बिहीबार, ०८ जेठ २०८२
ताजा लोकप्रिय

चीनले श्रममा केन्द्रित भएर विकास गर्‍यो, हामीले यसलाई सिकेनौँ

बिहीबार, ०८ जेठ २०८२, ०९ : ५९
बिहीबार, ०८ जेठ २०८२

समाचार सारांश

  • लेखमा चीनबाट सिक्नुपर्ने कुराहरू र नेपालमा त्यसको कार्यान्वयनको सम्भावनाबारे चर्चा गरिएको छ।
  • चीनको गरिबी निवारण, पार्टी सञ्चालन, र श्रम संस्कृतिको महत्वबारे विश्लेषण गरिएको छ, साथै नेपाली समाज र राजनीतिक प्रणालीमा यसको सान्दर्भिकता केलाइएको छ।
  • देङ सियाओपिङको नेतृत्व र चीनको विकास मोडेलको समीक्षा गर्दै, भ्रमणको उद्देश्यमूलकताबारे जोड दिइएको छ।

सकारात्मक हिसाबले हेर्दा चीनबाट सिक्ने कुरामा स–साना कुराबाट प्रशिक्षित हुन सकिन्छ । ऐतिहासिक हिसाबले माओत्सेतुङको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले सम्पन्न गरेको नयाँ जनवादी क्रान्तिकै निरन्तरतामा पछिल्लो समय चीन विश्व शक्ति बन्ने प्रक्रियामा छ । 

अर्कोतिर, चिनियाँ कम्युनिस्ट पार्टी सिकाइ र अनुशासनको हिसाबले हिजोको माओकालीनजस्तै देखिन्छ । यसको मतलब यो धेरै भीमकाय विषयवस्तु हो । त्यसकारण त्यहाँ धेरै सिक्ने वस्तु भइहाल्यो । त्यसबाहेक पूर्वाधार र भौतिक संरचनाहरू छन् । त्यसबाट पनि सिक्न त सकिन्छ तर भर्खर सिकेर हामीलाई काम लाग्ने विषयवस्तु होइनन् । 

मूलतः चिनियाँ कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले पार्टी सञ्चालनका निम्ति गरेका अभ्यासहरू सरकारमार्फत पार्टीसमेत जोडिएर चीनबाट गरिबी उन्मूलन गरेको देखिन्छ । पछिल्लो समय कतिपय उठेका विषय सिक्नका निम्ति धेरै महत्त्वपूर्ण छन् । तीमध्ये पनि खास पार्टी निर्माण, परिचालन, सदस्यतादेखि लिएर पार्टीमा नेताहरूलाई जिम्मेवारी दिन तयार गरिएका सर्तहरू हाम्रा निम्ति काम लाग्न सक्छन् ।

चीन भ्रमणपछि पार्टी अध्यक्षसँग छलफल हुँदा एउटा कुरा लागु गर्न सकिन्छ भनेर मैले प्रस्ताव राखेँ । कम्युनिस्ट पार्टीको स्कुलिङ कस्तो हो भन्ने कुरा हामी ६ दिन छोङछिङ बसेको पेरिफेरिमा हेर्‍यौँ । उनीहरूको स्कुल विभाग छ, त्यहाँ जुन निश्चित कोर्स हुन्छ, त्यसमा पार्टीको महासचिवदेखि सबै तहगत सहभागी हुनुपर्छ । पार्टी स्कुलको त्यो कोर्स पूरा गरे मात्रै जिम्मेवारी थप्दा त्यसको पनि मापन हुन्छ । यदि त्यो कोर्स पूरा गरेको छैन भने उसलाई जिम्मेवारी थप्दा मात्रा कमजोर हुन्छ । उनीहरूले त्यो व्यवस्था गरेका छन् । त्यो भनेको विचार र दृष्टिकोण निर्माण गर्ने र त्यसका आधारमा पार्टी सञ्चालन गर्छन् । त्योचाहिँ हामीले पनि गर्न सक्छौँ ।

आन्तरिक रूपमा राजा रजौटाहरू सामन्तवाद हो । यिनीहरूविरुद्ध विजयी नभएसम्म आन्तरिक समस्या हल हुन सक्दैन ।

हामीले कोर्स बनाउन सक्छौँ, स्कुल बनाउन सक्छौँ । त्यही स्कुलमा पार्टी अध्यक्षदेखि तलका सदस्य सम्मलाई सहभागी गराउन सक्छौँ । त्यो स्कुलको कोर्स पूरा गरेको र नगरेको आधारमा जिम्मेवारी थप्ने कि नथप्ने मापन गर्न सक्छौँ । यो कुरा हामीले गरौँ भनेर मैले प्रस्ताव गरेँ । त्योबाहेक विषय तत्काल लागु गर्न सम्भव छैन । किनकि त्यहाँको पार्टी र सरकारबिच धेरै भेद देखिँदैन । हाम्रो हकमा त्यस्तो स्थिति छैन ।

माओकै पालामा हाम्रा दुई मुख्य शत्रु हुन् भनेका थिए । पछि उनीहरूले पहाड भने । अर्थात् हाम्रा दुई मुख्य चुनौती आन्तरिक रूपमा सामन्तवाद भनियो । बाहिरको चुनौती भनेको साम्राज्यवाद हो । त्यतिवेला चीनमा ८/९ वटा देशहरूको उपस्थिति थियो । चीनका केही भागहरू लिइराखेका थिए । पूरै चीन लिएका थिएनन् । ताइवानको केस त्यतिवेलादेखिकै हो । साम्राज्यवादसँग लडेर देशलाई स्वतन्त्र बनाउने, नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने एउटा कार्यभार हो । जसले बाहिरी राष्ट्रिय समस्याको हल गर्छ भनेर माओले त्यतिवेलै भनेका हुन् । 

दोस्रो, आन्तरिक रूपमा राजा रजौटाहरू सामन्तवाद हो । यिनीहरूविरुद्ध विजयी नभएसम्म आन्तरिक समस्या हल हुन सक्दैन । यसलाई माओले आन्तरिक राष्ट्रियता भनेका छन् । माओले बनाएका यी दुवै लाइनविरुद्ध लडेर चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भएको हो । हामीले पनि त्यसैलाई अनुसरण गरेको हो । 

जनयुद्ध सुरु गर्ने वेलामा माओले जे व्याख्या गरेका थिए । हाम्रोजस्तो किसान बाहुल्य भएको समाज, पछौटे उत्पादन पद्धतिमा माओले गरेको विश्लेषण नै हाम्रो विश्लेषण हुन्छ भनेका थियौँ । हामीले पनि दुई वटा शत्रु सामन्तवाद र साम्राज्यवाद भन्ने उठाएका थियौँ । तर हामीले माओको नेतृत्वको कम्युनिस्ट पार्टीले जस्तो छिचोलेर लडाइँ लड्न सकेनौँ । त्यसलाई उनीहरूले ऐतिहासिक कडीका रूपमा निरन्तर सिक्ने प्रयास गरिरहेका छन् । आज पनि बाहिरी चुनौती हिजोको जस्तै नभए पनि कुनै न कुनै रूपमा छ । त्यसको रूप फरक छ । मुद्दा फरक छ होला । हिजो साम्राज्यवाद प्रत्यक्ष रूपमा चीनमा उपस्थित थियो, तर आज प्रत्यक्ष छैन होला, त्यति मात्रै फरक हो । 

त्यसकारण त्यो कुरामा उनीहरूले पार्टी नेता, कार्यकर्ता र जनतालाई प्रशिक्षित गरेका छन् । दोस्रो महत्त्वपूर्ण कुरा, जनताको सेवा केन्द्रीय प्रश्न भएको कुरा पनि माओकै पालादेखि उठेका विषय हुन् । जनताको साथ नलिई केही पनि काम गर्न सकिँदैन भनी माओले त्यतिवेला जनताको परिभाषा पनि गरेका थिए । 

अनुशासनको ८ नियम माओले त्यसैअनुसार बनाएका थिए । लालसेना हिँड्दै जाँदा भुईँ चिसो रहेछ भने ढोकाको फक्ल्याटो झिकेर सुत्दा रहेछन् ।

चीनमा जापानले आक्रमण गरेको थियो, तर आक्रमण गरेको विषय ठिक कि बेठिक भनेर चिनियाँ समाजमा बहस चल्यो । त्यतिवेला जनताको परिभाषामा उनले भने, जापानी साम्राज्यवादले आज चिनियाँ सार्वभौमिकतामाथि आक्रमण गरेको छ । जसले त्यसको विरोध गर्छ, त्यसविरुद्ध लड्छ, आवाज उठाउँछ, त्यो चिनियाँ जनता हो । जसको अनुहार चिनियाँ छ । नागरिकता चीनको लिएको छ । तर जापानले चीनको सार्वभौमिकताविरुद्ध गरेको आक्रमण त्यसको समर्थनमा उभिन्छ भने त्यो  चिनियाँ जनता होइन । मतलब, जनताको बिचमा गएर जनताको सेवा गर्ने, साथी बनाउने, त्यसले मात्रै दुई वटा पहाडको चुनौती जित्न सकिन्छ, नत्र सकिँदैन । 

अनुशासनको ८ नियम माओले त्यसैअनुसार बनाएका थिए । लालसेना हिँड्दै जाँदा भुईँ चिसो रहेछ भने ढोकाको फक्ल्याटो झिकेर सुत्दा रहेछन् । माओले के भन्छन् भने– पहिला झिक्ने कुरा नै कति सही हो, कति गलत हो ? तर भोलिपल्ट हिँड्नु अगाडि जस्तो थियो, त्यो ढोका बनाउनुपर्छ । सियो धागोको कुरा पनि त्यही हो । जनताको सेवामा पार्टीलाई केन्द्रित गर्ने कार्य संस्कृति हो । 

त्यसले नै चिनियाँ कम्युनिस्ट पार्टी यहाँ पुगेको हो । 

आजसम्म पनि सोही संस्कृतिलाई चिनियाँले पछ्याइराखेका छन् । सिजु गाउँ पार्टीका सचिवले संसारका सबैभन्दा बहुमूल्य वस्तु सुन र चाँदी भए पनि हाम्रा लागि त्योभन्दा बहुमूल्य चिज जनताको खुशी हो भनेका थिए । त्यो शब्द कति मर्मस्पर्शी छ । आजको पुँजीवादी दुनियाँमा सबैभन्दा ठुलो चिज भनेको निजी सम्पत्ति हो । निजी सम्पतिमा पनि बहुमूल्य सम्पत्ति सुन, चाँदी, हीरा, मोती हो भन्ने छ । 

यसबाट आजको हाम्रो समाज पनि लपेटिएको छ । 

यस्तै कुराले मात्रै उनीहरू सत्रुहरूविरुद्ध जनतालाई संगठित गर्न सकेका छन् । त्यही गाउँमा गरिबी निवारणको कुरा त भयो । गरिबी निवारणपछि फेरि गरिबीमा फर्किने खतरा कति हो भन्ने कुरा पनि उनीहरूले अध्ययन गरिराखेका छन् । के कारणले खतरा छ भन्नेमा उनीहरूले काम गरिराखेका छन् । 

हामीकहाँ पानीको धारो बनायो, पाइप बिछ्यायो पानी आओस् कि नआओस केही मतलब गर्दैनन् । गरिबी निवारण गरिसकेपछि फेरि गरिबीमा फर्किने चुनौती कति हो ? त्यसको मसिनो अध्ययन गरेर उपचार कसरी निकाल्ने भन्नेमा चिनियाँले काम गरिराखेका छन् । यसले जनताबिच कति गहिरोसँग काम गरिराखेका छन् भन्ने देखिन्छ । 

आर्थिक खुला नीतिमा चिनियाँले कुन रणनीतिअनुसार यो काम गरिराखेका छन् भन्ने विषय बुझ्न कठिन छ । तर अहिलेसम्म देखिएको आधारमा उनीहरूले तीन जना नेतालाई आधुनिक चीनको मुख्य नेता मान्छन् । माओत्सेतुङ, देङ सिआओपिङ र सी चिनफिङ । यी तीन नेताका तीन विशेषता छन् भन्छन् चिनियाँहरू । 

हामीलाई भने देङ खत्तम मान्छे भनेर भनियो । उनी घोर दक्षिणपन्थी हो, पूरै पुँजीवादी मान्छे हो भनियो । हामी त्यसबाट भयंकर प्रशिक्षित भयौँ ।

युगको विशेषता त हुँदै हो तर योगदानको विशेषताको हिसाबले दुई पहाडविरुद्ध लड्ने काम माओले गरे । सामन्तवाद र साम्राज्यवाद मुक्त पारे । आधुनिक समाजवादको बलियो फाउन्डर स्थापित गरे । 

दोस्रो, आर्थिक रूपान्तरण र आर्थिक विकास देङले गरे । तेस्रो, चिनियाँ विशेषताको समाजवाद(मध्यम खालको समाजवाद २०२१ सम्म, २०४९ सम्मको उच्चस्तरको समाजवाद नेतृत्व सीले गरेका उनीहरूको बुझाइ छ । 

हामीलाई भने देङ खत्तम मान्छे भनेर भनियो । उनी घोर दक्षिणपन्थी हो, पूरै पुँजीवादी मान्छे हो भनियो । हामी त्यसबाट भयंकर प्रशिक्षित भयौँ । त्यो प्रशिक्षण एउटा अवधिको दृष्टिकोण त हो नै, तर पछिल्लो समाजको समस्या अध्ययन गरेर प्रशिक्षण दिएको होइनरहेछ भन्ने लागेको छ । 

आखिर विचार र सिद्धान्त भनेको तत्कालीन समाज र समयको प्रतिविम्ब हो । देङका पनि धेरै समस्या होलान् । यद्यपि सोभियत संघ जसरी ढल्यो, त्यसकै मोडेलमा चीन गएको भए आजको अवस्थामा आउँथ्यो कि आउँदैन थियो भन्न सकिँदैन थियो । चीनले गरेको सबै चिज मार्क्सवाद दृष्टिअनुसार छ कि छैन, दोस्रो छलफलको विषय बन्ला । 

समाजवादका कति कमजोरीका कारण समाजवादी देशहरू विघटित भए । त्यसबाट शिक्षा लिएर चीनले यो प्रक्रिया चालेको भन्ने कुरा जोडिएको देखिन्छ । सबै राज्यनियन्त्रित प्रणालीले राम्रो मान्छे बनाउला भनेको रुस बनेन । कम्युनिस्ट पार्टीको सदस्यता गोजीमा हालेको छ र कम्युनिस्टकाविरुद्ध बोल्दै हिँडेको छ ऊ । कम्युनिस्ट पार्टीले दिएको सबै सुविधा उपयोग गरेको छ, उसले समाजवाद विघटन भएको दिन गलत छ भनेर एक शब्द पनि बोल्दैन । त्योबाट शिक्षा लिएर चीनले काम गरेको हो कि भन्ने लाग्छ । 

सन् १९८२ मा चिनियाँ कम्युनिस्ट पार्टीको बैठकको चित्र उनले व्याख्या गरेका छन् । पोलिटब्युरो अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको एउटा स्ट्यान्डर्ड हो । हाम्रोमा पोलेर खाइहालियो ।

चीनले विस्तार गरेका बजार आजको मार्क्सवादसँग कति मेल खान्छ ? यस विषयमा दुनियाँले बुझ्ने गरी विषयवस्तु सार्वजनिक गरेको मलाई लाग्दैन । मार्क्सवादसँग कति मिल्छ मिल्दैन, चिनियाँ आवश्यकता हो भनेर बुझ्नुपर्छ । जसका कारण चीन बिस्तारै बढिराखेको छ । यसबारे थुप्रै प्रश्न छ । मार्क्सवादबारे थरीथरीका विचार छन् । 

चीन संशोधनवादी भयो भनेर हामीले विरोध गर्‍यौँ । हामीले आफूलाई क्रान्तिकारी दाबी गर्‍यौँ । हामी क्रान्तिकारीहरू आजको जीवनशैली, व्यवहार, सिद्धान्त र संस्कृतिप्रतिको प्रतिबद्धता हेर्ने हो भने उनीहरू धेरै अगाडि बढेका देखिन्छन् । हाम्रो केही मिल्दैन । त्यसकारण क्रान्तिकारी हामी हो कि होइन ? क्रान्तिकारी भन्ने त्यसअनुसारको नीति, कार्यदिशा र कार्यक्रम निर्माण गर्न नसक्नुले भन्नुको के अर्थ ? 

यस्ता धेरै प्रश्नसँग जोडिन्छ । 

त्यसकारण देङ तत्कालीन चिनियाँ समाजको तत्कालीन आवश्यकताको प्रक्रियामा जोडिएको विषय होला भनेर बुझ्नुपर्ला । त्योसँगै उनीसँग सिक्नुपर्ने अर्को एउटा भयंकर ठुलो कुरा छ । त्यति ठुलो नेता देङ कहिल्यै राष्ट्रपति भएनन् । कहिल्यै प्रधानमन्त्री वा पार्टीको मुख्य नेता भएनन् । राज्य र पार्टीको नेता नभएर पनि त्यति ठुलो नेता हुने रहेछ । काम गर्ने, क्षमता प्रदर्शन गर्ने, नीति निर्माण तहमा प्रभाव पार्न सक्ने हो भने मुख्य नेता नभएर पनि पार्टी नेताको रूपमा स्थापित हुँदो रहेछ भन्ने कुरा उनको जीवनीबाट सिक्न सकिन्छ ।

सन् १९८२ मा चिनियाँ कम्युनिस्ट पार्टीको बैठकको चित्र उनले व्याख्या गरेका छन् । पोलिटब्युरो अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको एउटा स्ट्यान्डर्ड हो । हाम्रोमा पोलेर खाइहालियो । चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरोअनुसार चिनियाँ समाजको २० वर्ष, ५० वर्ष, १०० वर्षपछिको चित्र कस्तो होला भनेर आकलन गर्न सकिन्छ । देङले के भनेका छन् भने– सबैले लौरो टेकेका छन्, ठुलो पावरवाला चस्मा लगाएका छन्, सिँढी पनि लौरो टेकेर थुरथुर काम्दै उक्लेका छन् । बाहुल्य बुढापाकाकै छ । यस्ता पोलिटब्युरोले अबको चित्र कसरी दिन सक्छ ? यिनीहरू स्वैच्छिक रूपमा पार्टीबाट बिदा हुन किन चाहँदैनन् ? यसमा उमेरजन्य स्वाभाविक प्रक्रियालाई भन्न खोजिएको होइन, त्यसमा गलत अर्थ नलागोस् । 

यसमा तीन वटा समस्या हल गरियो भने समाधान हुन्छन् भन्ने विकल्प उनले दिएका छन् । त्यो भनेको पोलिटब्युरो सदस्यले त्यहाँ तीन वटा सुविधा पाउने रहेछन्, मन्त्रीसरहको सुविधा, गाडीको सुविधा र आवासको सुविधा । यी तीन सुविधा र वर्षको एकपल्ट केन्द्रीय समितिलाई सल्लाहकार भएर प्रशिक्षित गर्ने गरी विकल्प दिएमा उनीहरूले मान्छन् भन्ने निष्कर्ष निकाले । इतिहासमा ठुला काम गरेर आएका बुढाबुढी पोलिटब्युरो देङका प्रस्तावमा सहमत हुन्छन् । पार्टीभित्र नयाँ पुस्ता आउँछन् । त्यही पुस्ता मध्येका एक हुन हालका महासचिव सी चिनफिङ । यो सामान्य कुरा हो ? 

चिनियाँबाट सिक्नुपर्नेमा पहिलो उदाहरण ठिक समयमा कार्यक्रममा पुग्नुपर्छ, काममा पुग्नुपर्छ । यहाँ एक मन्त्रीलाई तीन घण्टासम्म आयोजकले कुर्छ ।

हामीसँग कतै मिल्छ ? भोलि के हुन्छ थाहा छैन ? अबको लिडर को हो थाहा छैन ? ५० वर्षमा नेपाली समाजलाई कहाँ पुर्‍याउँछौँ केही छैन । हावा तालमा दौडिएका छन् । उट्पट्याङ कुरा गरेका छन् । यी कुरा हामीले सिक्न सक्दैनौँ ? देङ संशोधनवादी हो, दक्षिणपन्थी हो भनेर मात्र पार्टी बन्यो ? योसँग आजको चिनियाँ समाजको सम्बन्ध, प्रगति, आजको लिडर र पार्टी जन्मिए । 

नेपालबाट सयौँ होइन, हजारौँ टोली चीन गएका छन् । पार्टीको नाममा, राज्यको तर्फबाट, औपचारिक तथा अनौपचारिक विभिन्न तहबाट नेपाली प्रतिनिधिमण्डल चिनियाँ अध्ययन भ्रमणका निम्ति गएका छन् । कम्युनिस्ट पार्टीको नाममा त झन् धेरै गएका छन् । छोङछिङकै कृषि फर्म प्रचण्ड, रेनु दाहाल गएको कुरा उनीहरूले भन्दै थिए । देव गुरुङ गएको कुरा गर्दै थिए । नढाँटी भन्दा नेपाली जति पनि प्रतिनिधिमण्डल गएका छन्, चीनको सीमा टेकेको दिनबाट फर्किर नेपालको सीमासम्म मात्र सीमित छ । हामीले त्यहाँ जे–जे कुरा सिक्छौँ । पार्टीभित्र ती सबै कुरा लागु गर्न सकिँदैन । हाम्रो समाज फरक छ । यहाँको अन्तर्विरोध र त्यहाँको अन्तर्विरोध फरक छ । पार्टीले राज्यको नेतृत्व गर्ने यहाँको पद्धति र त्यहाँको पद्धति धेरै फरक छ । 

चिनियाँबाट सिक्नुपर्नेमा पहिलो उदाहरण ठिक समयमा कार्यक्रममा पुग्नुपर्छ, काममा पुग्नुपर्छ । यहाँ एक मन्त्रीलाई तीन घण्टासम्म आयोजकले कुर्छ । हामीलाई चिनियाँले खादा पनि लगाएनन् । माला, अबिर पनि लगाएनन् । कहीँ केही गरेनन्, हामीकहाँ सहिदको सालिकमा माला लगाउन जाँदा सालिकमा भन्दा माला लगाउन जाने मानिसको गलामा बढी माला हुन्छ । अनि हामीले सिक्यौँ ? 

यस्ता कैयौँ चिजहरू छन् सिक्नुपर्ने । आजको हाम्रो नेपाली समाज र राजनीतिक पद्धतिमा पनि कार्यान्वयन गर्न सक्ने थुप्रै विषयवस्तु छन् । त्यसकारण हामी भ्रमण जाने, भौतिक संरचनामा मक्ख पर्ने, चिनियाँहरूको सयौँ थरीका खानेकुरा टेबलमा घुमाउने खाने, जिब्रो फट्कायो बस्यो, सकियो । 

मेरो जोड के छ भने चीन भ्रमणमा जाँदा उद्देश्य सहितको प्रतिनिधिमण्डल पठाउन सकिन्छ । आइसकेपछि सम्बन्धित प्रतिनिधिमण्डलले सिकेका चिजहरू सम्बन्धित विभाग र पार्टीमार्फत समाजमा सकारात्मक प्रभाव पार्नुपर्छ । 

चिनियाँहरूमा इन्जिनियर को हो ? को श्रमिक हो ? को ठेकेदार हो ? को ओभरसियर हो ? केही पनि थाहा नहुने । सबैले काम गरेका हुन्छन् ।

हामी त्यहाँ आधुनिक कृषि फर्ममा पुग्यौँ । उनीहरूले १०० वर्षका निम्ति कृषिलाई कति जग्गा चाहिएला भनेर आकलन गरेका छन् । यहाँ कृषि विश्वविद्यालयको जग्गामा क्रिकेट मैदान बनाउने काम गरेका छौँ । त्यो विकास हो भनेर उल्टो सिक्छौँ । त्यसकारण भ्रमणमा जाने कुरा बेठिक छैन, तर उद्देश्यमूलक हुनुपर्छ । त्यहाँबाट सिकेर आइसकेपछि केही न केही यहाँ लागु गर्नुपर्छ । यसमा विल्कुल कमजोरी देखियो । 

नेपाल विकास नहुनुको मुख्य कारण श्रमसँग जोडिन्छ । चिनियाँहरूले आम मानिसलाई श्रममा केन्द्रित गरे । प्रारम्भमा पो प्रविधि थिएन, अहिले त प्रविधिको धेरै विकास गरे । आज मानिसले गर्नेभन्दा प्रविधिले गर्ने काम धेरै देखिएको छ । श्रमप्रति सम्पूर्ण समाजलाई केन्द्रित गरे । श्रमबाटै हो पशुजगतबाट मान्छे बनेको । सामूहिक श्रमलाई उनीहरूले समाते । 

चिनियाँहरूमा इन्जिनियर को हो ? को श्रमिक हो ? को ठेकेदार हो ? को ओभरसियर हो ? केही पनि थाहा नहुने । सबैले काम गरेका हुन्छन् । माओकालीनदेखि निर्माण भएको श्रम संस्कृति हो । कामको प्रकृति फरक होला तर काम त गर्नुपर्‍यो । 

हाम्रोमा इन्जिनियर फिल्डमै जाँदैन । गए पनि गडगडाएर जान्छ । ओभरसियरले ठेकेदारसँग मिलेर के–के गर्छ, कुल्लीलाई काम लगाउने नाइकेले डिलमा बसेर अह्राएको अहार्यै हुन्छ । यसमा परिवर्तन गर्नुपर्छ । 

रुसी र चिनियाँ समाजको ध्वंसकालीन साहित्य र निर्माणकालीन साहित्य पढ्नुपर्छ । लडाइँका वेला ध्वंसकालीन समाज कसरी परिचालित थियो ? लडाइँ जितिसकेपछि फेरि निर्माणको प्रक्रिया कसरी सुरु भयो भन्ने कुरा हामीले मसिनोसँग पढ्न सकियो भने ठ्याक्कै चित्र आउँछ । 

यसको एउटै कारण श्रम हो । श्रमले चेतना आयो । त्यो चेतनाले नयाँ वस्तुको आविष्कार बनेको छ । पछिल्लो समय चिनियाँ सर्वोच्चतालाई सीपीसीले केन्द्रमा राखे । चीन विश्वमा सबैभन्दा अगाडि हुनुपर्छ । विश्वकै नेतृत्व गर्नुपर्छ, संसारकै सबैभन्दा पहिलो चिज चीनले गर्नुपर्छ भन्ने कुरा आज जोडिएको हो । सायद त्यो छोङछिङ पनि त्यही भावबाट बनेको हो । त्यहाँ ३५ तले, ४० तले, ५० तले घर बनेका छन् ती सबै आवासका घर हुन् । त्यसबाट पनि हामीले सिक्न सक्छौँ । घर बनाउनका निम्ति सबै जमिन प्लटिङ गरेर एक/एक तले, दुई/तीन तले घर किन चाहियो ? त्यसका निम्ति एउटै कुरा हो नेता, कार्यकर्ता, जनता, ठुला, साना सबैलाई श्रममा केन्द्रित गर्ने । 

(न्यौपानेसँग कुराकानीमा आधारित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लेखनाथ न्यौपाने
लेखनाथ न्यौपाने
लेखकबाट थप