बिहीबार, ०८ जेठ २०८२
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : चीनको विकास

चीनको छलाङबाट नेपालका कम्युनिस्टले के सिक्ने ?

योग्य नेता, फलामे अनुशासन, भ्रष्टलाई मृत्युदण्ड
बिहीबार, ०८ जेठ २०८२, १० : ०७
बिहीबार, ०८ जेठ २०८२

समाचार सारांश

  • माओवादी केन्द्रका नेता दीनानाथ शर्माको नेतृत्वमा २० सदस्यीय टोली चीनको छोङछिङ पुग्यो, चिनियाँ कम्युनिस्ट पार्टीसँग अनुभव आदानप्रदानका लागि।
  • भ्रमणका क्रममा चिनियाँ विशेषताको समाजवाद, पूर्वाधार विकास, र गरिबी निवारणबारे जानकारी लिइयो, सीपीसी नेताहरूसँग प्रशिक्षण पनि भयो।
  • नेपाल र चीनबीचको सम्बन्ध र सीपीसीका नियमबारे छलफल भयो, साथै नेपालका कम्युनिस्ट नेताहरूले चीनबाट पार्टी अनुशासन र कार्यशैली सिक्नुपर्ने कुरा उठ्यो।

छोङछिङ, चीन । चिनियाँ कम्युनिस्ट पार्टी र नेकपा माओवादी केन्द्रबिच आपसी अनुभव तथा विचार साटासाट गर्ने उद्देश्यका साथ माओवादीका सचिव दीनानाथ शर्माको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल २०८१ चैत २७ गते गुआङचौ–छोङछिङ पुग्यो । 

चिनियाँ कम्युनिस्ट पार्टी(सीपीसी) अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा गएको प्रतिनिधिमण्डलले छोङछिङ नगरपालिका र शान्सी प्रदेशका विभिन्न स्थानमा अवलोकन भ्रमण गर्‍यो । भ्रमणको क्रममा चिनियाँ विशेषताको समाजवाद, कम्युनिस्ट पार्टी निर्माणका साथै चीनमा भएको पूर्वाधार, कृषि, प्रविधि, पर्यटनलगायत क्षेत्रमा अदभूतपूर्व विकास सम्बन्धमा प्रत्यक्ष बुझने र सिक्ने अवसर मिल्यो । 

WhatsApp Image 2025-05-21 at 22.11.49_b7b8e448

सीपीसीका नेताहरू, पार्टी स्कुलका प्राध्यापकलगायत चिनियाँ विशेषताको समाजवाद, पार्टी निर्माण, आर्थिक समृद्धि र पूर्वाधार विकासमा महासचिव सी चिफिङको विचारद्वारा आधुनिक चीन निर्माणमा पुर्‍याएको योगदानबारे प्रशिक्षण दिएका थिए । 

लामो समय विश्व युद्ध र गृहयुद्धका कारण तहस नहस भएको मुलुक सीपीसीको नेतृत्वमा चीन विश्व शक्तिमान मुलुक बन्न कसरी सम्भव भयो ? बलियो पार्टी र जनसमर्थन पाउन कम्युनिस्ट पार्टीले के गर्नुपर्छ ? विश्वकै उच्च गरिबीले पिल्सिएको मुलुकलाई गरिबीमुक्त बनाउन कसरी सम्भव भयो ? पार्टी, नेता, कार्यकर्ता र जनताबिचको सम्बन्ध कस्तो हुनुपर्छ ? लगायत विषयमा प्रतिनिधिमण्डलाई प्रशिक्षण चिनियाँले प्रशिक्षण दिएका थिए ।    

WhatsApp Image 2025-05-21 at 22.11.54_b207f35d

नेपाल र चीनबिच कुटनीति सम्बन्ध स्थापना भएको ७० वर्ष पुरा भएको र सीपीसी स्थापनाको एक सय वर्ष पार गरेको अवसरमा छोङछिङस्थित पार्टी स्कुलमा राखिएको प्रशिक्षण कार्यक्रममा प्राध्यापक लुओ सियोमेईले सीपीसीको आठ ओटा नियमले चीनलाई गहिरो रूपमा परिवर्तन गरेको जिकिर गरिन् । महासचिव सी नेतृत्वमा आएपछि सन् २०१२ डिसेम्बर ४ मा सीपीसीको १८ औं केन्द्रीय समितिको पोलिटब्युरो बैठकले आफ्ना सबै अधिकारीलाई काम गर्ने तरिका बदल्न र जनतासँग घनिष्ठ सम्बन्ध कायम राख्नका लागि आठ वटा नियम बनाएको उनले चर्चा गरेकी थिइन् । 

चिनियाँ कम्युनिस्ट पार्टी र जनताबिच कस्तो सम्बन्ध हुनुपर्छ भन्ने विषयमा सर्वोच्च नेता माओत्सेतुङको पालामा बाइएका नियहरूलाई परिमार्जन गर्दै सीपीसीले आठ वटा नियम बनाएको थियो । अनुसन्धान र तथ्य पत्ता लगाउने यात्राहरूमा सुधार गर्ने, बैठकहरू र अन्य गतिविधिहरूलाई सुव्यवस्थित गर्ने, कागजातहरू र ब्रिफिङहरू घटाउने, विदेश भ्रमणहरू व्यवस्थित गर्ने, सुरक्षा प्रक्रियाहरूमा सुधार गर्ने, समाचार रिपोर्टहरू सुधार गर्ने, लेखन प्रकाशनमा प्रतिबन्ध लगाउने र लगनशीलता र मितव्ययी अभ्यास गर्ने नियम बनाएको थियो । 

लुओले अनुशासनद्वारा उत्कृष्ट कार्यशैली सुनिश्चत गर्नु माक्र्सवादी पार्टी निर्माणको मूल सिद्धान्त भएको स्पष्ट पारिन् । पार्टीभित्र फलामे अनुशासन कायम नभए कम्युनिस्ट पार्टीले जनसमर्थन गुमाउँदै जाने र भविष्यमा देशको नेतृत्व गर्ने अवसरबाट वञ्चित हुने बताइन् । 

WhatsApp Image 2025-05-21 at 22.11.47_90d38418

‘अनुशासन र कार्यशैलीको सुधार गर्नु भनेको भ्रष्टाचारविरुद्धको मूल साधन हो । योग्य र सक्षम नेता चुनिएन भने पार्टीले भविष्यमा शासन गर्ने योग्यता गुमाउनेछ । पार्टीभित्र फलामे अनुशासनको प्रबन्ध मिलाउनु भनेको कुनै पनि दोषीलाई क्षमा नदिनु हो । देश र जनताका फाइदाका लागि पार्टी भित्रका भ्रष्टलाई मृत्युदण्ड दिनुपर्छ,’ उनले भनिन् ।

सन् २०२३ सम्म चिनियाँ कम्युनिस्ट पार्टीका संगठित सदस्य ९ करोड ९१ लाख ८५ हजार रहेको उनले जानकारी दिइन् । अनुशासित कार्यकर्ता, जनताको स्वार्थ केन्द्रित नेतृत्व, एकताबद्ध पार्टी, सामूहिक प्रतिबद्धता र जनताको अपार समर्थनका कारण आधुनिक चीन निर्माण सम्भव भएको प्राध्यापक उनको जिकिर थियो । राष्ट्रिय विपत्तिमा नाफा नकमाउने, जुवातास, मोजमस्तीमा नरमाउने, व्यक्तिको फाइदाका लागि व्यापार नगर्ने, पार्टी अनुशासनद्वारा उत्कृष्ट कार्यशैली सुनिश्चित गर्ने सामूहिक प्रतिबद्धता पार्टी निर्माणको मुख्य आधार भएको उनले सुनाइन् । 

‘पार्टी नेतृत्वले जिब्रो, हात र खुट्टा सबैमा ध्यान दिनुपर्छ । अनुशासन नेतृत्वबाट लागु गरेमा पार्टी सदस्यहरूले पालना गर्छन् । नेतृत्व अटल, धैर्य, निश्चयका साथ कार्यशैली सुधारलाई अगाडि बढाउने गरी रोल मोडेल बन्न सकेमा जनताको विश्वास जित्न सकिन्छ,’ उनले भनिन् । 

सीपीसीको आठ नियमले पार्टी सदस्य, सेना र जनताको भावनालाई जोडेको जिकिर गर्दै उनले आर्थिक, सामाजिक तथा राजनीतिक दृष्टिकोण निर्माणमा कोशेढुंगा सावित भएको जिकिर गरिन् ।  

WhatsApp Image 2025-05-21 at 22.16.17_7254475f

सन् १९३७ देखि १९४५ सम्म आठ वर्ष दुई महिना दुई दिन चलेको चीन–जापानको युद्धमा करिब २० मिलियन मानिसले ज्यान गुमाएका थिए । मृत्यु भएकामध्ये अधिकांश चिनियाँ नागरिक थिए । सन् १९४५ मा अमेरिकाद्वारा हिरोसिमा र नागासाकीमा परमाणु बम खसालेपछि जापानले आत्मसर्मपण गरेपछि युद्ध रोकिएको थियो । त्यस युद्धमा माओत्सेतुङले साम्राज्यवादी र आन्तरिक सामन्तवादी शक्तिविरुद्ध एकसाथ लड्नु परेको थियो । सिंगो चीनलाई विभाजनबाट जोगाउनका लागि उनी चियाङ काइसेक नेतृत्वको कुओमिनतङ पार्टीसँग मिलेर साम्राज्यवादीविरुद्ध लडेका थिए । सन् १९४५ मा दोस्रो विश्वयुद्ध समाप्त भएपछि सीपीसीले कुओमिनतङका सेनासँग भिषण गृह युद्ध गर्नुपरेको थियो । सन् १९४९ अक्टुबरमा सीपीसीका सेनाले विजय प्राप्त गर्‍यो, जनवादी चीन घोषणा भयो । लामो समय चलेको विश्व युद्ध र गृहयुद्धलाई परास्त गरी चीनलाई एकताबद्ध बनाउन माओत्सेतुङ सफल भए । उनकै नेतृत्वमा समाजवादको आधार तयार भएको थियो ।

सन् १९७६ मा माओको निधनपछि पार्टी नेत्वमा आएका देङ सियोओपिङको अग्रसरतामा सन् १९७८ मा चीनले आर्थिक सुधार एवं खुलापनको नीति लियो । धेरैले यसलाई आर्थिक सुधारको रूपमा मात्र व्याख्या गरे पनि यो वास्तवमा समग्र चिनियाँँ विकासलाई बढाउन गरिएको राजनीतिक, आर्थिक, प्रशासनिक, प्राविधिक, अन्तर्राष्ट्रिय सम्बन्ध लगायतमा चीनलाई परिस्कृत गर्दै लैजाने बृहत् अठोट थियो । 

माओका केही नीतिलाई लिएर सन् १९६०/७० को दशकमा कैयौँ पटक झट्का बेहोरेपछि देङ सचेत भएका थिए । अन्तर्राष्ट्रिय सम्बन्धलाई लिएर उनी केही सिद्धान्तका साथ अघि बढे । देङले आफूलाई मात्रै महत्त्वका साथ अग्रपंक्तिमा नराखी आफ्नो पूरै ध्यान चिनियाँ अर्थतन्त्रलाई तीव्र गतिका साथ अगाडि बढाउनमा केन्द्रित गरेका थिए । 

WhatsApp Image 2025-05-21 at 22.16.14_7e282370

देङको ‘क्याट थ्योरी’ अर्थात् ‘बिरालोको रङ कालो वा सेतो हुनुले अर्थ राख्दैन, जबसम्म बिरालोले मुसा समातिरहन्छ, तबसम्म त्यो राम्रो बिरालो नै कहलिन्छ’ निकै चर्चित छ । उनी शक्तिमा पुगेपछि चार आधुनिकीकरण (अर्थतन्त्र, कृषि, वैज्ञानिक तथा प्राविधिक विकास र राष्ट्रिय सुरक्षा)को लक्ष्य हासिल गर्न प्राथमिकता दिए । अर्थतन्त्रलाई खुला गर्ने तथा उदारीकरण गर्ने महत्वाकांक्षी योजना देङले घोषणा गरे । 

सबैभन्दा पहिले उनले सोभियत संघको आर्थिक मोडेललाई परित्याग गरे र चिनियाँँ आवश्यकता अनुसारको अर्थतन्त्रमा आधुनिकीकरणलाई समाजवादका साथ अगाडि बढाए । देङको खुला तथा उदारीकण नीतिका कारण देशको अर्थतन्त्र कायापलट हुनुका साथै चिनियाँँ नागरिकमा आर्थिक सम्पन्नताको ग्राफ चुलियो । देङलाई आधिकारिक रूपमा ‘चीनको आर्थिक सुधार र समाजवादी आधुनिकीकरणको प्रमुख वास्तुकार’का रूपमा मानिन्छ । 

सत्तामा चिनियाँँ कम्युनिस्ट पार्टीको पकडसमेत मजबुत भएको चिनियाँहरू बताउँछन् । सीपीसीले दुई पहाड(सामन्तवाद र साम्राज्यवाद)लाई पराजित गरी माक्र्सवादी दृष्टिकोण, मेहनत, सामूहित एकता एवं निरन्तरताका कारण चीनले छोटो समयमै प्रगति गर्दै चिनियाँँ विशेषतासहितको समाजवादलाई कार्यान्वयन गरेको प्राध्यापक लुओको दाबी छ ।

सन् २०१२ मा सीपीसीको १८ औं महाधिवेशनबाट सी महासचिवमा निर्वाचित भएपछि चीनबाट पूर्ण रूपमा गरिबी निवारण गर्ने संकल्प गरेका थिए । चीनलाई पूर्ण रूपमा गरिबीबाट मुक्त गर्ने सपना आफ्नो मात्र नभई सम्पूर्ण चिनियाँ जनताको भएको सीले बताएका थिए । र, सन् २०२० भित्र गरिबी निवारण गर्ने महत्वकांक्षी योजना घोषणा गरे । सन् २०२१ मा चीनलाई गरिबीमुक्त गरे । सी सत्तामा आएपछि ९ करोड ८९ लाख ९० हजार चिनियाँ गरिबीबाट मुक्त भए । आफू सत्तामा पुगेपछि चिनियाँ विशेषताको वैज्ञानिक समाजवाद व्यवहारमै कार्यान्वयन गरे । तर गरिबी निवारणबाट मात्र सी सन्तुष्ट देखिएका छैनन्, भविष्यमा फेरि समाज गरिबीतर्फ फर्किन सक्ने सम्भावनाबारे उनी निकै चिन्तित रहेका सीका विचार संकलन गरिएको पुस्तक ‘अप एन्ड आउट अफ पोभर्टी’ मा उल्लेख छ । 

WhatsApp Image 2025-05-21 at 22.16.14_ff1e5bc7

‘केही समयअघि, ग्रामीण भ्रमण गर्दा म खुसी र चिन्तित दुवै थिएँ । धेरै किसानहरूले गरिबीबाट बाहिर निस्कन थालेकोमा म खुसी थिएँ । तर, सहर र गाउँहरूमा कमजोर हुँदै गएको सामुहिक आर्थिक शक्ति देखेर म चिन्तित थिएँ । मलाई दृढतापूर्वक लाग्छ कि, हामी गरिबी न्यूनीकरणमा संलग्न हुँदा, हामीले सहर र गाउँहरूको सामूहिक आर्थिक शक्ति बढाउन ध्यान केन्द्रित गर्नुपर्छ । अन्यथा हाम्रो सम्पूर्ण गरिबी न्यूनीकरण प्रयासका लागि कुनै आधारभूत ग्यारेन्टी छैन । र, यो एक शक्तिशाली शक्तिबाट वञ्चित छ । गरिबी निवारणको सन्दर्भमा हामीले पहिले नै प्राप्त गरेको कुरा गुमाउने जोखिम पनि हामीमा छ,’ उक्त पुस्तकमा लेखिएको छ । 

आधुनिक समाजवादी चीन निर्माणको प्रमुख नेताका रूपमा माओ, देङ र सीको नाम अगाडि आउँछ । यद्यपि भ्रमण अवधिभर केन्द्रीय नेतादेखि काउन्टी कमिटीका नेतासम्मले सी विचारलाई नै सगौरव आत्मसाथ गरेको देखिन्थ्यो । सहरदेखि गाउँसम्म, जहाँ पुग्दा पनि सीको विचारबाट उनीहरूले आफ्ना प्रस्तुति राखेका हुन्थे । 

  • ध्वंसबाट माथि उठेको छोङछिङको वैभव

चीनको दक्षिण–पश्चिममा अवस्थित छोङछिङ सहर नेपालको हावापानी र भूगोलसँग मिल्दोजुल्दो र सुन्दर छ । केन्द्रबाट प्रत्यक्ष–प्रशासित नगरपालिकामा छोङछिङ, बेजिङ, सांघाई र तियानजिङ पर्छन् । छोङछिङ जनसंख्याको हिसाबले विश्वकै ठुलो नगरपालिका हो । यहाँ तीन करोड २० लाखभन्दा बढी जनसंख्या छ । करिब ८० प्रतिशत पहाडले बनेको छोङछिङ ‘माउन्टेन सिटी’ को नामले विश्वप्रशिद्ध छ । 

भौतिक पूर्वाधारमा युरोप र अमेरिकाका उत्कृष्ट सहरलाई बिर्साउने गरी आधुनिक प्रविधि, वस्तुकलाको प्रयोग गरी अद्वितीय कला झल्काइएको छ । नाटकीय शैलीको नागबेली फ्लाइ ओभर ब्रिज, सफा र फराकिला सडक मार्ग, स्काई बस, पहाड खोपेर बनाइएका सुरुङ, अग्ला पहाडका खोजमा भीमकाय पिल्लर राखेर बनाइएका लिगमाथि चल्ने तीव्र गतिका रेल, पानीजहाज, गगनचुम्बी सहरमा अपार्टमेन्ट भित्रबाट कुद्ने मनोरेललगायत अत्याधुनिक प्रविधिको समिश्रणबाट बनेको कलात्मक सहरले त्यहा पुग्ने जोकोहीलाई पनि लोभ्याउँछ । यद्यपि चिनियाँले भौतिक पूर्वाधार विकासमा चमत्कार गरे पनि आफ्नो संस्कृति, मूल्य, मान्यता, मौलिकपन तथा प्राकृतिक भू–बनोटलाई मास्ने काम भने गरेका देखिँदैन । इतिहासलाई जस्ताको तस्तै डिजिटल प्लेटर्फममार्फत आजको पुस्तालाई संरक्षित गरेर राखेका छन् । 

क्षेत्रफलको हिसाबले यो सहर ८२ हजार चार सय पाँच वर्ग किलोमिटरमा फैलिएको छ । याङ्सी तथा जिआलिङ नदीको संगममा रहेको छोङछिङलाई रेल, सडक, हवाई सेवा मात्रै होइन र नदीको जलमार्गले समुद्रसँग जोडेको छ । छोङछिङलाई चीनले रणनीतिक प्राथमिकतामा राखेको सहर हो । यो सहरलाई चीनको बहुचर्चित परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयनको केन्द्रको रूपमा पनि लिइन्छ । चीनले छोङछिङलाई केन्द्रमा राखेर दक्षिण एसियालाई जोड्ने परियोजना अघि बढाइरहेको सहभागी प्रशिक्षार्थीहरूलाई ब्रिफिङ गरिएको थियो । 

WhatsApp Image 2025-05-21 at 22.15.14_402536d4

वित्तीय केन्द्रको रूपमा स्थापित छोङछिङबाट युरोपका दुई सय ३१ वटा सहरमा रेलबाट कार्गो जाने गरेको छ । यो नगरपालिकामा २६ वटा जिल्ला, ८ वटा काउन्टी र ४ वटा स्वायत्त काउन्टी छन् । दोस्रो चीन–जापान युद्धताका गणतन्त्र चीनको युद्धकालीन राजधानी रहेको थियो । सन् १९९७ मा देशको मध्य र पश्चिमी भागहरूमा विकासलाई अगाडि बढाउने लक्ष्यका साथ सिचुवान प्रान्तबाट यो नगरपालिकालाई अलग गराइएको थियो । छोङछिङमा रहेको जियाङबेई अन्तर्राष्ट्रिय विमानस्थल चीनको दोस्रो सबैभन्दा व्यवस्थित विमानस्थल हो । छोङछिङ मात्र होइन औद्योगिक हबका रूपमा विकसित भइरहेको शान्सी प्रदेश प्रतिस्पर्धामा निकै आगडि बढिरहेको छ । यी दुवै सहर अत्याधुनिक औद्योगिक हबका रूपमा विकास गरिएको छ । 

विश्वयुद्ध र गृहयुद्धका कारण छोङछिङ नराम्रोसँग ध्वस्त भएको थियो । युद्धले खण्डहरमा परिणत भएको कुरूप सहरलाई आजको कलात्मक सहर बनाउन महासचिव सीको समाजवादी मोडल र उच्चस्तरीय खुलापननीतिद्वारा गुणस्तर विकासलाई अगाडि बढाउने छोङछिङको अभ्यासले सम्भव भएको प्राध्यापक सुन लिअ बताउँछन् । लिअका अनुसार मौलिकताको ढोका बन्द नगरी विदेशी लगानीलाई प्रोत्साहन, आयत तथा निर्यातबिच सन्तुलन तथा एकीकृत विकासलाई प्राथमिकता दिएको छ । 

‘चिनियाँ कम्युनिस्ट पार्टीको माक्र्सवादी दृष्टिकोण, खुलापनको नीति, एकीकृत विकास प्रणाली, जनताको समर्थनका कारण छोङछिङको आधुनिकीकरण सम्भव भएको हो । सन् २०२४ मा यहाँको जीडीपी ३.२२ मिलियन रहेको छ । विश्वको कुल उत्पादनमध्ये दोस्रो स्थानमा रहेको छ,’ उनले भने । 

कम्युनिस्ट साम्यवाद मुलुकमा पुँजीवादीको खुला उदारीकरण नीति कतिको हितकर छ भन्ने प्रश्नको जवाफमा सुनले भनिन्, ‘बन्द कोठाभित्र अक्सिजन लिनु छ भने झ्याल खुला राख्नुपर्छ । खुला झ्यालबाट अक्सिजन मात्र आउँदैन मानव स्वास्थ्यलाई असर गर्ने प्रदूषित हावा पनि आउँछ । त्यसलाई विस्तारै फिल्टर गर्दै निर्मुल गर्नुपर्छ ।’

WhatsApp Image 2025-05-21 at 22.15.03_f7ef48ce

अर्थात् उनले पुँजीवादले ल्याएका अनेकौँ चिजहरू चिनियाँ समाजका लागि अहितकर भए पनि लगानी, पुँजी र प्रविधि भित्र्याउन खुलापनको नीति लिएको दाबी गरिन् । 

प्रशिक्षणका क्रममा प्राध्यापक मात्र होइन, सीपीसी अन्तर्राष्ट्रिय विभागका निर्देशक चाङ जिउछिङ, शान्सी प्रदेशका स्थायी कमिटी सदस्य हु लिजी, शान्सी प्रदेशका अन्तर्राष्ट्रिय विभागका महानिर्देशक लियान, छोङछिङ पार्टी स्कुल कमिटीका कार्यकारी उपाध्यक्ष लिउ सियाओउलगायत नेताहरूले चिनियाँ विशेषताको समाजवाद, पार्टी अनुशासनको विषयमा प्रशिक्षण दिएका थिए ।   

स्कुलका अर्की प्राध्यापक स्ये जुले पार्टी निर्माणद्वारा आधारभूत शासनको आधुनिकीकरण प्रवद्र्धनका लागि चिनियाँ कम्युनिस्ट पार्टीले विशेष ध्यान दिएको उनले बताएकी थिइन् । आधारभूत शासन भनेको राष्ट्रिय शासनको आधारस्तम्भ भएको विश्लेषण गरिन् । जनतालाई केन्द्रमा राखे संगठन निर्माण गर्ने, सुशासनको प्रत्याभूति दिनु रहेको उनले बताइन् । 

‘आधारभूत सत्ता सञ्चालन मजबुत पार्ने, जनस्वायत्त प्रणालीलाई सुसंगठित बनाउने र तलका जनतालाई कसरी सुशासन दिने भन्नेमा केन्द्रदेखि गाउँ तहसम्मका कार्यकर्ता परिचालित हुने गरेका छन् । सबैको लक्ष्य भनेको जनतालाई खुसी राख्ने ध्येय हो । यसो भयो भनेमात्र कम्युनिस्ट पार्टीसँग जनता प्रभावित हुन्छन् र पार्टी बलियो हुन्छ,’ स्येले भनिन् ।

भ्रमणको क्रममा हुआसी गाउँ पुगियो । जुन गाउँमा सन् २०१९ अप्रिल १५ तारिखमा राष्ट्रपति सी गरिबी निवारण कार्यक्रममा भाग लिन पुगेका थिए । चारैतिर अग्ला पहाडको खोँचमा रहेको यो गाउँ गरिबीबाट लपेटिएको थियो । भौगोलिक विकटताका कारण भौतिक पूर्वाधार लैजान असम्भव थियो । विद्युतीकरण र सिँचाइ अभावका कारण उत्पादन केही नहुने जर्जर भूमि रहेका थियो । जड्याहा गाउँले चर्चित यसलाई गरिबीबाट माथि उठाउन सीले महत्वपूर्ण भूमिका खेलेका झोङयी टाउनशिप हुआसी गाउँका पार्टी शाखा सचिव वाङ सियाङसेङ बताए । कम्युनिस्ट पार्टीको निरन्तर पहलमा एकीकृत बस्ती तथा सामूहिक व्यावसायिक खेती प्रणालीले यहाँका नागरिकले गरिबीबाट मुक्ति पाएका उनले जिकिर गरे । जनताको खुुसी नै संसारको सबैभन्दा ठुलो भएकाले पार्टी कार्यकर्ताले दिनरात गाउँको सेवामा काम गरिरहेको उनले दाबी गरे । 

‘संसारका सबैभन्दा बहुमुल्य वस्तु सुन, हीरा, मोती र चाँदी हो तर हाम्रा लागि यी वस्तुभन्दा पनि बहुमूल्य चिज जनताको खुशी हो । हाम्रा महासचिव सी चिफिङले अगाडि सारेको विचारलाई आत्मसाथ गर्दै दिनरात जनताको सेवामा खटिएका छौँ,’ उनले भने । 

WhatsApp Image 2025-05-21 at 22.16.16_e319279f

  • नेपाली कम्युनिस्टले चीनबाट के सिक्ने ?

चिनियाँ कम्युनिस्ट पार्टी र सरकारको निमन्त्रणामा भाग लिन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी जेठ १० गते चीन भ्रमणमा जाँदैछिन् । भ्रमणको उद्देश्य गोप्य राखिए पनि नेपाल सरकारका मन्त्री तथा नेकपा एमालेका उच्च तहका नेताहरू सहभागी हुने भनिएको छ । 

गत वर्ष प्रधानमन्त्री भएलगत्तै प्रधानमन्त्री केपी ओलीले चीनको भ्रमण गरेका थिए । त्यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको हैसियतमा चीन भ्रमण गरेका थिए । एकीकृत समाजवादीका नेता झलनाथ खनाल, माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङलगायत हरेक वर्ष सयौँ नेता तथा कार्यकर्ताहरू चीन भ्रमणमा गएका छन् । 

अनौपचारिक तवरबाट भ्रमण गर्नेको कुनै रेकर्ड नै छैन । यसरी जानेहरू समाजवादी वैचारिक तथा सैद्धान्तिक प्रशिक्षण, सल्लाह सुझाव लिनुका साथै चीनमा भएका ठुल्ठुला विकास परियोजनाहरू अवलोकन गरेर फर्किन्छन् । तर त्रिभुवन विमानस्थलमा आएर सबै बिर्सिन्छन् । भ्रमण टोलीका नेता दीनानाथ शर्मा चीनले विकास गरेको समाजवादी विचार र भौतिक पूर्वाधार विकासबाट धेरै कुरा सिक्न सकिने बताउँछन् । तर शासन प्रणाली चीन र नेपालको फरक खालको भएकाले चिनियाँ गतिमा अगाडि बढ्न नसक्ने उनको तर्क छ । 

‘चिनियाँ कम्युनिस्ट पार्टी र नेकपा माओवादी केन्द्रको वैचारिक, सैद्धान्तिक दृष्टिकोण एउटै भएकाले पार्टी अनुशासन, जनताको पक्षमा काम गर्ने शैलीबाट हामीले धेरै कुरा सिक्न छौँ । तर शासन प्रणाली चीन र नेपालमा फरक भएकाले त्यहाँजसरी काम गर्न सकिँदैन । यद्यपि हामीले पनि नेपाली विशेषताको समाजवादी क्रान्तिको तयारी गरिरहेको हुनाले केही कुरा सिक्न सकिन्छ,’ उनले भने । 

भ्रम दलका सदस्य तथा माओवादीका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले चीनबाट पार्टी अनुशासनका साथै समाजवादी विचार निर्माणका लागि स्कुललाई प्रभावकारी बनाउन सकिने बताए । 

WhatsApp Image 2025-05-21 at 22.12.08_27d25dc1

‘चीनले गरेको पूर्वाधार विकासबाट तत्काल हामीले केही लाभ लिन सक्दैनौँ । त्यहाँबाट एउटै कुुरा लागु गर्न सकिन्छ । त्यो भनेको पार्टी अनुशासन, वैचारिक तथा सैद्धान्तिक बहस मन्थन गरी समाजवादी विचार निर्माण गर्न केन्द्रदेखि गाउँतहसम्म पार्टी स्कुल बनाउन सक्छौँ । पार्टी स्कुल प्रभावकारी रूपमा सञ्चालन गर्न मैले अध्यक्षसँग प्रस्ताव राखेको छु,’ उनले भने ।  

चीनका लागि नेपालका पूर्वराजदूत टंक कार्कीले चीन भ्रमण गरेर आएका नेताहरूले केही नगरे पनि त्यहाँको विमानस्थलको सिस्टम हेरर त्रिभुवन विमानस्थल सुधार गरे मात्र धेरै काम हुने बताए । 

‘हाम्रा नेताहरूले केही गर्न पर्दैन । कुनै पनि देशमा विदेशी पुग्ने पहिलो ठाउँ भनेको विमानस्थल हो । विमानस्थल हेरेरै त्यो देशको अवस्था कस्तो छ भन्ने कुरा थाहा पाउँछ । विदेशका विमानस्थल हेरेर त्रिभुवन विमानस्लथलाई सुधार गरे मात्रै धेरै काम हुन्छ,’ कार्कीले भने । 

माओवादीका अर्का सचिव राम कार्की चिनियाँ कम्युनिस्ट पार्टीबाट नेपालका कम्युनिस्ट नेताहरूले बानी, व्यवहार, जीवनशैली काम गर्ने संस्कृति सिक्न आवश्यक भएको बताउँछन् । ‘माओत्सेतुङ र अन्य नेताहरूले काम गर्ने संस्कृति बनाए । योग्य मानिसलाई योग्य ठाउँ दिए । मुख्य कुरा पार्टी एकतालाई जोगाए । आन्तरिक रूपमा जतिसुकै मतभेद भए पनि बाहिर जान दिएनन्,’ उनले भने, ‘हामीकहाँ अलिकति मतभेद हुने हुनेबित्तिकै निस्कनैपर्ने, बस्नै नदिने, बाँच्नै नदिने, चारैतिरबाट नाकाबन्दी गर्ने संस्कृति भयो । यस्ता कुरा सुधार्नुपर्छ ।’

WhatsApp Image 2025-05-21 at 22.16.16_e14fa1df

६ दिन छोङछिङ भ्रमणका क्रममा अन्तर्राष्ट्रिय लजिस्टिकक्स हब पार्क, चाइना युनाइटेड इन्टरनेसनल रेल कन्टेनर्स कम्पनी, कृषि विज्ञान एकेडेमीस्थित कृषि प्रविधि पार्क, जिउलोङ्पो लोकतान्त्रिक गाउँ, उत्तरी रेल स्टेसन, शिजु जिल्ला, जोङयी गाउँपालिका, हुआसी गाउँ, बाईगोङ्गुआन जेल, जाजिदोङ जेल, होङयान क्रान्तिकारी स्मारक संग्रहालय, लियाङ्गलुकोउ क्राउन एस्केलेटर, याङ्त्जे नदी केवल वे, हाईशिजी स्टेसन, चाङआन अटोमोबाइल ग्लोबल अनुसन्धान केन्द्र, लिजिबा लाइट रेललगायत ठाउँको प्रत्यक्ष अवलोकन भ्रमण गर्‍यो । छोङछिङ बसाइको अन्तिम दिन पार्टी स्कुलमा बिदाइ समारोहमा सीपीसी छोङछिङ नगर स्कुल र माओवादी सुदूरपश्चिम स्कुलबिच विचार आदानप्रदान र सहयोगसम्बन्धी पाँचबुँदे समझदारी पत्र(एमओई)मा हस्ताक्षर भएको थियो । 

अप्रिल १४ तारिख अर्थात् वैशाख १ गते प्रतिनिधिमण्डल शान्सी प्रदेश पुग्यो । चार दिनको बसाइ क्रममा जिनको सोलार कम्पनी, प्रसिद्ध बीवाईडी अटो कम्पनी, लिउजियाबाओ गाउँ, च्याङफिङ बिजनेस क्षेत्र, बाइडु क्लाउड कम्युटिङ सेन्टर, अटोमेटिक नेटवर्क डिजिटल इकोनोमी प्रदर्शनीस्थल, हुयाङ न्यु मटरिएलस टेक्नोलोजी गु्रप कम्पनी, हन्डे«ट रेजिमेन्ट क्याम्पेन मेमोरियल म्युजिम र शान्सी म्युजियमको अवलोकन भ्रमण गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप