यार्थीलाई ठुलो सिद्धान्तका रूपमा यो पढाउने गरिएको छ ।
उक्त वक्रले सिकाउने कुरा पनि गज्जबकै छ । यसका अनुसार जब अर्थतन्त्रमा असमानताको अवस्था देखा पर्छ, यो अझ खराब हुँदै जानु आवश्यक ठानिन्छ । यसरी असमानता बढ्दै जाँदामात्रै भविष्य राम्रो हुन्छ भनिन्छ । यस्तो अवस्थामा आर्थिक वृद्धि अझै बढाउदै जानुपर्ने सुझाव दिने गरिन्छ । यसरी कुजनेटको वक्रले धनाढ्यहरूले धन जम्मा गर्दै जाँदा तल्लो तहसम्म पुर्याउन सजिलो हुने मान्याताको ‘ट्रीकल डाउन’ अर्थशास्त्रका लागि ठुलो सैद्धान्तिक आड बन्न पुग्यो ।
साथै कुनै दिन सबैलाई राम्रो हुने आशा देखाएर अहिले व्यापक सरकारी खर्च कटौतीका लागि सजिलो बनाइदियो । ‘कुजनेट्स कर्भ’ को चर्चा सुरु भएको ४० वर्षपछि सन् १९९० को दशकमा अर्थशास्त्रीहरू जेन ग्र्सम्यान तथा एलन क्रुगरले पनि आफूले अर्थशास्त्रमा गतिको नियम पत्ता लगाएको ठाने ।
उनीहरूले पत्ता लगाएको नियम प्रदूषणबारे थियो । उनीहरूको नियम पनि कुजनेटले भने जस्तै स्वरूपमा अघि बढ्थ्यो । अर्थात् यस अनुसार पनि सुरुमा ठुलो असमानता हुन्थ्यो । अर्थतन्त्र बढ्दै जाँदा असमानता घट्दै जान्थ्यो । प्रदूषणबारेको यो विश्लेषणमा पनि तथ्याङ्कमा विभिन्न कमी तथा कमजोरी थिए ।
रिजेनेरेटिभ आर्थिक ढाँचाले पृथ्वीको स्रोत–साधन प्रयोग गरेर सधैँका लागि सकाउनुको साटो पटक–पटक प्रयोग गर्न सकिने बनाउँछ । हामी कार्बन, पानी तथा पौष्टिक तत्वसहित जीवनको चक्रलाई गहिरोसँग बुझ्ने बाटोमा जान्छौँ । तिनीहरूविरुद्ध उभिनुभन्दा पनि तिनीहरूबाटै सिक्न, सहकार्य गर्न थाल्छौँ ।
तथापि यसलाई तुरुन्तै ‘पर्यावरणीय कुजनेट्स कर्भ’ भनेर घोषणा गरियो । अब वातावरणको क्षेत्रमा पनि भविष्यमा राम्रो वातावरण पाउनका लागि आज खराब वातावरणबाट गुज्रनैपर्ने बाध्यताको सैद्धान्तिकरण गरियो । तालिम प्राप्त बालकजस्तो अर्थतन्त्र पनि वृद्धि हुँदै जाँदा पर्यावरण आफैँ सफा हुँदै जान्छ भनियो ।
हामीले आजसम्म आइपुग्दा अनुभवको आधारमा धेरै कुरा थाहा पायौँ । पछिल्ला दशकमा पटक–पटक दोहोरिन खोजेका आर्थिक सङ्कटहरू, जलवायु पतिवर्तनको अवस्था थप खराब हुँदै ‘टिपिङ पोइन्ट’ मा पुग्न लागेको परिस्थिति, विश्व अर्थतन्त्रमा बढिरहेको धनाढ्य १ प्रतिशतको कब्जादेखि विघटनको सँघारमा पुग्ने गरेका वित्तीय बजारहरूले हामीलाई केही कुरा स्पष्ट रूपमा भनिरहेका छन् ।
अब अर्थशास्त्रले आफ्नो प्रणालीबाट नक्कली भौतिकशास्त्रका सिद्धान्त तुरुन्त त्याग्नु पर्छ । पछिल्लो समय प्राप्त ठुलो मात्राको उन्नत तथ्याङ्कले हामीलाई प्रस्ट देखाएको छ– खासमा अर्थतन्त्रको गतिको नियम भन्ने नै हुँदैन । चरम असमानता तथा पर्यावरणीय विनाश जाना–जान गरिएका नीतिगत छनोट हुन्, विनाशको क्रममा देखा पर्ने अनिवार्य चरण होइनन् । यस्तो गलत नीतिगत छनोटलाई सही नीतिले फेर्न सकिन्छ । त्यहाँ भौतिक विज्ञानको नियम लागु नभएर जानाजान गरिएको निर्णय जिम्मेवार हुन्छ ।
प्रश्न उठ्न सक्छ, अर्थतन्त्रलाई गतिका नियमहरू पालना गर्ने तथा आफैँ सन्तुलनमा आउन सक्ने संयन्त्र नमान्ने हो भने अर्थतन्त्रबारे कसरी सोच्ने त ? यसको सहज जबाफ छ । हामीले अर्थतन्त्रलाई जीवन्त संसारका रूपमा हेर्नुपर्ने हुन्छ । यो जटिल छ, गतिशील छ तथा निरन्तर विकसित भइरहेको छ । अर्थशास्त्रीहरूले आफ्नो सोच तथा कार्यशैली फेर्नुपर्छ ।
उनीहरू इन्जिनियर हुने होइन, फूलबारीको माली हुने हो । अर्थतन्त्र भनेको टाउकोमा कडा हेल्मेट लगाएर प्राविधिकले ‘ह्यान्डल’ को सहायतामा सजिलै चलाउन सकिने यन्त्र होइन । त्यस्तो ‘ह्यान्डल’ वा कुनै उत्तोलक यथार्थमा अस्तित्वमै हुँदैन । अर्थतन्त्रमा त कडा टोपीको सट्टा मुलायम पन्जा लगाएर गोडमेल गर्न जानुपर्छ । तपाईं पूर्ण रूपमा खुला बजार तथा बेरोकटोक प्रतिस्पर्धा भन्नुहुन्छ भने केही पनि गर्न सक्नुहुन्न ।
यो त फूलबारी हो । तपाईंले त अर्थतन्त्रलाई मसिनो गरी हेर्नुपर्छ, सम्भावनाहरू चिन्नुपर्छ, हुर्काउनुपर्छ र मात्रै फुलाउन वा फलाउन सक्नुहुन्छ । यसो भन्दै गर्दा विभिन्न सवाल उठ्न सक्छन् । आर्थिक मालीहरूले कसरी समावेशी र दिगो अर्थतन्त्र बनाउन सक्छन् ? कसरी दिगो विकासका लक्षहरू हासिल गर्न सक्छन् ? यी समस्या समाधानका लागि हामीले दुई वटा मुख्य सिद्धान्तको सहायता लिनुपर्ने हुन्छ ।
ती हुन्– अर्थतन्त्रलाई प्रणालीगत रूपमै विनाशको तरिकाबाट होइन, पर्यावरण र प्रकृति बलियो (रिजेनेरेटिभ) हुने गरी चलाऔँ तथा स्रोत, साधन वा नाफा एकै ठाउँ थुप्रो लाग्ने नभएर वितरणकारी (डिष्ट्रीब्युटिभ) बनाऔँ । भौतिक शास्त्रको होइन, प्रकृतिको नियम मुताबिक अर्थशास्त्रलाई चलाउँ ।
रिजेनेरेटिभ आर्थिक ढाँचाले पृथ्वीको स्रोत–साधन प्रयोग गरेर सधैँका लागि सकाउनुको साटो पटक–पटक प्रयोग गर्न सकिने बनाउँछ । हामी कार्बन, पानी तथा पौष्टिक तत्वसहित जीवनको चक्रलाई गहिरोसँग बुझ्ने बाटोमा जान्छौँ । तिनीहरू विरुद्ध उभिनुभन्दा पनि तिनीहरूबाटै सिक्न, सहकार्य गर्न थाल्छौँ । चक्रीय अर्थतन्त्र तथा ‘कोक्रोदेखि कोक्रोसम्म’ जस्ता अवधारणामा भएका नवप्रवर्तनहरूले हामीलाई अघिलो शताब्दीका विनाशकारी अभ्यास छोडेर जेनेरेटिभ शैली अपनाउन सजिलो बनाइदिएका छन् ।
वितरणकारी (डिष्ट्रीब्युटिभ) आर्थिक ढाँचा अनुसार, आर्थिक गतिविधिबाट सिर्जना भएको मूल्यलाई उत्पादनमा संलग्न सबै मानिसहरूमा समतामूलक वितरणको सुनिश्चितता गरिन्छ । कामदारहरूको स्वामित्व भएका केही त्यस्ता कम्पनीहरू अहिले पनि सक्रिय छन् । जस्तो जोन लेविस पार्टनर्सिप एन्ड युनिपार्टले आफ्ना अल्पकालीन सेयर सदस्यहरूको साटो प्रतिबद्ध कामदारहरूलाई मुनाफा वितरण गर्ने गर्छ ।
अर्थतन्त्र भनेको कुनै स्थिर चिज नभएर सदैव विकास भइरहने कुरा हो भनेर अनुभूत गर्नु धेरै ठुलो कुरा हो । अर्थतन्त्रका जटिल प्रणालीहरू विभिन्न नवप्रवर्तन तथा हेरफेर हुँदै विकास हुन्छन् भने यसले नयाँ पहलहरूको महत्त्व यसै बढाइदिन्छ ।
समुदायको स्वामित्वमा रहेका नवीकरणीय ऊर्जा प्रणालीहरू पनि छन्, जसले विद्युत् उत्पादनका साथै समुदायका लागि आय पनि सिर्जना गर्ने गर्छन् । ओपेन बिल्डिङ इन्स्टिच्युट जस्ता ‘क्रियटिभ कमन्स’ भनिने अनुमति प्रणाली छन्, जसले विभिन्न मूल्यवान् आविष्कार, नवप्रवर्तनहरू आम मानिस माझ फैलाउन, सुधार गर्न तथा सदुपयोग गर्न सहज बनाउँछन् । डिजिटल नेटवर्कहरूको उदयले गएको शताब्दीका विभाजनकारी आर्थिक ढाँचाहरूलाई वितरणकारी बनाउन सजिलो बनाइदिएका छन् ।
आर्थिक नीति निर्माताहरू कसरी बगैँचाको मालीले झैँ काम गर्न सक्छन् त भन्ने प्रश्न उठ्न सक्छ । उदविकासजन्य अर्थशास्त्रको क्षेत्रका अगुवा चिन्तक एरिक बेनहोकरका अनुसार नीति निर्माताहरूले नीतिलाई परीक्षणको अनुकूलन गर्ने ठाउँको रूपमा लिनुपर्छ । हामीले प्राकृतिक छनोटको प्राकृतिक प्रक्रियाको सिको गर्नुपर्छ । जसलाई छोटकरीमा भन्दा विविधीकरण गर्ने, छनोट गर्ने, त्यसलाई बढावा दिने भनेर भन्न सकिन्छ ।
जस्तैः सुरुमा सानो स्तरको आर्थिक प्रयासका धेरै नीतिगत परीक्षणहरू गर्ने । जुन परीक्षणले काम गर्दैन, त्यसलाई छोडिदिने र सफल भएकालाई अघि बढाउने । नोबेल पुरस्कार विजेता राजनीतिशास्त्री एलिनोर ओष्ट्रोम यसमा पुरापुर सहमति जनाउँदै भन्छिन्, ‘हामीले यसअघि कहिल्यै पनि आजको जस्तो वैश्विक रूपमै आपसमा जेलिएको समाजका समस्याको सामना गर्नुपरेको थिएन । कुन समाधानको तरिकाले राम्रोसँग काम गर्छ भन्ने कसैलाई थाहा छैन । त्यसैले समस्याबाट सिक्दै तथा तत् अनुकूल तीव्ररूपमा उपयोग हुँदै जाने प्रणाली बनाउनु अत्यावश्यक छ ।’
अर्थतन्त्र भनेको कुनै स्थिर चिज नभएर सदैव विकास भइरहने कुरा हो भनेर अनुभूत गर्नु धेरै ठुलो कुरा हो । अर्थतन्त्रका जटिल प्रणालीहरू विभिन्न नवप्रवर्तन तथा हेरफेर हुँदै विकास हुन्छन् भने यसले नयाँ पहलहरूको महत्त्व यसै बढाइदिन्छ । जसकारण समपूरक मुद्राहरूदेखि ‘ओपेन सोर्स डिजाइन’ जस्ता सन्दर्भहरू यत्तिकै पनि नयाँ आर्थिक ढाँचाको अग्र भागमा आइहाल्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका युवा मिडफिल्डर बेलिङ्घमले आगामी सिजनको केही खेल गुमाउने
-
चितवनलाई पर्यटकीय राजधानी घोषणा गर्न माग
-
एनसेलले ल्यायो प्रिपेड ग्राहकका लागि तीनवटा नयाँ साप्ताहिक रिन्यूअल प्याक
-
काठमाडौं परिसरबाट थुनुवा भागे
-
दुई हिमाल आरोहणपछि कविता नेपालीले के भनिन् ?
-
चिहानबाट चोरिएको जिम माेरिसनको मूर्ति ३७ वर्षपछि भेटियो