शुक्रबार, ०९ जेठ २०८२
ताजा लोकप्रिय

हुलाकी राजमार्गमा बिस्कुन सुकाउन पाउने !

सडकमा मकै सुकाएकै कारण दुर्घटना हुँदा केही दिनअगाडि एक बालिकाको मृत्यु भएको थियो
शुक्रबार, ०९ जेठ २०८२, १४ : ५२
शुक्रबार, ०९ जेठ २०८२

समाचार सारांश

  • मोरङको रङ्गेली नगरपालिकाले सडकमा मकै लगायतका अन्नबाली सुकाउन दिने निर्णय गरेको छ। यसअघि बालिकाको मृत्यु भएपछि नगरपालिकाले बिस्कुन सुकाउन रोक लगाएको थियो।
  • सडकमा अन्नबाली सुकाउन नपाउने निर्णयको विरोध गर्दै स्थानीय आन्दोलनमा उत्रिएपछि सर्वदलीय सहमतिबाट राजमार्गको २० प्रतिशत क्षेत्रमा मकै सुकाउन दिने निर्णय गरियो।
  • मृतक बालिकाका आफन्त भने यस निर्णयप्रति आक्रोशित छन्। नगरपालिकाले किसानहरूलाई भिजेका मकै सुकाउन दिने र व्यापारीलाई रोक्ने निर्णय गरेको छ।

विराटनगर । मोरङको रङ्गेली नगरपालिकाले सडकमा मकै लगायतका अन्नबाली सुकाउन दिने निर्णय गरेको छ । सडकमा अन्नबाली सुकाउँदा र पशु चौपाया बाँध्नाले दुर्घटना बढेको गुनासो बढिरहेको बेला रङ्गेली नगरपालिकाले भने यस्तो निर्णय गरेको हो । 

सडकमा मकै सुकाएकै कारण गत जेठ ५ मा  रङ्गेली–७ को निचामारीमा सडक दुर्घटनामा १३ वर्षीया बालिकाको मृत्यु भएको थियो । सडक ढाकेर बिस्कुन सुकाएकै कारण बालिकाको मृत्यु भएपछि नगरपालिकाले सडकमा बिस्कुन सुकाउन नपाउने सूचना जारी गरेको थियो । अनुगमनका क्रममा सडकमा सुकाएका केही बिस्कुन नगर प्रहरीले नियन्त्रणमा लिएपछि स्थानीय आक्रोशित भएका थिए ।  

बालिकाको मृत्यु भएपछि यात्रुवाहक बस तोडफोड गरेर आक्रोशित बनेका पीडितले बिस्कुन सुकाउन दिन नहुने अडान राखेका थिए । तर, बिस्कुन सुकाउन पाउनुपर्छ भन्दै स्थानीय आन्दोलित बनेपछि व्यस्त राजमार्गमा २० प्रतिशत क्षेत्रमा बिस्कुन सुकाउन पाइने गरी सर्वदलीय सहमति भएको हो । हुलाकी राजमार्गको एकलेन सडक नढाक्ने गरी मकै सुकाउने व्यवस्था मिलाउने बिहीबार बसेको सर्वदलीय बैठकले निर्णय नै गरेको छ ।

नगरपालिका उपप्रमुख झुमाकुमारी पराजुली, प्रमुख प्रशासकीय अधिकृत प्रदीप साह, नेपाली कांग्रेसका नेता जागरनाथ मण्डल, एमाले अध्यक्ष राम चिमोरिया, नेकपा एसका प्रतिनिधि प्रल्हादकुमार खतिवडा किसान प्रतिनिधि लक्ष्मण साह र रङ्गेली प्रहरी प्रतिनिधि सहितको सर्वदलीय बैठकले अन्नबाली सुकाउन दिने सहमति गरेको हो । 

सर्वदलीय सर्वपक्षीय छलफलमा कृषकहरूको मकै भण्डार गर्न समयमा सुकाउने ठाउँको अभाव भएकोले रङ्गेली नपा भित्र पर्ने पूर्वश्चिम हुलाकी राजमार्ग र उत्तर दक्षिण कानेपोखरी रङ्गेली सडक क्षेत्रमा बिस प्रतिशत मात्र सडक नढाकी धान, मकैलगायतका अन्नबाली सुकाउन पाउने र नगरपालिका बाहिरको व्यपारीहरुलाई भने कुनै पनि अन्नबाली सुकाउन नदिने सहमति भएको छ । 

उता मृतक बालिकाका आफन्त भने सो निर्णयबाट थप आक्रोशित बनेका छन् । बालिकाको मृत्यु भएपछि स्थानीयले बस तोडफोड गरेका थिए । बसमा तोडफोड हुन थालेपछि चालकले आफू र यात्रुको ज्यान जोखिममा परेको भन्दै बसलाई कुदाएर इलाका प्रहरी रंगेलीमा लगेका थिए । घटना अनुसन्धान गर्ने क्रममा सडकमा पुरै ढाकेर मकै सुकाएको र एक्कासि बाटो काटेकी बालिकालाई जोगाउने ठाउँ नहुँदा बसले ठक्कर दिएको निष्कर्ष निकालेर नगरपालिकाले कडाइ गरेको थियो । 

स्थानीयहरूले भने नगरपालिकाकै कारण कृषकहरूले सडकमा बिस्कुन सुकाउन बाध्य भएको बताएका छन् । माटो ओसारपसारमा चर्को कर लगाएको कारण घर आँगन पुर्न नपाएकोले सडकमा बिस्कुन सुकाउनु पर्ने बाध्यता भएको स्थानीयको दाबी छ ।

उता, रङ्गेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप साहले खेतमा पानी परेका बेला भिजेका मकै मात्रै सुकाउन दिने निर्णय गरिएको बताए । ‘यहाँ व्यापारीले पनि सुकाउँदा रहेछन्,’ उनले भने, ‘उनीहरूलाई रोकेर किसानले पनि बिग्रन लागेका मकै मात्रै सुकाउनका लागि निर्णय गरेका हौँ ।’ उनले यो निर्णय किसानको हितमा रहेको बताए ।

123

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप