बिहीबार, ०८ जेठ २०८२
ताजा लोकप्रिय

नागरिकप्रति उत्तरदायी नहुने संरचना धरासायी हुन्छ : मेयर लामा

बिहीबार, ०८ जेठ २०८२, १२ : ४३
बिहीबार, ०८ जेठ २०८२

समाचार सारांश

  • हेटौँडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले नागरिकप्रति उत्तरदायी नहुने संरचना धराशायी हुने टिप्पणी गरेकी छन् ।
  • मेयरले खानेपानी व्यवस्थापन बोर्डको कार्यक्रममा नागरिकको अपेक्षाअनुसार विकास निर्माण र सेवा प्रवाहमा ध्यान दिनुपर्ने बताइन्।
  • कार्यक्रममा बोर्डका कर्मचारी, अधिक महसुल भुक्तानीकर्ता र पानी चुहावटबारे सूचना दिने व्यक्तिहरूलाई सम्मान गरियो।

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले नागरिकप्रति उत्तरदायी नहुने संरचना धराशायी हुने टिप्पणी गरेकी छिन् । उनले नागरिकका हक अधिकारप्रति राज्यका संरचनाहरू जिम्मेवार र उत्तरदायी भएर काम गर्नुपर्ने बताएकी छन् ।

हेटौँडा खानेपानी व्यवस्थापन बोर्डको १२ औँ वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मेयर लामाले नागरिकको अपेक्षा अनुसारको विकास निर्माण तथा सेवा प्रवाहको काममा गम्भीर हुनुपर्ने बताइन् । नागरिकका समस्या सहजीकरणका लागि राजनीतिक नेतृत्व र कर्मचारी प्रशासनबाट सक्दो प्रयास हुनुपर्ने उनको धारणा थियो ।

मेयर लामाका अनुसार सहज सेवा प्रवाहसहित सुशासन र पारदर्शितामा गम्भीर रहेर काम गर्नुपर्छ । राज्यका संरचनाहरू बिच समन्वय र सहकार्यका माध्यबाट नागरिक माझ सेवा प्रवाह गर्नुपर्ने उनको भनाई छ ।

हेटौँडा उपमहानगरपालिका खानेपानीको सहज आपूर्तिका लागि निरन्तर सक्रिय रहेको उनले बताइन् । नागरिकको खानेपानी सम्बन्धीको हक पुरा गर्न उपमहानगरपालिकाले बोर्ड मार्फत भूमिका निर्वाह गरिरहेको उनले बताइन् । न्यूनतम महसुलमा गरिब विपन्नहरू नागरिकको पहुँचमा खानेपानीको सुविधा पुर्याएर खानेपानी सम्बन्धी अधिकार सुनिश्चितताको पहल भइरहेको उनले बताइन् ।

हेटौँडा उपमहानगरपालिकामा खानेपानी सम्बन्धी समस्याको दीर्घकालीन रूपमा व्यवस्थापन गर्न सङ्घ, प्रदेश र अन्य निकायहरूसँगको समन्वयमा काम भइरहेको उनले बताइन् । खानेपानीको स्रोत पहिचान, व्यवस्थापन तथा संरचना निर्माणका लागि उपमहानगरपालिकाले प्रयास गरिरहेको उनको भनाई छ ।

कार्यक्रममा बोर्डका अध्यक्ष प्रताप विष्टले हेटौँडा बजार क्षेत्रमा खानेपानी आपूर्ति सहज बनाउन निरन्तर प्रयास भइरहेको बताए । खानेपानीको स्रोत व्यवस्थापन, संरक्षण तथा विस्तारका लागि बोर्डले योजनाबद्ध रूपमा काम गरिरहेको उनले बताए । पछिल्लो समय खानेपानीको मुहान सुक्दै गइरहेकाले रिचार्ज पोखरी निर्माणको कार्यमा बोर्डले योजना तयार गरी अघि बढाएको उनको भनाई छ ।

अध्यक्ष विष्टका अनुसार बोर्डले हाल दैनिक ३ करोड ७० लाख लिटर पानी उत्पादन गरी २८ हजार ४६३ धारालाई पानी वितरण गर्दै आएको छ । बोर्डले मासिक १ करोड २० लाख रुपैयाँको बिलिङ गर्ने गरेको उनले बताए । बोर्डले ३९ वटा डिप ट्युब–वेल, १५ वटा सम–बेलबाट उत्पादन भएको पानी वितरण गर्दै आएको उनले बताए । ७ हजार ४७० घनमिटर पानी भण्डारण क्षमता भएको बोर्डले ६२८ किलोमिटर पाइप लाइनबाट दैनिक ८ देखि ९ घण्टा पानी वितरण गर्दै आएको अध्यक्ष विष्टले बताए ।

कार्यक्रममा बोर्डका कर्मचारी, नियमित तथा अधिक महसुल भुक्तानीकर्ता, पानी लिकेज तथा चुहावटसम्बन्धी सूचना दिने व्यक्तिलाई सम्मान गरिएको थियो । बोर्डमा हस्तान्तरण भएको उपभोक्ता समितिका अध्यक्ष, स्वयम्सेवीरुपमा पानी ट्याङ्की सञ्चालन गर्दै आएका व्यक्तिलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

कार्यक्रममा बोर्डले उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै नगदसहित कर्मचारीहरू सब–इन्जिनियर प्रवीण कडरिया, प्लम्बर उपेन्द्रप्रसाद आचार्य, कनिष्ठ सहायक दीपिका केसी र सृजना अर्याल, मिटर रिडर सृजना पुलामी, प्रकाश श्रेष्ठ, तारादेवी थिङ, फिल्ड सहयोगी अशोक चौलागाई, सुनिल राई र सञ्जीव थिङ, सहयोगी किशोर पोखरेल, पम्प सहयोगी ईश्वर लामिछाने, कृष्णप्रसाद बस्ताकोटी, भूपेन्द्र सिलवाल, द्रोणकुमार धमला र पाल्साङ बल, चौकीदार तीर्थ मोक्तान, प्रकाश तामाङलाई सम्मान गरिएको थियो ।

त्यस्तै नियमित तथा अधिक खानेपानी महसुल भुक्तानी गर्ने हेटौँडा सामुदायिक आँखा अस्पताल, हेटौँडा–४, पारिजात पथका तुलसीराम लामिछाने, हेटौँडा–१९, बस्तीपुरका महेशदेव भट्टराई, हेटौँडा–१८, हर्नामाडीका प्रेमबहादुर कार्की, हेटौँडा–१६, हटियाका प्रकाश पुरी, हेटौँडा–१४, बनेल धापका लक्षबहादुर थपलिया र हेटौँडा–४, हुप्रचौरका राजु शिवाकोटीलाई सम्मान गरिएको थियो ।

बोर्डले पानी लिकेज चुहावटसम्बन्धी सूचना दिने तथा सरोकारवालाहरूबिच सौहाद्र्धपूर्ण वातावरण निर्माण गर्न सहयोग गर्ने सूचनादाताहरू हेटौँडा–१९, बस्तीपुरका श्याम रिमाल, हेटौँडा–१६, हटियाका बद्री दाहाल, हेटौँडा–१८, हर्नामाडीका हर्क रम्तेल, हेटौँडा–८, कमानेका राम बहादुर दुलाल, हेटौँडा–७, न्यूरेनीका सुनिल शिवाकोटी, हेटौँडा–१४, बनेलधापका कृष्णबहादुर गोले, हेटौँडा–१५, रातोमाटेका भरत निरौलालाई सम्मान गरिएको थियो ।

हेटौँडा–१६, हटियामा स्वयंसेवी रूपमा पानी ट्याङ्की सञ्चालन गर्दै आएका शक्तिडाँडाकी मन्जुदेवी भुजेल, घ्याम्पे डाँडाका धनबहादुर पुलामी, जरुङडाँडाका हस्तबहादुर गोले र घ्यामेडाँडा पश्चिमकी नन्दमाया थापा मगरलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

कार्यक्रममा खानेपानी संस्थानको हेटौँडास्थित कार्यालय बोर्डमा हस्तान्तरणपछि बोर्डमा हस्तान्तरण भएको पहिलो उपभोक्ता समिति हेटौँडा–१४, मयूरधापस्थित मयूरधाप खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष गोपालबहादुर थपलियालाई सम्मान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप