आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय

गगन थापा : विश्वास, विवाद र सुधारको समीक्षा

आइतबार, ११ जेठ २०८२, ०९ : ५२
आइतबार, ११ जेठ २०८२

नेपाली राजनीतिमा गगन थापाको नाम यस्तो व्यक्तित्वसँग जोडिन्छ, जसले आशा, आलोचना र सक्रिय बहस एकैसाथ बोक्छ । उनको अध्ययनशीलता, प्रस्ट वक्तृत्व, नीतिगत आग्रह र युवाप्रति प्रेरणाले धेरैलाई राजनीतिप्रतिको विश्वास फिर्ता ल्याएको छ । संसद्को ढोका युवाका लागि पनि खुला हुन सक्छ भन्ने सन्देश उनीबाटै गएको छ, तर राजनीति कहिल्यै सरल यात्रा होइन । यहाँ हरेक विचार, व्यवहार र अभिव्यक्तिले मूल्य चुकाउनुपर्छ । त्यसैले गगन थापाको मूल्यांकन पनि उनको प्रभावकारी भाषण, सशक्त बोली र छविभन्दा पनि इमानदारिता र उनको संवैधानिक निष्ठाको आधारमा गरिनुपर्छ ।

गगन थापाको सुधारवादी छवि विशेष गरी उनी स्वास्थ्य मन्त्री हुँदा देखिएको कामबाट पुष्टि हुन्छ । उनको कार्यकालमा स्वास्थ्य बजेट ५.५ प्रतिशतबाट ६.२ प्रतिशतमा वृद्धि भएको थियो, जसको प्रत्यक्ष लाभ ग्रामीण र दुर्गम क्षेत्रले पाए । मातृ मृत्युदर सन् २०११ को २८१ बाट सन् २०१६ मा २३९ मा झर्नु, प्रसूति सेवाको पहुँच विस्तार, सुरक्षित मातृत्व कार्यक्रमको कार्यान्वयनजस्ता ठोस सुधारहरू उनको नीतिगत सोचका प्रमाण हुन् । यिनै कामले उनलाई ‘कार्यकर्ताभन्दा बढी नीतिनिर्माता’ बनाएको हो ।

संसद्मा उनको बोलाइमा आत्मविश्वास मात्र होइन, आत्ममूल्यांकन पनि देखिन्छ । ‘हामीले गलत स्वीकार नगरी अगाडि बढ्न सक्दैनौँ’ भन्ने अभिव्यक्तिले उनको राजनीतिक इमानदारी झल्काउँछ । खासगरी, २०८० माघ २९ मा संसद्मा गरिएको सम्बोधन, जहाँ उनले प्रधानमन्त्री प्रचण्डको राष्ट्रवादप्रति सकारात्मक प्रतिक्रिया दिँदै दलहरूबिच न्यूनतम सहकार्यको आवश्यकता र सहमतिका आधार निर्माणको कुरा गरे । त्यो सम्बोधन केवल विश्लेषणात्मक नभएर, जिम्मेवार पनि थियो । त्यस भाषणले देखायो कि गगन थापा जोसिलो भाषणभन्दा बढी संयमित यथार्थवादमा विश्वास राख्छन् ।

यिनै थापाको केही निर्णय र अभिव्यक्तिले उनको छविमा प्रशस्त प्रश्न पनि उब्जाएका छन् । एमसीसी सम्झौताप्रति उनको समर्थन विवादको केन्द्र बन्यो । उनले सम्झौतालाई नेपालको पूर्वाधार विकाससँग जोडेर व्याख्या गरे, तर आम नागरिकलाई त्यो तर्क पचेन । जनसंवादमा उनी कमजोर देखिए । सम्झौता केवल कागजमा ठिक देखिए पनि सार्वजनिक धारणा बनाउने काममा कमजोरी भयो । सुधारवादी नेता जनताको मन जित्न होइन, बुझाउन पनि सक्षम हुनुपर्छ । त्यहाँ थापाले मौका गुमाए ।

रवि लामिछानेसँगको बहसमा पनि उनी संयमित देखिएनन् । कानुन, तथ्य र संस्थागत प्रक्रियामा विश्वास गर्ने नेताबाट अपेक्षा गरिन्थ्यो कि उनी बहसलाई व्यक्तिगत नभई विचार–केन्द्रित बनाउने नेता हुन्, तर त्यहाँ उनले एक किसिमको व्यक्तिगत असन्तुलन देखाए 


त्यस्तै, रवि लामिछानेसँगको बहसमा पनि उनी संयमित देखिएनन् । कानुन, तथ्य र संस्थागत प्रक्रियामा विश्वास गर्ने नेताबाट अपेक्षा गरिन्थ्यो कि उनी बहसलाई व्यक्तिगत नभई विचार–केन्द्रित बनाउने नेता हुन्, तर त्यहाँ उनले एक किसिमको व्यक्तिगत असन्तुलन देखाए, जसले उनको सार्वजनिक छविमा असर गर्‍यो । यो प्रसङ्गले गगन थापाका समर्थकलाई पनि सोच्न बाध्य बनायो कि सुधारका स्वरलहरीमा पनि कहिलेकाहीँ ताल गुम्न सक्छ ।

यसबाहेक धर्मनिरपेक्षतासम्बन्धी अभिव्यक्ति गगन थापाको राजनीतिक यात्राको सबैभन्दा गम्भीर मोड रह्यो । रातोपाटीसँगको अन्तर्वार्तामा उनले ‘राज्यको पनि धर्म हुन्छ’ भने । थपमा उनले त्यसलाई न्याय, विवेक र समानता भनेर व्याख्या गरे, जो भाषिक दुरुपयोग हो । उनको त्यस किसिमको धुर्याइँपूर्ण शब्द चयनले संविधानको धर्मनिरपेक्षता मर्ममाथि गम्भीर प्रश्न उठायो । धर्मनिरपेक्षता भन्नुको अर्थ राज्य कुनै पनि धर्मप्रति तटस्थ नहुनु हो । ‘राज्यको धर्म’ भन्ने वाक्यले नागरिक स्वतन्त्रताको साटो राज्यपक्षीय नैतिकता लाद्ने संकेत दिन सक्छ । यसले धार्मिक बहुलता, समानता र तटस्थताको सिद्धान्तलाई हल्लाउने खतरा बोकेको हुन्छ ।

उनले ‘राज्यको पनि धर्म हुन्छ’ भने । थपमा उनले त्यसलाई न्याय, विवेक र समानता भनेर व्याख्या गरे, जो भाषिक दुरुपयोग हो । उनको त्यस किसिमको धुर्याइँपूर्ण शब्द चयनले संविधानको धर्मनिरपेक्षता मर्ममाथि गम्भीर प्रश्न उठायो ।

अझ चिन्ताजनक कुरा के हो भने राज्य अझै व्यवहारमा हिन्दु पूर्वाग्रहबाट मुक्त छैन । सरकारी बजेट मन्दिरहरूमा खर्च हुन्छ, सार्वजनिक बिदा हिन्दु पर्वमै केन्द्रित छन्, अनि गोवधजस्ता कानुनले स्पष्ट धर्ममा धारित प्रभाव देखाउँछन् । यस्तो अवस्थामा गगन थापाजस्तो नेताले ‘राज्यको धर्म हुन्छ’ भन्नु केवल भाषिक भूल होइन राजनीतिक चलाखी प्रस्ट देखिन्छ । यस खाले चलाखीले मतदाता झुक्याउने प्रवृत्तिलाई प्रोत्साहन दिन्छ । जनतालाई ‘सबै बुझ्दैनन्’ भन्ने ठान्ने, ‘लाटो’ सम्झिने र भाषिक चलाखीमा गम्भीर विमर्शलाई छोप्ने परिपाटीको हिस्सा हो यो । यहाँ पनि पूर्ण अस्वीकार होइन संशोधनको सम्भावना अझै बाँकी छ । 

गगन थापाले राजनीति मात्र होइन सामाजिक मूल्य र संविधानप्रति पनि स्पष्ट र दृढ भएर उभिन जरुरी छ । विशेषतः युवा पुस्तालाई राजनीतिको जिम्मेवारी दिने नेताका रूपमा उनीबाट जाने सन्देश अझै पनि अपुग नै छ । उनले सुधारको कुरा भाषणमा मात्र होइन व्यवहारमा उतार्न जरुरी छ । सैद्धान्तिक स्पष्टता, संवैधानिक निष्ठा र सार्वजनिक सम्प्रेषणमा पारदर्शिता कायम राखे भने उनी अझै पनि समावेशी, न्यायपूर्ण र विवेकशील राजनीतिको नेतृत्वकर्ता बन्न सक्छन् ।

अन्ततः गगन थापा अझै एक खुला प्रश्नको रूपमा उभिएका छन् । के उनी सुधारको सम्भावनाको जीवन्त अनुहार बन्नेछन् ? कि उनी पनि राजनीतिक लोभीपापी र सस्तो लोकप्रियतामा सीमित हुने हो ?
यस निबन्धले उनीप्रति शंका होइन, उत्तरदायित्व माग गरेको हो । समर्थनको नाममा चुप लाग्नु सहयोग होइन, खबरदारी हो । किनकि राजनीतिमा आशा राख्नु विवेक हो, तर आँखामा पट्टी बाँधेर विश्वास गर्नु दुर्भाग्य ! 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. चूडाप्रसाद ढकाल
डा. चूडाप्रसाद ढकाल
लेखकबाट थप